ऐतिहासिक कथामा आधारित फिल्म ‘जार’

हिमाल प्रेस १४ वैशाख २०८२ १३:५७ | Sunday, April 27, 2025
ऐतिहासिक कथामा आधारित फिल्म ‘जार’

काठमाडौँ- फिल्म ‘जार’ यही वैशाख २६ देखि प्रदर्शन हुँदैछ। सन् १९६१ मा प्रकाशित साहित्यकार इन्द्रबहादुर राईको कथासंग्रह ‘विपना कतिपय’ मा संकलित छ।

फिल्ममा करिब २ वर्ष अघिकाे नेपाली समाजमा घटेको यथार्थ घटना समेटेको टिमले बताएको छ। साहित्यकार राईले सन् १८ सय दशकको घटनालाई आफ्नो कथाको विषय बनाएका थिए। सोही विषयमा ‘जार’ निर्माण गरिएकाले यसलाई पुरानो कथा भन्न मिल्ने निर्देशक फूर्वा छिरिङ लामाले बताए।

फिल्मले हाम्रो इतिहाससँगको साक्षात्कार गराउनुका साथै समाजमा हराउँदै गएका परम्परा र सम्बन्धका विविध पाटा देखाउने निर्देशक लामाको विश्वास छ।

‘सानैदेखि सुन्दै आएको यो कथाले मलाई सधैं झक्झकाइ रहन्थ्यो। नेपाली समुदायमा जहाँ गए पनि एउटै भावना पाइन्छ। फिल्ममा यही हाम्रो समाजको भोगाइ, निर्दोषता र त्यतिबेला प्रचलित मितेरी साइनोलाई उजागर गरेका छौँ।’ उनले भने।

फिल्मले इतिहास, संस्कृति र समाजलाई स्पर्श गर्ने भएकाले युवा पुस्तालाई प्रभाव पार्ने निर्देशकको विश्वास छ। उनी भन्छन्, ‘अहिलेको पुस्तामा यो विषय केही ओझेलमा परे पनि त्यसबेलाको समाजमा यसको ठूलो प्रभाव थियो। फिल्ममा केवल इतिहास सुनाउने माध्यम मात्र होइन, हाम्रो संस्कृतिको अदृश्य धागो भेटाउने प्रयास पनि हो।’

उनका अनुसार फिल्ममा एक प्रेमकथामार्फत तत्कालीन समाजको संरचना र मानव भावनाको जटिलतालाई प्रस्तुत गरिएको छ। कथाका पात्र ‘ठूली’ र ‘रुद्रमान’ मार्फत दर्शकले त्यसबेला प्रेम, सम्बन्ध र समाजको कठोर वास्तविकता देख्न सक्नेछन्। ‘फिल्ममा देखाइने ‘मितेरी साइनो’ जस्ता सामाजिक परम्पराहरु अहिलेका पुस्ताले थोरै मात्रै बुझेका छन्। फिल्मले आजका दर्शकलाई पुरानो समाज र आजबीचको गहिरो सम्बन्ध बुझ्न मद्दत पुर्‍याउनेछभन्ने लागेको छ।’ निर्देशक लामाले भने।

फिलममा कलाकार सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापा मुख्य भूमिकामा छन्।

प्रकाशित: १४ वैशाख २०८२ १३:५७ | Sunday, April 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast