
काठमाडौँ- नेपालले आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा १८ अर्ब ६१ करोड रुपैयाँ बराबरका विद्युतीय सवारी साधन (ईभी) आयात गरेको छ। भन्सार विभागका अनुसार गत वर्ष साउनदेखि चैत मसान्तसम्म कुल ७,९५८ ईभी आयात गरिएको थियो। यीमध्ये आधाभन्दा बढी ईभी ५१ किलोवाटदेखि १०० किलोवाट मोटर क्षमताको श्रेणीमा थिए।
यो श्रेणीमा ४,४१४ ईभी आयात गरिएको थियो, जसको मूल्य १० अर्ब ९४ करोड रुपैयाँ रहेको छ। त्यसैगरी ५० किलोवाटसम्म मोटर क्षमता भएका २,७८३ युनिट ईभी आयात गरिएको थियो, जसको मूल्य ४ अर्ब ९७ करोड रुपैयाँ रहेको छ।
यस्तै १०१ किलोवाटदेखि २०० किलोवाट ब्याट्री क्षमता भएका ७४२ युनिट ईभी आयात गरिएको थियो, जसको मूल्य २ अर्ब ५६ रुपैयाँ छ। प्रतिवेदनअनुसार २०१ किलोवाटदेखि ३०० किलोवाट मोटर क्षमता भएका १७ युनिट ईभी १२ करोड ९७ लाख रुपैयाँ र ३०० किलोवाटभन्दा माथिको मोटर क्षमता भएका २ युनिट ८ करोड ३२ लाख रुपैयाँमा आयात गरिएको थियो।
सरकारले नौ महिना अवधिमा ईभी आयातबाट ११५.४७ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ।
समीक्षा अवधिमा कुल ईभी आयातको आधाभन्दा बढी चीनबाट आएको थियो। तथ्यांकअनुसार उत्तरी छिमेकी मुलुकबाट ५,८९३ युनिट आयात गरिएको थियो। त्यसैगरी भारतबाट २,०२३ युनिट आयात गरिएको थियो। नेपालले जर्मनी, इन्डोनेसिया, दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाबाट ईभी आयात गरेको छ।