
काठमाडौँ- प्रधानाध्यापक संघ नेपाल (पान) को जेठ २३ र २४ गते सम्पन्न दोस्रो शिखर सम्मेलनले शिक्षाको रूपान्तरणमा प्रधानाध्यापकहरूको भूमिकालाई स्पष्ट गर्दै २० बुँदे ‘पोखरा घोषणापत्र-२०८२’ जारी गरेको छ।
घोषणापत्रमार्फत पानले सबै प्रकारका विद्यालयमा समान, समावेशी र गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्ने अठोट गरेको छ। बालमैत्री, सुरक्षित र पहुँचयुक्त सिकाइ वातावरण निर्माण, विद्यार्थीको समग्र विकास, जलवायु शिक्षा,‘हरित विद्यालय’ अभियानमा सहकार्य, सूचना प्रविधिको सशक्त प्रयोग, मातृभाषामा आधारित शिक्षा तथा मानसिक स्वास्थ्यजस्ता विषयहरूलाई प्राथमिकतामा राखिएको छ।
संघका अध्यक्ष सुदामप्रसाद गौतमद्वारा सार्वजनिक घोषणापत्रमा प्राविधिक तथा व्यवसायिक शिक्षा प्रवर्द्धन, शिक्षक र विद्यालय नेतृत्वकर्ताको निरन्तर व्यावसायिक क्षमता अभिवृद्धि, विद्यालय–समुदाय–स्थानीय सरकारबीचको सहकार्य तथा अन्तर्राष्ट्रियकरणजस्ता विषयमा पनि स्पष्ट प्रतिबद्धता जनाइएको छ।
विद्यालय र समुदायबीच सहकार्य बढाउने, सार्वजनिक तथा निजी विद्यालयबीच संवाद र सहयोग प्रोत्साहन गर्ने तथा शैक्षिक नीति सुधार, आर्थिक स्रोतको सुनिश्चितता र विद्यालय स्वायत्तताको वकालत पनि घोषणापत्रको प्रमुख बुँदामा पर्छ।
घोषणापत्रको अन्तिम बुँदामा आईसिटीलगायत अन्तर्राष्ट्रिय सञ्जालहरूसँग सहकार्य गर्दै नेपालका विद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने अठोट गरिएको छ।
घोषणापत्र
१. सबै प्रकारका विद्यालयमा गुणस्तर, समावेशिता र समान शिक्षाको सुनिश्चितता गर्न प्रतिबद्ध छौं।
२. नवीन, पारदर्शी र उत्तरदायी विद्यालय नेतृत्वप्रति समर्पित छौं।
३. बालमैत्री, समावेशी, सुरक्षित र पहुँचयुक्त सिकाइ वातावरण निर्माणमा प्रतिबद्ध छौं।
४. विद्यार्थीको बौद्धिक, भावनात्मक, सामाजिक, शारीरिक र नैतिक विकासमा केन्द्रित हुनेछौं।
५. पर्यावरणीय चेतना, जलवायु शिक्षा र दिगो विकासलाई बालबालिकाको सिकाइमा समावेश गर्नेछौं।
६. नेपाल सरकारको “हरित विद्यालय” अभियानमा सहकार्य गर्दै स्वच्छ र हरित विद्यालय निर्माण गर्नेछौं । ७. विपद् जोखिम न्यूनीकरण तथा आपतकालीन तयारीमा विद्यालयलाई सक्षम बनाउनेछौं।
८. सूचना प्रविधिको उपयोग गरी भविष्यका लागि सक्षम विद्यार्थी तयार पार्नेछौं।
९. मातृभाषामा आधारित शिक्षा प्रवर्द्धन गर्दै समयानुकुल पाठ्यक्रम पुनसंरचनाको पक्षमा वकालत गर्नेछौं । १०. मानसिक स्वास्थ्य, व्यक्तिगत हेरचाह र परामर्श सेवालाई प्राथमिकता दिनेछौं।
११. प्राविधिक तथा व्यवसायिक शिक्षालाई प्रवर्द्धन गरी सीप र रोजगारी सुनिश्चित गर्नेछौं।
१२. शिक्षक, प्रधानाध्यापक तथा नेतृत्वकर्ताको निरन्तर व्यावसायिक क्षमता विकासलाई समर्थन गर्नेछौं।
१३. विद्यालय, समुदाय र स्थानीय सरकारबीच सशक्त सहकार्य गर्नेछौं।
१४. तथ्याङ्क र प्रमाणमा आधारित निर्णय प्रणालीलाई अपनाउनेछौं।
१५. वृक्षरोपण, फोहोर व्यवस्थापन जस्ता वातावरणीय अभ्यासलाई विद्यालयको संस्कृति बनाउनेछौं।
१६. लैंगिक समानता, सामाजिक समावेशिता तथा बाल सुरक्षा सुनिश्चित गर्नेछौं।
१७. विद्यालय छोड्ने बालवालिकाको सङ्ख्या घटाउने र सामाजिक न्याय प्रवर्द्धन गर्ने रणनीति लागू गर्नेछौं।
१८. सार्वजनिक तथा निजी विद्यालयबीच संवाद र सहकार्यलाई प्रोत्साहन गर्नेछौं।
१९. शैक्षिक नीतिको सुधार, आर्थिक स्रोतको सुनिश्चितता र विद्यालय स्वायत्तताको वकालत गर्नेछौं।
२०. ICP लगायत अन्तर्राष्ट्रिय सञ्जालसँग सहकार्य गर्दै नेपालका विद्यालयलाई अन्तर्राष्ट्रियकरण गर्नेछौं।