
काठमाडौँ– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार छैठौँ जित हासिल गरेको छ।
बुधबार रुपन्देहीको सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्दै पुलिस क्लबले लगातार छैठौँ जित निकालेको हो।
जितसँगै पुलिस तालिकाको शीर्ष स्थानमा कायमै छ। गण्डकीले दिएको ९३ रनको लक्ष्य पुलिसले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। पुलिसको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५४ रन जोडे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी २३ दशमलव २ ओभरमा ९२ रनमा अल आउट भएको थियो। गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ४८ रन जोडे। पुलिसका लागि ललितनारायण राजवंशीले ५ विकेट लिएका थिए।
त्यस्तै बुधबार रुपन्देहीको एक्स्ट्रा टेक क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशबिरुद्ध ५ विकेटको जित निकालेको छ। लुम्बिनीले दिएको १ सय १७ रनको लक्ष्य सुदूरपश्चिमले ३१ दशमलव १ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।
सुदूरपश्चिमको जितमा किरण कुमार ठगुन्नाले सर्वाधिक ४३ रन जोडे। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४४ दशमव १ ओभरमा १ सय १६ रनमा समेटिएको थियो। लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ४१ रन जोडेका थिए।
त्यस्तै प्रतियोगिताअन्तर्गत दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा भएको खेलमा त्रिभुवन आर्मी क्लब, मधेश प्रदेशसँग ३ विकेटले पराजित भयो। आर्मीले दिएको २ सय १८ रनको लक्ष्य मधेशले ४८ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो। मधेशको जितमा कप्तान अनिल साहले सर्वाधिक ४५ रन जोडे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रन बनाएको थियो। आर्मीका लागि भीम सार्कीले सर्वाधिक ८९ रन जोडेका थिए।