 तस्बिर : एपी
                             तस्बिर : एपी
                                            काठमाडौँ– अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई ‘अमेरिकाको ५१ औँ राज्य’ बनाउने चेतावनी दिइरहेका बेला बेलायतका राजा चार्ल्स तृतीयले क्यानडाको दुई दिने भ्रमण गरेका छन्।
क्यानडाका प्रधानमन्त्री मार्क कर्नेको निम्तोमा चार्ल्स तृतीयले औपचारिक भ्रमण गरेका हुन्। कर्नेको पार्टीले गत महिना सम्पन्न आमनिर्वाचनमा ट्रम्पको ‘धम्की’ का बीच स्पष्ट बहुमत हासिल गरेको थियो।
क्यानडाली अधिकारीहरूका अनुसार यो भ्रमणको उद्देश्य क्यानडाको सार्वभोकिताप्रति बेलायतले समर्थन जनाउनु रहेको छ।
क्यानडामा बेलायती राजाको भूमिकालाई ‘औपचारिक राष्ट्रप्रमुख’ को रूपमा लिइन्छ। सन् १८६७ मा बेलायतबाट स्वतन्त्रता पाएपछि क्यानडा राष्ट्रमण्डल (कमलवेल्थ) को अधीनमा रहँदै आएको छ।
भ्रमणका क्रमाम राजा चार्ल्सले क्यानडाको संसद उद्घाटन गरेका छन्। पछिल्लो ७० वर्षमा क्यानडाको संसद उद्घाटन गर्ने उनी पहिलो ब्रिटिस सम्राट बनेका हुन्।
संसदलाई सम्बोधन गर्दै उनले क्यनाडालाई सबल र स्वतन्त्र राष्ट्रको रूपमा वर्णन गरे।
सम्बोधनमा उनले भने,‘क्यानडावासी र मैले यति धेरै माया गर्ने देश।’ यद्यपि उनले आफ्नो सम्बोधनमा ट्रम्पको नाम लिएनन्।
ट्रम्पले क्यानडाबाट आयात हुने वस्तुहरूमा शुल्क लगाएका छन् र क्यानडालाई अमेरिकाको ५१ औँ राज्य बनाउने धारणा सार्वजनिक रूपमा राखेका छन्।
‘जब म क्यानडा आउँछु…थोरैथोरै क्यानडा मेरो रगतमा समाहित हुन्छ र सीधै मेरो मुटुसम्म पुग्छ,’ राजा चार्ल्सले भने,‘क्यानडाले सधैँ संसारमा आफूलाई एक सकारात्मक मूल्य र व्यवहारको उदाहरणको रूपमा प्रस्तुत गर्दै आएको छ।’
अमेरिका–क्यानडा व्यापार विवाद चर्किरहेका बेला बेलायती राजा चार्ल्स तृतीयको यो भ्रमणलाई अर्थपूर्णरूपमा हेरिएको छ। क्यानडा भ्रमणका क्रममा चार्ल्स तृतीयसँग उनकी पत्नी क्यामिला पनि थिइन्।
बेलायतबाहिर क्यानडासमेत १४ अन्य मुलुकले राजा चार्ल्सलाई राष्ट्राध्यक्ष मान्दछन्। अग्रज पत्रकार ध्रुवहरि अधिकारी चार्ल्स तृतीयको यो भ्रमणलाई क्यानडालाई अमेरिकाको ५१ औँ राष्ट्र बनाउने ट्रम्पको धम्कीलाई जवाफ भनेका छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                             


 
  
  
  
  
  
  
  
  
  
 