
काठमाडौँ- भारत प्रशासित जम्मु सहरमा बिहीबार राति विस्फोटको आवाज सुनिएको छ। भारतीय सैन्य स्रोतहरूले समाचार संस्था रोयटर्ससँगको कुराकानीमा यस क्षेत्रमा पाकिस्तानले ड्रोन आक्रमण गरेको शंका गरेका छन्।
रोयटर्सका एक पत्रकारका अनुसार विस्फोटका बेला साइरनहरू बज्न थालेका थिए। सहरमाथिको आकाशमा रातो रङको उज्यालो देखिएका थिए।
एक भारतीय अधिकारीले आफ्नो नाम गोप्य राख्ने सर्तमा रोयटर्ससँग भने, ‘जम्मुका धेरै भाग र वरपरका साना सहर अखनुर, साम्बा र कठुआमा आक्रमण भएको छ। हाम्रा सैन्य प्रतिष्ठानहरूमाथि आक्रमण भइरहेको छ। यसैगरी जम्मुका पाँच जिल्लामा आक्रमण भइरहेको छ।’
समाचार संस्था एएफपीका अनुसार जम्मुको विमानस्थलमा पनि विस्फोटको खबर आएको छ। एएफपीले सञ्चारमाध्यमसँग बोल्ने अधिकार प्राप्त नभएका एक सुरक्षा स्रोतलाई उधृत गर्दै विस्फोटको पुष्टि गरेको छ।
जम्मु कस्मिरका पूर्व प्रहरी महानिर्देशक शेष पल वैद्यले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भयानक विस्फोट भएका छन्।’
बीबीसीका अनुसार पाकिस्तानले भारतीय प्रशासनको नियन्त्रणमा रहेको कस्मिरको जम्मु र उधमपुर तथा पञ्जाब राज्यको पठानकोटस्थित तीनवटा सैनिक क्याम्पमा मिसाइल र ड्रोन प्रहार गरेको दाबी गरेको छ।
सोसल मिडिया प्लेटफर्म ‘एक्स’ मा जारी गरिएको भारतीय सेनाको विज्ञप्तिमा आक्रमणमा कुनै पनि क्षति नभएको जनाइएको छ। यसैगरी सेनाले आक्रमण निस्क्रिय पारिएको दाबी गरेको छ।
भारत र पाकिस्तानले तनाव वृद्धि भएको विषयमा एकअर्कालाई दोषारोपण गरेका छन्। अमेरिकासहितकाअन्य देशहरूले दुवै पक्षलाई तनाव न्यूनीकरण गर्न आग्रह गरेका छन्।
भारतीय सेनाले बिहीबार पाकिस्तानले भारत र भारतीय प्रशासनको नियन्त्रणमा रहेको कस्मिरका तीनवटा सैन्य केन्द्रमा ड्रोन र मिसाइल आक्रमण गरेको आरोप लगाएको छ। इस्लामाबादले यो आरोप अस्वीकार गरेको छ।
पाकिस्तानले यसअघि २५ वटा भारतीय ड्रोनहरू खसालेको दाबी गरेको छ तर भारतले यसबारे कुनै टिप्पणी गरेको छैन। पाकिस्तानी पक्षले बुधबार बिहानदेखि पाकिस्तान र पाकिस्तान प्रशासित कस्मिरमा भएको हवाई आक्रमण र नियन्त्रण रेखामा भएको आक्रमणमा कम्तीमा ३१ जनाको ज्यान गएको र ५७ जना घाइते भएको जनाएको छ।
भारतीय सेनाले पाकिस्तानबाट भएको गोली प्रहारका कारणकम्तीमा १६ जना सर्वसाधारण मारिएको बताएको छ।