काठमाडौँ– कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयरको बिक्री खुला गर्ने भएको छ। कम्पनीले माघ ३ गतेदेखि प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा आठ लाख ९६ हजार चार सय कित्ता सेयर प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गर्ने भएको हो।
कम्पनीले आफ्नो जारी पुँजी ६० करोड को १८ प्रतिशतले हुने १० करोड ८० लाख बराबरका १० लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो। यसमध्ये १० प्रतिशत अर्थात् एक लाख आठ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ भने पाँच प्रतिशत अर्थात् ५४ हजार कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिसकेको छ।
त्यसैगरी दुई प्रतिशतले हुने २१ हजार ६ सय कित्ता कर्मचारीका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी आठ लाख ९६ हजार चार सय कित्ताका लागि आवेदन दिनसक्ने कम्पनीले जनाएको छ।
निष्कासन गरिने सेयरमा सर्वसाधारणले छिटोमा आगामी माग ६ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे माग १७ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम चार हजार ९९० कित्ता खरिदका लागि आवेदन दिन सक्ने कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रमा उल्लेख छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सि आस्वा’ प्रणालीमार्फत तथा अनलाइनमार्फत ‘मेरो सेयर’ प्रयोग गरी खदिरको आवेदन दिन सकिने छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।
कम्पनीले दोलखाको चरीकोटबाट कालिञ्चोक भगवती मन्दिरसम्मको केबलकार सञ्चालन गरिरहेको छ। कम्पनीलाई केयर नेपालले ‘केयरएन्पी बीबी प्लस आईआर’ प्रमाणपत्र प्रदान गरेको छ।

                                             
                                             
                                             
                                             
                                             

