
काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्र, समावेशी शिक्षा शाखाले विपन्न लक्षित छात्रवृत्तिको व्यवस्थापनका लागि स्थानीय तहलाई छात्रवृत्ति वितरण प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ।
केन्द्रले विगत शैक्षिक सत्र २०८१ मा सार्वजनिक विद्यालयमा अध्ययनरत कक्षा ५ र ८ का विद्यार्थीहरूले भरेको PMT फारामका आधारमा “विपन्न लक्षित छात्रवृत्ति व्यवस्थापन मापदण्ड २०८०” अनुसार नतिजा विश्लेषण गरी कक्षा ६ र ९ का लागि छात्रवृत्तिको योग्य विद्यार्थीहरूको सूची सार्वजनिक गरिसकेको जानकारी दिएको छ।
निर्देशक रामप्रसाद शर्माद्वारा हस्ताक्षरित सूचनामा योग्य ठहरिएका विद्यार्थीहरूलाई मापदण्डको दफा १२ बमोजिम कबुलियतनामा गराई अनुसूची ५ अनुसारको छात्रवृत्ति रकम सोझै विद्यार्थीको बैंक खातामा प्रदान गर्ने व्यवस्था मिलाउन सम्बन्धित स्थानीय तहलाई निर्देशन दिइएको छ।
शिक्षा केन्द्रले छात्रवृत्तिका लागि आवश्यक रकम पहिल्यै स्थानीय तहमा वित्तीय हस्तान्तरण भइसकेको जनाएको छ। यद्यपि, रकम नपुगेका स्थानीय तहका हकमा चालु आर्थिक वर्षभित्रै थप रकम अख्तियारीमार्फत पठाइने व्यवस्था मिलाइएको केन्द्रको भनाइ छ।
साथै, मापदण्ड अनुसार विद्यार्थीको Verification प्रक्रिया सम्पन्न भइसकेका छात्रहरूले तुरुन्त छात्रवृत्ति प्राप्त गर्ने व्यवस्था गर्न र Verification हुन बाँकी रहेका विद्यार्थीहरूको प्रक्रिया मिति २०८२ असार १५ भित्र सम्पन्न गरी छात्रवृत्ति रकम उपलब्ध गराउने प्रबन्ध मिलाउन पनि अनुरोध गरिएको छ।
शिक्षा केन्द्रले यथाशीघ्र प्रक्रिया सम्पन्न गर्न अनुरोध गर्दै छात्रवृत्ति वितरणलाई पारदर्शी, समयमै र लक्षित वर्गलाई प्रभावकारी रूपमा लाभ पुग्ने गरी सञ्चालन गर्न स्थानीय तहको सक्रियता आवश्यक रहेको जनाएको छ।