भिजिट भिसा प्रकरणमा लेखकले भने – आज गृह मन्त्रालयले विज्ञप्ति निकाल्छ, दुई चार दिनमा आफैँ बोल्छु

हिमाल प्रेस १० जेठ २०८२ १५:२३ | Saturday, May 24, 2025
भिजिट भिसा प्रकरणमा लेखकले भने – आज गृह मन्त्रालयले विज्ञप्ति निकाल्छ, दुई चार दिनमा आफैँ बोल्छु

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे मुख खोलेका छन्। गृहमन्त्री लेखकले जनकपुर पुगेर यो प्रकरणमा बोलेका हुन्।

शनिबार नेपाली कांग्रेस धनुषा जिल्ला कार्यसमितिले पिपडियामाईस्थानस्थित पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा लेखकले यो प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरे।

उनले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता पुष्टि भए राजनीतिबाट सन्यास लिने उल्लेख गरे।

भिजिट भिसा प्रकरण कहाँबाट कसरी उठाइएको भन्ने विषयमा खोजी गरिरहेकोले हालसम्म केही नबोलेको लेखकले बताए। यो प्रकरण किन र कसरी उठेको विषय थाहा पाइसकेकोले काठमाडौँ पुगेर प्रस्ट पार्ने उनको भनाइ थियो।

‘केही दिनदेखि भिजिट भिसासँग जोडेर मेरो बारेमा सामाजिक सञ्जालमा लेख्ने काम भइरहेको छ। यो कहाँबाट, कसरी, किन भइरहेको छ भन्ने खोजीराखेको थिएँ,’ उनले भने,‘यो विषयमा मैले धेरै कुरा थाहा पाइसकेको छु, आजै काठमाडौँ गइसकेपछि गृह मन्त्रालयले विज्ञप्ति निकाल्छ। दुई चार दिनमा आफैँ पनि केही कुरा बोल्छु।’

भिजिट भिसा प्रकरण उठाउनुपछाडि केही राजवादीका साथै पार्टीभित्रकै मानिस हुनसक्ने उनको आशंका छ। गृहमन्त्री लेखकले आफ्नो कारणले कांग्रेसको शिर झुक्न नदिने उल्लेख गरे।

‘इमानदारीका साथ राजनीति गर्दै आएको छु। साथीहरूको मन सानो हुने र टाउको निहुरिने काम गर्दिनँ,’ उनले भने,‘जुन दिन मेरो हातले गलत काम हुन्छ, त्यो दिनदेखि म राजनीतिमा देखा पर्दिनँ।’

गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा चाँडै आफ्नो कुराहरू प्रष्ट ढंगबाट राख्ने बताए।

प्रकाशित: १० जेठ २०८२ १५:२३ | Saturday, May 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast