
ओखलढुंगा- सुनकोशी गाउँपालिकाले आइतबार सार्वजनिक सुनुवाइका साथै ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। पालिकास्तरीय सार्वजनिक सुनुवाई र ज्येष्ठ नागरिक, उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको हो।
१० वटा वडा रहेको पालिकामा ८० वर्ष पुगेका ४८० ज्येष्ठ नागरिकलाई ब्ल्याङ्केट, इलेक्ट्रिक जग र थर्मस प्रदान गर्दै सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले जानकारी दिए।
त्यसैगरी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक विजेतालाई नगदसहित कदरपत्रले सम्मान गरिएको छ। स्वर्ण, रजत र कास्य पदक विजेतालाई क्रमशः नगद दुई हजार, एक हजार पाँच सय र एक हजार सहित सम्मान गरिएको हो।
पालिकाबाट प्रतियोगितामा भाग लिई ३१ जनाले स्वर्ण, १२ जनाले रजत र तीन जनाले कास्य पदक प्राप्त गरेका थिए। दुई आर्थिक वर्षको एसइई परीक्षामा उत्कृष्ट जिपीए ल्याउने छात्रछात्रालाई नगदसहित कदरपत्रले सम्मान गरिएको छ।
आर्थिक वर्ष २०७९/८० र आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट जिपीए ल्याउने पाँच छात्रछात्रालाई नगद पाँच हजारसहित कदरपत्रले सम्मान गरिएको हो।