
काठमाडौँ– उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले बढ्दो वायु प्रदूषण कम गर्न सरकारले आवश्यक कार्य गर्ने बताएका छन्।
बिहीबार सहरी विकास मन्त्रालयमा सरोकारवाला लगायत विज्ञहरुसँग छलफल गर्दै सिंहले वायु प्रदूषण बढ्दै गएकाले यसलाई न्यूनीकरण गर्न सरकारले आवश्यक कदम चाल्ने बताएका हुन्।
उनले सरकारले अरु निकायहरुसँग छलफल गरेर आवश्यक कदम चाल्ने जिकिर गरे। बैठकमा वन मन्त्रालयका प्रतिनिधिहरुले अहिले वायु प्रदूषण निकै बढ्दै गएकाले जोर–बिजोर सवारी सञ्चालन गर्ने गरी सातामा दुई दिन बिदा दिनुपर्ने अवस्था आउन सक्ने जनाएका थिए। कार्यवाहक प्रधानमन्त्री सिंहले सबैको परामर्शमा छिटै आवश्यक निर्णयमा पुगिने उल्लेख गरे।
छलफलमा सरोकारवालाहरुले तत्काल वायु प्रदूषण कम गर्न सवारी साधनको चापलाई घटाउनुपर्ने सुझाव दिएका थिए। छलफलमा निर्माण व्यवसायी, यातायात व्यवसायी लगायत सरोकारवाला मन्त्रालयको उपस्थिति रहेको थियो।