![शिक्षा ऐनका लागि रास्वपा कार्यालय अगाडि शिक्षक महासंघको धर्ना [तस्बिरहरू]](https://himalpress.com/wp-content/uploads/2025/03/teacher-aandolan1.jpg)
काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले शिक्षा ऐन अविलम्ब जारी गर्नुपर्ने माग राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय कार्यालय, बनस्थलीमा धर्ना दिएको छ। महासंघले यसअघि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका केन्द्रीय कार्यालयहरूमा धर्ना दिइसकेको थियो।
शिक्षक महासंघले ऐन जारी नहुँदासम्म आन्दोलन जारी राख्ने चेतावनी दिएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘हामी सबै राजनीतिक दलको कार्यालयमा धर्ना दिइरहेका छौं। अब रिले अनशनमा जान्छौं। चैत २० पछि देशभरका शिक्षकहरू काठमाडौंमा भेला हुनेछन्।’
सत्तारुढ दलका नेताहरूले शिक्षकहरूको मागलाई गम्भीर रूपमा लिएको बताएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘चैत २० अघि नै ऐन ल्याउन पहल गर्ने’ प्रतिबद्धता जनाए। वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले ‘शिक्षकलाई आन्दोलन गर्नुपर्ने स्थिति दुःखद् भएको’ बताउँदै सरकारलाई दबाब दिने आश्वासन दिए।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले संसद्को चालु अधिवेशनमै शिक्षा ऐन पारित गरिने दाबी गरे। उनले भने, ‘राज्यले शिक्षकका मागलाई ध्यानमा राखेर संविधानको भावनाअनुसार ऐन जारी गर्छ।’
नेपाल विद्यालय कर्मचारी परिषद्ले पनि सरकारसँग भएका सहमति कार्यान्वयन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएको छ। परिषद्का अध्यक्ष गंगाराम तिवारीले ‘सरकार पटक–पटक छल्ने रणनीति अपनाइरहेकाले ऐन जारी नभएसम्म आन्दोलनको विकल्प नभएको’ बताए।
शिक्षक महासंघले आगामी दिनमा थप सशक्त आन्दोलनको घोषणा गर्ने तयारी गरिरहेको छ। चैत २० पछि चार लाख शिक्षक काठमाडौँमा जम्मा हुने र आन्दोलन जनआन्दोलनभन्दा ठुलो हुने महासंघले जनाएको छ।