सुनिल बल निर्णायक बन्दा संकटाले जित्याे आहा रारा गोल्डकप

हिमाल प्रेस २३ पुष २०७९ १७:२३
8
SHARES
सुनिल बल निर्णायक बन्दा संकटाले जित्याे आहा रारा गोल्डकप तस्बिर : सुदर्शन रञ्जित

काठमाडौँ- कप्तान सुनिल बलले आतिरिक्त समयमा निर्णायक गोल गरेपछि संकटा क्लबले भुटनिज युथ एससी (बीवाईएससी)लाई हराउँदै आहा रारा गोल्डकपको उपाधि जितेको छ। शनिबार पोखरा रंगशालामा भएको उपाधि भिडन्तमा सुनिलले ११७ औँ मिनेटमा गोल गरेका थिए।

संकटाले दोस्रो पटक आहा रारा गोल्डकप जितेको हो। यसअघि संकटा २०७७ सालमा च्याम्पियन बनेको थियो। यसपालि संकटा क्वार्टरफाइनलमा त्रिभुवन आर्मी क्लब र सेमिफाइनलमा एपीएफ क्लबलाई पन्छाएर फाइनलमा पुगेको थियो।

बीवाईएससीले उपाधि भिडन्तमा स्थान सुरक्षित गर्न मनाङ मस्र्याङ्दी क्लब र चर्च ब्वाइज क्लबलाई पराजित गरेको थियो।

विजेता संकटाले पहिलो पुरस्कार स्वरुप १२ लाख रुपैयाँ पायो। अमेरिकाबाट आाएको बीवाईएससीले ६ लाख रुपैयाँ प्राप्त गर्‍यो। दोस्रो पटक आहा रारा गोल्डकप खेलेको बीवाईएससी गत वर्ष क्वार्टरफाइनलबाट बाहिरिएको थियो।

खेलमा संकटाले आठौँ मिनेटमै अग्रता लिएको थियो। निशान खड्काले गरेको प्रहार बीवाईएससीका गोलरक्षक पुजन थापा मगरले पन्च गरेपछि बल सुरज ज्यू ठकुरीले भेटेका थिए। त्यसपछि रिबाउन्डमा सुरजले सहजै गोल गरेका थिए।

ए डिभिजन लिगको संकटाले ३५ औँ मिनेटमा अग्रता दोब्बर बनाएको थियो। बलियो लयमा रहेका क्यामरुनी खेलाडी मेसौके ओलोमोउले खेललाई २–० को स्थितिमा पुर्‍याएका थिए।

तर दोस्रो गोल खाएको दुई मिनेटपछि नै बीवाईएससीले गोल फर्कायो। उसका लागि रिनी सान्तिलोनले गोल गरे। बीवाईएससीको दोस्रो गोल विली ग्रिफिथले गरे। दोस्रो हाफमा दुवै टिम गोल गर्नबाट चुक्दा खेल आतिरिक्त समयतर्फ धकेलिएको थियो।

निर्णायक गाेलकर्ता सुनिल प्रतियाेगिताकाे उत्कृष्ट खेलाडी चुनिए। उनी गत सिजन मछिन्द्र क्लबले ए डिभिजन लिग उपाधि रक्षा गर्दा  उत्कृष्ट खेलाडी चुनिएका थिए।

संकटाकै टिकेन्द्र थापा उत्कृष्ट गोलकिपर, आयुष घलान उत्कृष्ट मिडफिल्डर र स्टेफन बिनोङ उत्कृष्ट फरवार्ड घाेषित भए। विजेता टिमकै मेसौके ओलोमोउ उच्चकर्ता बने भने सल्यान खड्की उत्कृष्ट प्रशिक्षक चुनिए।

त्यसैगरी उपविजेता टिमका भिक्टर ओर्टेगा उत्कृष्ट रक्षक बने। फेयर प्लेकाे पुरस्कार भने धरान एफसीले पायाे।

प्रकाशित: २३ पुष २०७९ १७:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + fourteen =