
काठमाडौँ- सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउने विषयमा प्रमुख तीन दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल गरेका छन्। सभामुख घिमिरेले सिंहदरबारमा आइतबार अपराह्न कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका हुन्।
सभामुख घिमिरेले राजनीतिक दलहरूबीच सहमतिका लागि पटकपटक संसद् बैठक स्थगित गरे पनि निकास नदिएको भन्दै असन्तुष्टि जनाएका थिए। संसद् अवरोधका कारण बजेटमाथिको छलफल प्रारम्भ हुन नसकेको उल्लेख गर्दै उनले संवैधानिक सीमा र व्यावहारिक पक्षको ख्याल गर्न दलका नेताहरूलाई आग्रह गरेका छन्।
प्रमुख विपक्षी माओवादी प्रमुख सचेतक पाण्डेले पार्टी अध्यक्ष पुष्पकमल दाहालले बानेश्वरमा विपक्षी दलको बैठक डाकेकाले त्यसपछि मात्रै आफूहरूको धारणा दिने बताए।
सत्तारुढ एमालेका मुख्य सचेतक बर्तौला र कांग्रेस प्रमुख सचेतक घिमिरेले विपक्षी दलको मागअनुसार गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन गर्ने मागमा सहमत हुन नसकिने अडान दोहोर्याएका छन्।