
बागलुङ- राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको हर्मिचौरदेखि बागलुङको बलेवासम्मको सडक खण्डमा कालोपत्र सम्पन्न गरिएको छ। कुल ४४.४८ किलोमिटर लम्बाइको उक्त सडक कालिका कन्स्ट्रक्सनले निर्माण गरेको हो।
यस खण्डको निर्माण कार्य तीन वर्षभित्र सम्पन्न गर्ने सम्झौतासहित कालिका कन्स्ट्रक्सनले २०७९ मंसिर २६ गते जिम्मा पाएको थियो। तर, कम्पनीले तोकिएको म्यादभन्दा छ महिना अगावै काम सम्पन्न गरेको जानकारी दिएको छ।
निर्माण कार्य अनुसार बागलुङतर्फ पालुङखोलादेखि बलेवासम्म २४.४८ किलोमिटर र गुल्मी खण्डमा हर्मिचौरदेखि पालुङखोलासम्म २० किलोमिटर सडक कालोपत्र गरिएको हो। यस कार्यका लागि कम्पनीले तीन अर्ब ३३ करोडको लागतमा जिम्मा पाएको थियो। यद्यपि, सम्पूर्ण भुक्तानी अझै बाँकी रहेको कम्पनीले जनाएको छ।
निर्धारित समयअघि नै कार्य सम्पन्न गरेबापत जैमिनी नगरपालिकाले कालिका कन्स्ट्रक्सनलाई सम्मानसमेत गरेको छ। अधिकांश आयोजनामा ढिलासुस्ती हुने गम्भीर चुनौतीबीच समयमै काम सकिएकोमा नगरपालिकाले सकारात्मक प्रतिक्रिया जनाएको हो। सडक कालोपत्र भएसँगै स्थानीयवासीहरु उत्साहित बनेका छन्।
कालिका कन्स्ट्रक्सनका प्रतिनिधि महेश सुवेदीले निर्माण कार्यमा कुनै अवरोध नआएकाले समयमै सम्पन्न गर्न सफल भएको बताए। उनका अनुसार हर्मिचौर–बलेवा खण्डमा पर्ने गुल्मीको कालीगण्डकी गाउँपालिका, बागलुङको जैमिनी र बागलुङ नगरपालिकाका जनप्रतिनिधि तथा स्थानीयवासीको सहकार्यले कार्य सहज बनाएको हो।
‘मैले सम्झौता गरेको भोलिपल्टै सडकको अवस्था निरीक्षण गरेको थिएँ। अवस्थालाई मूल्याङ्कन गर्दा समयमै काम सक्ने आत्मविश्वास आएको थियो,’ सुवेदीले भने, ‘आयोजना प्रमुख र स्थानीय जनप्रतिनिधिसँग समन्वय गर्दै समयसीमा भित्रै कार्य सम्पन्न गर्ने प्रतिबद्धता सहित कार्यतालिका बनाएर काम अघि बढाइएको हो।’
सडक कालोपत्रसँगै भारतीय तथा आन्तरिक पर्यटकलाई मुक्तिनाथ पुग्न सहज भएको र ग्रामीण क्षेत्रका उत्पादनको बजारीकरणमा टेवा पुगेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए।