
आचार्य रजनिश जो ओशोबाट सुशोभित छन्, उनको एउटा प्रसिद्ध किताब छ ‘फेलियर अफ सक्सेस।’ मेरो ज्ञानमीमांसाको ल्याकतले यसलाई एक अद्भुत दार्शनिक पुस्तक मान्छ। त्यहाँ लेखिएका वाक्यहरू सत्य ठान्छ। ओशोले भनेझैँ प्रधानमन्त्री केपी शर्मा ओली सफलताको असफलताका लागि उदाहरणीय दिव्य पुरुष हुन्। उनी एक सिंगो पाठशाला पनि हुन् जसबाट सिक्न खोज्नेहरूले अद्भुत ज्ञान प्राप्त गर्न सक्छन्।
मनोवैज्ञानिक संरचना, मनोविज्ञान निर्माण प्रक्रिया, मनोविज्ञानमा तरंग पैदा गर्ने भावनात्मक संवेग, आत्मश्लाघाका प्रक्रिया र आन्तरिक द्वन्द्वका धार वा त्यसको समग्र अभिव्यक्तिमा पर्ने प्रभावहरूको एक बृहत् अध्ययनका पाठशाला हुन प्रधानमन्त्री ओली। स्वास्थ्य अनुसन्धाताहरूले धेरै ठूलो मेहनतपछि जिरीको चउरमा हुने घाँसमा टेपवर्मको वासस्थान पत्ता लगाएका थिए। एउटा बिरामीको उपचार गर्नु भन्दा टेपवर्म वासस्थान, फैलावट र संक्रमणको समग्र अध्ययन जटिल, लामो र खर्चिलो थियो। तर अध्येताहरूको लगनशीलताले यो अध्ययन सम्भव भयो। जिरीमा टेपवर्म नियन्त्रणमा पनि आयो। यसैअनुसार नेपाली नेताहरूको सामाजिक, राजनीतिक मनोवैज्ञानिक र भावनोत्पादनको कला अध्ययनको क्षेत्र हुन सक्छ।
किन मानिस प्रतिक्रियात्मक हुन्छन् र रचनात्मक प्रवृत्ति उनीहरूको मगजका कोषिकाहरूमा पन्पिन पाउँदैन? यस लेखमा म ‘म झोले हो’ को एक राजनीतिक मनोविश्लेषणीय विवेचना गर्न चाहन्छु। हुन त चिज, वस्तु, ज्ञान, सूचना वा अभिव्यक्ति विवेच्य छन्, छैनन्, ती विवेचनायोग्य हुन्, होइनन्? भन्ने कुरामा ध्यान दिनैपर्ने हो। तर अविवेच्य अभिव्यक्ति वा वस्तुहरू पनि कहिलेकाहीँ सामाजिक आयाममा बृहत् क्षेत्र ओगट्छन् भने ती स्तरहीन चिजहरू पनि विवेचनाका विषय बन्न पुग्छन्।
मान्छेहरूको ठूलो समूहले राजनीतिक कार्यकर्ताहरूलाई ‘झोले’ उपनामले गाली गर्नुपूर्व प्रधानमन्त्री ओलीले आफू र मातहत अर्ध सुरक्षा बल शैलीको कार्यकर्ता पंक्तिलाई ‘म झोले हो’ भन्ने नयाँ सूत्र प्रतिपादन गर्नुभएको थियो भने त्यो नि:सन्देह रचनात्मक हुन्थ्यो। यस भनाइबाट राजनीतिमा संलग्नहरू सीमित सुविधाबाट पनि ठूला कार्यहरू गर्न उतर्सिन्छन् भन्ने अर्थ लाउन सकिन्थ्यो। प्रधानमन्त्री ओलीका अभिव्यक्तिमा रफ्फु भर्ने काम कार्यकर्ताले गर्नुपर्थ्यो तर भइदियो के भने स्वयं ओली नै रफ्फुगार हुन खोज्नुभयो र भनिदिनुभयो ‘म झोले हो’।
संसदीय व्यवस्थामा संसद्ले दुईवटा कुरा गर्न सक्दैन भनिन्छ। ती दुई हुन्- महिलालाई पुरुष र पुरुषलाई महिला बनाउन नसकिनु। त्यस्तो सर्वशक्तिमान संसद्को झण्डै दुईतिहाई मत प्राप्त प्रधानमन्त्रीले ‘म झोले हो’ लाई राष्ट्रिय राजनीतिक शब्दभण्डारमा एक वाक्यांश थपिदिँदै राजकीय शब्द बनाइदिनुभयो। शब्द आफैँमा श्लील वा अश्लील केही पनि हुँदैनन्, सुन्नेहरूको चेतले शब्दलाई श्लील र अश्लील वर्गीकरण गर्ने हुन्। गाली भनिएका सबै शब्दहरू सामाजिक बोलीचालीमा प्रचलित छन् र अश्लील भनिएका शब्द त झन् अंग र अंगहरूको प्रकार्यसँग सम्बन्धित छन्। आँखा फुरफुर गर्यो भन्न सक्नेहरू लिंगोत्थान भयो भन्न सक्दैनन्। शब्दले प्राप्त गरेको सामाजिक स्वीकृति र अस्वीकृतिका कारण यसो हुन गएको हो।
वास्तवमा राजनीतिक कार्यकर्ताहरूलाई ‘झोले’ भन्नु कुनै गाली थिएन। कार्यकर्ताहरूले विश्लेषण र विवेचनाको क्षमता गुमाउँदै गएको बोध गर्दै गएका आममानिसले तिनीहरूको निम्छरोपनमाथि व्यंग्य गर्दै ‘झोले’ भन्न थालेका हुन्। समकालीन कार्यकर्तायीय चरित्र चित्रणको एक बिम्ब थियो झोले शब्द। भाषाविज्ञानका आधारमा यो शब्दको प्रयोग नकारात्मक अर्थमै हुन्थ्यो। सत्य के हो भने गाली वा नकारात्मक टिप्पणीहरूको सम्प्रेषणीय क्षमता ज्यादा हुन्छ। समाज अरूका कमीकमजोरीहरूमा खोट देखाउन चाहन्छ। त्यसैकारण झोले शब्द द्रुतगतिमा सम्प्रेष्य भयो जसले देशको सर्वोच्च कार्यकारीको ध्यानाकर्षण गरायो।
अवश्य, प्रधानमन्त्रीसमक्ष कार्यकर्ताहरूले आफूहरूलाई झोले भन्न थालिएको सनम्र निवेदन चढाए। यस निवेदनउपर तत्काल विचार गरियो र कार्यकर्ताहरूको मनोबल उच्च राख्न प्रधानमन्त्री प्रतिक्रियात्मक हुनुभयो र भन्नुभयो- ‘म पनि झोले हो।’ खासमा राजनीतिक कार्यकर्ताहरू कुनै सन्दर्भ, विषय, घटना र त्यसका परिणाममाथि स्वतन्त्र र स्वाधीन टिप्पणी गर्न डराइरहेका पाइए। टिप्पणी गर्नैपर्ने अवस्थामा नेताहरूको भनाइलाई नै ‘गोपीकृष्ण कहो’ गरिएको व्यापक खुलासापछि झोले उपनामकरण सतहमा आयो। सबैभन्दा पहिले यो शब्द कसले भन्यो होला, मेरो विचारमा उसमा चै रचनात्मक सक्षमता निहित छ।
प्रधानमन्त्रीज्यूबाट आफ्ना कार्यकर्ताहरूलाई ‘सरकार, संसद् र दलमा मैले गरिरहेका, अब गर्नुपर्ने कार्यहरूमा स्वाधीन टिप्पणी गर, आलोचनात्मक चैतन्य खुलाऊ र मलाई पनि गलत गर्नबाट रोक्ने हिम्मत देखाऊ’ भनिन्थ्यो र कार्यकर्ताहरू उहाँको भनाइ अनुशरण गर्थे भने झोले भन्नेहरू रातारात चुप बस्ने थिए। तर उहाँले त के भन्नुभयो भने ‘लु कसले के नाप्छ म झोले हो’ अब झोले संक्रमित राजनीतिको एक प्रयोगशाला हुन पुगेको छ, कोही कसरी झोले बन्छ, बनाइन्छ ? बनाउने र बन्ने कर्मका अन्तरनिहित प्रक्रियाहरूको समग्र विश्लेषणमूलक जानकारी सतहमा आउनु सान्दर्भिक छ।
कम्युनिज्म वा समाजवादले मानिसका ब्रेनका कोशिकाहरलाई शिथिल बनाएको एक प्रमाण थियो ‘झोले’ प्रतिक्रियात्मक अभियान। कार्यकर्ताहरूको मनोबल बढोत्तरीको रणनीतिक चातुर्य थिएन, पराजयको स्वीकृति थियो। सामाजिक रूपमा गाली खाइरहेका कार्यकर्ताहरूको शिर उठाउने प्रधानमन्त्रीय प्रयत्न रचनात्मक थिएन, प्रतिक्रियात्मक थियो। लिम्बुवानमा हुर्किएका प्रधानमन्त्री ओलीलाई शिर उठाउने कलाको अवश्य ज्ञान छ। लिम्बु सभ्यताको शिर उठाउने मुन्धुम विधि र अनुष्ठानमा जसले शिर उठाउने विधि तय गर्छ उसको शिर ढल्नु हुँदैन।
झोले अब एक राजकीय शब्द हुन पुगेको छ। म शब्दका अर्थमा त्यति व्याख्या गर्न चाहन्नँ। त्यसका सामाजिक राजनीतिक आयाममा जान चाहन्छु। मलाई लाग्छ, तत्कालको प्रतिक्रियास्वरूप अभिनित ‘म झोले हो’ अभियान लामो ‘रेस’मा जाँदैन। सायद केही समयपछि प्रधानमन्त्री ओली आफैँले यो पोस्ट हटाउनु होला वा यसको चर्चा सेलाएर जान्छ। सेलाउने लक्षण किन देखिन थालिएको छ भने विशाल संख्यामा रहेको एमालेजनको अत्यन्त झिनो जनमत मात्र यो अभियानमा सामेल छ।
कर्ता, कर्तव्य र कर्म एकै मानिसमा सन्निहित जिम्मेवारी पनि हुन सक्छ र कर्तालाई कर्तव्य र कर्म गराउने तत्त्व अर्कै हुन पनि सक्छ। कर्ताले कर्तव्य पालना गर्दै गर्ने कर्ममाथि उठ्ने प्रश्नहरूलाई ‘म झोले हो’ भन्ने ठूलो स्वरको लघुताभासले सही उत्तर दिन सक्छ? सक्दैन। राजनीतिक कार्यकर्ताहरूलाई तिमीहरू ‘झोले भयौ’ भन्नुको राजनीतिक अर्थ र तात्पर्य थियो- कर्तव्य र कर्मप्रति प्रतिबद्ध र गम्भीर बन भन्नु। पदीय, सांगठनिक र राजकीय दायित्व गम्भीरतापूर्वक मनन गर भनिएको थियो। यसको जवाफमा ‘हामी कर्तव्य पालना गर्छौँ’ भन्ने स्पष्टीकरण मागिएको थियो तर जवाफ आयो- ‘म झोले हो, हामी झोले हौँ।’
झोले अब मान्यताका रूपमा ‘सामाजिक पुँजी हुने खतरा देखियो। कुनै कर्ताले कर्तव्यनिष्ठ भई कर्मको परिष्करण गरिरहनु परेन। कम्युनिस्ट प्रधानमन्त्रीज्यूले मार्क्सवादी सौन्दर्यशास्त्रमा एक नयाँ सांगठनिक सूत्र थपिदिनुभयो ‘झोले’। यसले वस्तु, घटना र अभिव्यक्तिमाथि विवेचना खोजेन। विवेच्य र अविवेच्यबीचको लक्ष्मणरेखा तोडियो र झोले नामको कंकाल दार्शनिकी संवरण गरियो।
अक्टोबर क्रान्तिपछि धेरै रसियनले आफ्ना छोराको नाम लेनिन राखेका थिए। तपाईं भन्नुहोला- लेनिनको लोकप्रियताका कारण यो नाम राखिएको हो। होइन बोल्सेभिकको ‘डरका मारे’ बच्चाको नाम लेनिन राखिएको थियो। कतै प्रधानमन्त्री ओलीले आफैँलाई पनि झोले भन्न सक्छन् भन्ने त्रासले आफ्नै नवनामकरण त गर्नु भएन! गज्जब के छ भने उहाँले अंगीकार गर्नुभएको यो नवनाममा हिन्दु गन्ध कतै आउँदैन।
(वातावरणका जानकार शर्मा राजनीतिक मामिलामा पनि विशेष चासो राख्छन्।)