
काठमाडौँ– पत्रकार लक्ष्मण वियोगीको पहिलो कथासंग्रह ‘सत्यम्’ लोकार्पण भएको छ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा कार्यक्रम गर्दै पुस्तकको लोकार्पण गरिएको हो। कथासंग्रहमा वियोगीले १५ कथा समेटेका छ्न्।
पुस्तकबारे समीक्षा गर्दै साहित्यकार अनुपमा रेग्मीले उनको कृतिमा विशेषतः युद्ध, प्रेम र पर्यावरण गरी तीन विषयका कथा बढी समेटिएको बताइन्। स्याङ्जा, अछाम, बर्दिया आसपासका स्थानलाई परिवेश बनाएको उनले विश्लेषण गरिन्।
‘लेखक वियोगीका कथाका सबै शीर्षक प्रतीकात्मक छ। कथाभित्रका पात्रको भित्री समवेदनालाई केलाइएको छ। उहाँले ग्रामीण परिवेश समेट्दै भाषामा आलङ्कारिक, स्थानिय लवज, थारू, गुरुङ समुदायको भाषामार्फत यथार्थ प्रस्तुत गर्नुभएको छ,’ उनले भनिन्।
साहित्यकार डा.अशोक थापाले सत्यम् मा समाजको तल्लो वर्गको संघर्षरत मानिसहरूको कथा पढ्न पाइने बताए। ‘यो कथासंग्रहमा निम्छरो र उपल्लो वर्ग, वैदेशिक रोजगार र त्यसको असरलाई पनि समेटिएको छ,’ उनले भने, ‘महिलाहरूको दैनिकी, उनीहरूको मौन विद्रोह, बालश्रम, मृत्यु, बाल्यकालको स्मृति, परिवर्तन र विद्रोहको नाममा भइरहेको गतिविधि, सांस्कृतिक मूल्य मान्यताका कुराहरू पनि छन्।’
गुरुङ भाषाका शब्द बढी प्रयोग गरी, गीत भजनलाई पनि समेटिएको साहित्यकार थापाको विश्लेषण छ।
साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराईले लेखकले आफ्नो कृतिम अहिलेको युवापुस्ता रोजाइमा पर्ने कथाहरू समेटेको उल्लेख गरे। उनले लेखकलाई सहित्य यात्राको सफलताको शुभकामनासमेत दिए।
लेखक वियोगीले पुस्तक सार्वजनिक हुनुमा आफूले नसोचेको बाटो हिँडेर एउटा विसौनीमा आइपुगेको अनुभव गरिरहेको सुनाए। उनले सत्यम् ले आफूलाई चिनाओस् भन्ने अपेक्षा रहेको बताए।
प्रमुख अतिथिका रूपमा सहभागी भएका साहित्यकार प्रा.डा. दयाराम श्रेष्ठले वियोगीलाई सहित्यमा स्वागतसहितको शुभकामना दिए। कथा लेख्नको लागि मात्र नभएर साहित्य यात्रामा बाँच्न सक्ने कथा लेख्न सुझाव दिए।
पेज टर्नरले प्रकाशन गरेको पुस्तकको मूल्य ४५५ रुपियाँ तोकिएको छ।