 
                             
                                            काठमाडौँ– रौतहटको मौलापुर नगरपालिका मधेश प्रदेशभित्र शिक्षा क्षेत्रमा उत्कृष्ट भएको छ।
पोखरामा आयोजित प्रिन्सिपल एशोसिएशन अफ नेपाल (पान) को दोस्रो राष्ट्रिय सम्मेलनका क्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले उक्त पुरस्कार प्रदान गरे।
त्यस अवसरमा मौलापुर नगरपालिकाका प्रमुख रिनाकुमारी साहलाई शिक्षा क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै उत्कृष्ट पुरस्कारबाट पुरस्कृत गरियो। पानले प्रत्येक वर्ष प्रदान गर्ने उत्कृष्ट पालिका पुरस्कार यसपटक मौलापुर नगरपालिकाले प्राप्त गरेको हो।
शिक्षाविद् प्राडा. विद्यानाथ कोइरालाको नेतृत्वमा गठित समितिले २५ वटा शैक्षिक मापदण्ड पूरा गरेको मौलापुर नगरपालिका मधेश प्रदेशकै उत्कृष्ट ठहरिएको आयोजकले जनाएको छ।
मौलापुरको नगरले विकास बजेटको ४३ प्रतिशत हिस्सा शिक्षा क्षेत्रमा लगानी गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिए। गत वर्षको माध्यामिक शिक्षा परीक्षामा मौलापुर नगरपालिकाका ७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।
आम जनता पार्टीकी नेत्री साह दोस्रो कार्यकालका लागि नगर प्रमुखमा निर्वाचित भएकी छन्। समग्रमा मधेश प्रदशेमा एसईई उतीर्ण प्रतिशत ३० मात्रै रहकेो छ।
मौलापुरले लिएको शून्य कर नीतिको देशव्यापीरुपमा चर्चा हुँदै आएको छ। नगरपालिकाले कृषि तथा घरायसी प्रयोजनका लागि विद्युत् र पानीको महसुल निःशुल्क बनाएको छ।-रासस

 हिमाल प्रेस
                     हिमाल प्रेस                    


 
  
  
  
  
  
  
  
  
  
 