३६ वर्षको यात्रामा शिक्षक संघ : अधिकार, शिक्षा र लोकतन्त्रका लागि समर्पित

हिमाल प्रेस ३० वैशाख २०८२ १२:३६ | Tuesday, May 13, 2025
३६ वर्षको यात्रामा शिक्षक संघ : अधिकार, शिक्षा र लोकतन्त्रका लागि समर्पित

काठमाडौँ- नेपाल शिक्षक संघले आज आफ्नो ३६औँ स्थापना दिवस देशभर विभिन्न कार्यक्रमहरूसहित मनाएको छ। ‘गुणस्तरीय शिक्षाको आधार, मर्यादित शिक्षण पेसाको पूर्वाधार’ भन्ने मूल नारासहित मनाइएको यस दिवसमा संघले शिक्षक अधिकार, गुणस्तरीय शिक्षा र लोकतन्त्रको संस्थागत विकासप्रतिको आफ्नो दीर्घ योगदानलाई स्मरण गरेको छ।

स्थापना दिवसको अवसरमा जारी सन्देशमा संघले प्रजातन्त्र र पेसागत हकहितको लागि संघर्षका क्रममा आफूलाई आहुति दिने शिक्षक सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, संघको स्थापना कालदेखि नेतृत्व सम्हाल्दै योगदान पुर्‍याउने संस्थापक तथा अग्रज नेताहरूप्रति पनि सम्मान व्यक्त गरिएको छ।

संघको स्थापना सन् १९९० (वि.सं. २०४७) मा प्रजातान्त्रिक आन्दोलनपछि भएको हो। स्थापना कालदेखि नै प्रजातन्त्रवादी शिक्षकलाई संगठित गर्दै गुणस्तरीय शिक्षाको प्रबन्ध, पेसागत हकहितको संरक्षण र लोकतान्त्रिक मूल्यको स्थायीत्वमा यस संस्थाले विशेष भूमिका खेलेको छ।

संघीय कार्यसमितिका अध्यक्ष सोमनाथ गिरी र महासचिव ज्ञानेन्द्रबहादुर रावलले संयुक्त शुभकामना सन्देशमार्फत सम्पूर्ण शिक्षक, विद्यार्थी, कर्मचारी, अभिभावक तथा सरोकारवालामा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना व्यक्त गरेका छन्।

सन्देशमा ‘शिक्षा विकासले मात्र समुन्नत नेपाल, सम्मानित नेपाली सम्भव छ’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै विद्यार्थी, शिक्षक र कर्मचारीमैत्री युगानुकूल शिक्षा ऐन यथाशिघ्र जारी हुनुपर्ने माग गरिएको छ। संघले शिक्षाको सम्पूर्ण दायित्व राज्यले लिने स्पष्ट नीति निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएको छ।

संघले आफूलाई देशकै सबैभन्दा ठूलो बौद्धिक पेसागत संस्था भन्दै शिक्षाको गुणस्तर सुधार, शिक्षकको सामाजिक प्रतिष्ठा र लोकतन्त्रको सुदृढीकरणमा निरन्तर अग्रसर हुने प्रतिवद्धता व्यक्त गरेको छ।

स्थापना दिवसको सन्देशमा सबै प्रजातन्त्रवादी शिक्षक समुदायलाई संगठित हुँदै साझा लक्ष्यप्रति प्रतिबद्ध रहन आग्रह गरिएको छ।

प्रकाशित: ३० वैशाख २०८२ १२:३६ | Tuesday, May 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast