 
                             
                                            काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपालको संविधानले सरकार सञ्चालनका लागि बनाएको संयन्त्र र कांग्रेसको विधानले पदाधिकारी बैठकको निर्णय नचिन्ने बताएका छन्। कांग्रेस पाँचथरले आइतबार फिदिममा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा भित्तेपात्रो विमोचनलाई सम्बोधन गर्दै महरले यस्तो टिप्पणी गरेका हुन्।
उनले सरकार सञ्चालनका लागि अगाडि सारिएको राजनीतिक संयन्त्र प्रभावकारी हुन नसकेको बताए। संयन्त्रले प्रमुख सत्तारुढ दल कांग्रेसको ओजलाई समेत सम्बोधन गर्न नसकेको उनको आरोप छ।
‘कांग्रेस मुलुककै ठूलो राजनीतिक दल हो। एकल बहुमत नहुँदा राजनीतिक अस्थिरतालाई स्थिर गतिमा लैजान कांग्रेसले गठबन्धन गर्नुपर्ने बाध्यात्मक अवस्था छ। तर वर्तमान संयन्त्र यो मर्मलाई बुझेर अगाडि बढेजस्तो देखिँदैन। संयन्त्रले कांग्रेसको ओजलाई बुझ्न सकेको छैन। प्रभावकारी काम पनि गर्न सकेको छैन’, महरले भने।
उनले पार्टीभित्रको पदाधिकारी बैठकको औचित्यमाथि समेत प्रश्न उठाएका छन्। उनले पदाधिकारी बैठकका निर्णयलाई कांग्रेसको विधानले नचिन्ने बताए। करिब एक वर्ष हुनै लाग्दा पनि पार्टी केन्द्रीय समिति बैठक बस्न नसकेको उनको भनाइ छ।
‘केन्द्रीय समिति बैठकको नियम उल्लंघन गरेर बारम्बार विधानले नचिन्ने पदाधिकारी बैठकको निर्णय भन्दै बाहिर आउनु दुर्भाग्यपूर्ण छ। यो लोकतान्त्रिक व्यवस्थाका लागि सुखद पक्ष होइन। प्रजातान्त्रिक पार्टीमा प्रजातान्त्रिक पद्धतिअनुसार नै निर्णय हुनुपर्छ। केन्द्रीय समिति बैठक र कार्य सम्पादन समितिको बैठकबाट पार्टीका निर्णय अगाडि बढ्नुपर्छ’, उनले भने।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 