‘भुइँको टिप्न खोजेर पोल्टाको गुमाउने चरित्र देखाउँदै’ ओली 

किरण पौडेल ६ जेठ २०८२ १५:१७
48
SHARES
‘भुइँको टिप्न खोजेर पोल्टाको गुमाउने चरित्र देखाउँदै’ ओली  प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ- १० महिनादेखि सत्ता सहकार्यमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेबीच चिसोपन देखिएको छ। पछिल्ला दिनमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्माको कार्यशैलीलाई लिएर सत्ता सहयात्री दल नेपाली कांग्रेस असन्तुष्ट देखिएको हो।

कांग्रेस सभापति शेरबहादुर देउवाले ओलीको कार्यशैली र पछिल्ला अभिव्यक्तिमा असन्तुष्टि जनाएको कांग्रेस नेताहरूको दाबी छ। दुई मुख्य नेताबीच तिक्तताले गठबन्धन कसरी अघि बढ्छ भन्नेमा प्रश्न उब्जिएको छ।

कांग्रेसका नेताहरू सरकार जवाफदेही नभएको, कार्यसम्पादन कमजोर भएको र सडकमा देखिएको असन्तुष्टि सम्बोधन गर्न नसकेको जस्ता विषयमा सन्तुष्ट छैनन्। नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्तिलाई लिएर ओली–देउवामा खटपट देखिएको छ।

सत्ता संयन्त्रमा भागबन्डा नमिल्दा डेढ महिनादेखि गभर्नर पद रिक्त छ। कांग्रेसले आफूनिकट व्यक्ति अघि बढाउनुपर्ने दबाब दिँदा ओली ती व्यक्तिसँग सन्तुष्ट नभएको एमालेका नेताहरू बताउँछन्। यही कारण कहिले कायममुकायम गभर्नरले राजीनामा स्वीकृत नगरेको त कहिले व्यक्ति चित्त नबुझेको भन्दै ओलीले तर्किरहेको कांग्रेस नेताहरूको भनाइ छ।

कांग्रेस स्रोतका अनुसार देउवाले गभर्नर नियुक्तिका लागि ओलीलाई पटकपटक अनुरोध गरेका छन्। ओलीले विभिन्न बहाना गर्दै मन्त्रिपरिषद्‌मा प्रस्ताव लगेका छैनन्।

‘गभर्नर नियुक्तिमै समस्या देखियो। ओलीले नीलम ढुंगानालाई अघि बढाउन खोजे। हामी मान्ने अवस्थामा छैनौँ,’ देउवा निकट स्रोतले भन्यो, ‘उहाँलाई हामीले कार्यशैली सुधार्नुहोस् भनेर पटकपटक भन्यौँ तर पुरानै शैलीलाई निरन्तरता दिनुभयो।’

देउवा निकट स्रोतका अनुसार ओलीलाई देउवाले गभर्नरका लागि दुई व्यक्तिको नाम प्रस्ताव गरेका छन्। यसअघि गुणाकर भट्ट र हाल डा. विश्व पौडेल। भट्टमाथि ओलीले विभिन्न आरोप लगाउँदै मान्य नहुने बताएका थिए।

देउवाले आफू निकट विश्व पौडेलको नाम अघि बढाउन ओलीलाई सिफारिस गरे। ओलीले विश्वमाथि पनि विभिन्न लाञ्छना लगाए। ‘राजनीति गरेका व्यक्ति हुन् भनेर ओलीले हुँदैन भन्ने कुरा गरे। सभापतिज्यू पनि सन्तुष्ट हुनुहुन्न’, कांग्रेसका एक नेताले भने।

यसअघि देउवा–ओलीबीचको बैठकबाटै खटपट आएको स्रोतको दाबी छ। गभर्नर सिफारिसका लागि ओलीले बोलाएको बैठकमा देउवाले पौडेलको नाम दिएका थिए। ओलीले पौडेलको व्यक्तित्वमाथि पनि प्रश्न उठाएपछि देउवा चिढिएका थिए। ‘गुणाकर भट्ट नै पनि उपयुक्त व्यक्ति हुन्। तर ओलीले आरोप लगाएर अर्को मान्छे ल्याउन भने,’ ती नेता भन्छन्, ‘अब अन्तिममा ल्याएका पौडेलमाथि पनि आरोप लगाएर त हुन्न नि।’

सत्ता गठबन्धनलाई लिएर कांग्रेसभित्र असन्तुष्टि देखिनु नौलो कुरा होइन। कांग्रेसका देउवा इतर नेताहरूले बारम्बार ओलीप्रति असन्तुष्टि देखाइरहेका थिए। सरकार बन्दादेखि नै कांग्रेस नेता शेखर कोइराला वर्तमान सरकारसँग सन्तुष्ट थिएनन्।

केही दिनअघि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समेत ओलीप्रति असन्तुष्ट देखिएका थिए। अहिले देउवा क्याम्पकै नेताहरू तीव्र रूपमा सरकारप्रति असन्तुष्ट देखिएका छन्। देउवा निकट मानिने प्रकाशशरण महतसहितका नेताहरू वर्तमान सरकारले नै असन्तुष्टि जनाइरहेका छन्।

देउवा इतर नेताहरूले असन्तुष्टि जनाउँदासम्म एमाले नेताहरू देउवा ‘मिलेसम्म’ खतरा नभएको बताउँदै आएका थिए। तर अब देउवा पक्षीय नेता असन्तुष्ट बन्दा ओली कसरी अघि बढ्ला भन्ने चासोको विषय छ।

ओली आफूखुसी अघि बढेको कांग्रेस नेताहरूको गुनासो छ। नियुक्ति भागबन्डामा आफ्नै पक्षका व्यक्ति अघि सार्नेदेखि सार्वजनिक रूपमा तिखो कटाक्ष गर्ने ओलीको शैलीमाथि देउवाले प्रश्न उठाएका छन्। ‘प्रधानमन्त्रीको सार्वजनिक अभिव्यक्ति निराशा छर्ने मात्र छ। त्यस्तो अभिव्यक्ति नदिनु भनेर भन्दा समेत हुन्न,’ कांग्रेसका एक पदाधिकारी भन्छन्, ‘जनतामा निराशा छाउने मात्र काम गरेर हुन्न नि। यो सरकार असफल हुँदा हामी (कांग्रेस) पनि असफल हुने हो।’

ओली भने कांग्रेसले जस मात्र लिएको भन्दै आएका छन्। सार्वजनिक अभिव्यक्तिमा समेत उनी कांग्रेससँग गठबन्धन सकसपूर्ण बनेकाले अब एमालेले नै बहुमत ल्याउनुपर्ने बताउन थालेका छन्।
‘प्रधानमन्त्री ओली भएकाले हामीलाई पनि मिलाएर लैजानुपर्ने अभिभारा उहाँको हो। तर उल्टै हामीले प्रधानमन्त्री फकाउनुपरेको छ’, कांग्रेस सभापति देउवा निकट स्रोत भन्छ, ‘यही कारणले सोमबार बेलुका ओलीले बोलाएको बैठकमा पनि सभापति नजानुभएको हो।’

कांग्रेसका ती नेताका अनुसार गभर्नर नियुक्तिकै लागि भनेर ओलीले देउवालाई बोलाएका थिए। तर पटकपटक एउटै विषयमा छलफल नगर्ने भन्दै देउवा बैठकमा गएका थिएनन्। देउवा बैठकमा नगएपछि ओलीले मन्त्रिपरिषद् बैठकसमेत स्थगित गरेका थिए।

प्रधानमन्त्री निकट स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकअघि ओलीले देउवा भेट्न चाहेका थिए। पुरानै कुरामा पटकपटक छलफल गर्न नसकिने भन्दै देउवा रुष्ट बनेका थिए।

देउवासँग भेटवार्ता सफल नभएपछि ओलीले स्वास्थ्यको कारण देखाउँदै मन्त्रिपरिषद् बैठक स्थगित गरेका थिए। मंगलबार पनि प्रधानमन्त्रीले स्वास्थ्य प्रतिकूलता देखाउँदै संसद् बैठकमा सहभागी भएका थिएनन्।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति असन्तुष्टि रहे पनि गठबन्धन फेर्ने चरणमा नपुगेको बताउँछन्।

‘प्रधानमन्त्रीको कार्यशैली प्रभावकारी छैन। यसको गति बढाउनुपर्छ भन्ने हो,’ विश्वकर्मा भन्छन्, ‘प्रधानमन्त्रीले लोकप्रियता जगाउने हो, असन्तुष्टि जगाउने होइन नि।’ विश्वकर्माले गठबन्धनमा कुनै समस्या नरहेको दाबी गर्छन्।

राजनीतिक विश्लेषक मुमाराम खनाल गभर्नर नियुक्तिको भागबन्डामा विवादमा सरकार नै पतन हुने अवस्थामा पुगेको बताउँछन्। प्रधानमन्त्री स्वयं राष्ट्रिय समस्या निको पार्न केन्द्रित नभएको उनको बुझाइ छ।

अर्का राजनीतिक विश्लेषक डम्बर खतिवडा गभर्नर प्रकरणमा ओली भुइँको टिप्दा पोल्टाको खसाल्ने अवस्थामा पुगेको बताउँछन्। उनी भन्छन्,  ‘ओलीमा भुइँको टिप्न खोज्दा पोल्टाको गुमाउने चरित्र देखिँदै छ।’

प्रकाशित: ६ जेठ २०८२ १५:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast