
काठमाडौँ- नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सहयोगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा सहभागी हुँदै सांसद बर्तौलाले राज्यकातर्फबाट अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा जोड्नका लागि सहलगानीका प्रक्रिया अघि बढाउन माग गरे।
‘अनौपचारिक क्षेत्रका झण्डै ४० लाख श्रमिकलाई कोषमा जोड्न सहयोगदानमा आधारित प्रक्रिया अघि बढाउनुपर्छ’,उनले भने, ‘त्यसका लागि प्रत्येक महिना श्रमिक वा योगदानकर्ता र सरकारले रकम जम्मा गर्ने प्रावधानअनुसार हुनुपर्छ। यसले श्रमिक आत्मनिर्भर र स्वरोजगार बन्न सहयोग पुग्छ।’
उनले हुम्लाको तिलगाउँमा हिमताल फुटेर गएको पहिरोबाट त्रसिद बासिन्दाको तत्काल उद्धार, पुनर्स्थापनाका लागि आवश्यक संयोजन र आवश्यक राहतको व्यवस्था सुनिश्चित गर्न सरकारको ध्यानार्कषण गराए।
‘यस्तो प्रकृतिको घटना देशका अन्य ठाउँहरूमा पनि अब क्रमशः हुनसक्छ । सरकारको पूर्वसावधानी र पूर्वतयारी प्रभावकारी ढङ्गबाट हुनुपर्छ’, सांसद बर्तौलाले भने।