‘द्रौपदी’ बाट फिल्ममा गायक रविको डेब्यु

हिमाल प्रेस ५ चैत २०८१ १६:३३
12
SHARES
‘द्रौपदी’ बाट फिल्ममा गायक रविको डेब्यु

काठमाडौँ- नेपाल आइडल दोस्रो सिजनका विजेता गायक रवि ओडले ‘द्रौपदी’ बाट फिल्ममा डेब्यु गरेका छन्। अभिनयमा रुचि भएकाले तयारी गरेर फिल्ममा काम गरेको गायक ओडले बताए।

‘आफ्ना गीतको भिडियोमा देखिँदा आत्मविश्वास बढेको थियो। निर्देशक आचार्यसँग झन्डै तीन महिना अभिनयसम्बन्धि प्रशिक्षण लिए। र फिल्ममा काम गर्ने निर्णय गरे। राम्रो गर्ने प्रयास गरेको छु, यसको प्रतिक्रियाले आउँदो दिनको अभिनय यात्रालाई सहज बनाउनेछ भन्ने लागेको छ, उनले भने।

आश्विनी शाहीले पनि यही फिल्मबाट अभिनयको सुरु गरेकी छन्। आफ्नो परिवेश र जीवनभन्दा फरक पात्र पाएकाले अभिनय गर्न प्रेरित भएको शाहीले बताइन्। ‘मेरो लागि यो अवसरसँगै चुनौती थियो। किनकि मैले यस्तो जीवन र परिवेश बाँच्न पाएकी थिइनँ। पश्चिमेली लवजका लागि पनि मैले सक्दो मेहनत गरेकी छु। पहिलो फिल्ममै पात्रलाई प्रस्तुत गर्न पाउँदा खुसी छु’, उनले भनिन्।

फिल्ममा रवि र अशि्वनीकाे मुख्य अभिनय छ। गायक ओड, शाहीझैँ अन्य केही नवकलाकारलाई अडिसनमार्फत छनोट गरेर अवसर दिएको निर्देशक आचार्यले बताए। ‘फिल्ममा नयाँ प्रतिभाको उपस्थिति आवश्यक लागेर केही फ्रेस अनुहार रोजेको छु’, निर्देशक आचार्यले भने।

यही चैत ८ देखि नेपालसहित विदेशका केही स्थानमा प्रदर्शन हुने फिल्ममा निर्देशकसहित सुजाता तिमल्सिना, कविराज भाम, प्रकाश ज्ञवाली, सीता बौडेल, विष्णु ठडराई, सुरज अधिकारीलगायत कलाकारले अभिनय गरेका छन्। मोहन झिल्लुको छायांकन रहेको फिल्म अनिल महर्जनले सम्पादन गरेका छन्।

फिल्ममा डाेल्पाकाे संस्कृति र साैन्दर्य

फिल्मले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको छ। फिल्ममा देखाइएका मनमोहक दृश्यले दर्शकलाई आकर्षित गर्ने मात्र होइन, उनीहरूलाई उक्त स्थानमा पुग्न प्रेरितसमेत गर्छ।

हिमशृङ्खला, प्राकृतिक सौन्दर्य, धार्मिकस्थल तथा सांस्कृतिक विविधताले भरिएको नेपाललाई फिल्ममार्फत विश्वभर चिनाउने काम भइरहेको छ। यसले प्रवासमा रहेका नेपालीलाई मात्र नभई स्वदेशीलाई पनि आन्तरिक पर्यटनमा रुचि बढाएको फिल्म निर्देशक आचार्यले बताए। उनले निर्देशन गरेको फिल्म ‘द्रौपदी’ डोल्पा जिल्लाको मनोरमदृश्य छायांकन गरेका छन्।

झन्डै ४६ दिन छायांकन गरिएको फिल्ममा निर्देशक आचार्यले स्थानीय कला, संस्कृति, सभ्यतासँगै ठूलीभेरी, सुलीगाड, तरापखोला र जगदुल्ला नदीलाई पनि कैद गरेकाे बताए। फिल्ममा समावेश त्रिपुरासुन्दरी देवीको मन्दिरसँगै शे-फोक्सुन्डोलगायत मनोरम दृश्यले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने निर्देशक आचार्यकाे विश्वास छ।

‘म लगायत धेरै फिल्मकर्मी मनाङ, मुस्ताङ, डोल्पासहितका अन्य स्थानमा पुग्नुको एउटा कारण फिल्म र म्युजिक भिडियो नै हो। हामी त्यहाँ पुग्दा पनि फिल्ममा हेरेर घुम्न आएको भन्ने सुन्नेका थियौँ, मुस्ताङमा एउटा गल्लीको नाम नेपाली फिल्म जेरीबाट राखिएको छ’, निर्देशक आचार्यले भने।

फिल्म पत्रकार सम्मेलनमा निर्देशक आचार्यले ‘द्रौपदी’ नामसँग फिल्मको विषय जोडिएको बताए। ‘डोल्पाको संस्कृति र फिल्मको कथा जोडिएको छ, त्यसैले हामीले छायांकन स्थल डोल्पा रोजेका हौँ। यसमा नेपाली मौलिक विषय, आँखालाई शीतलता दिने सुन्दर दृश्य र सोचनीय विषयलाई उठाएको छु’, उनले भने।

प्रकाशित: ५ चैत २०८१ १६:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast