इटहरीको सहिद स्कुलको होस्टेलमा ‘जाँडको भण्डार!’

विवेक विवश रेग्मी ३ चैत २०८१ १५:३३
464
SHARES
इटहरीको सहिद स्कुलको होस्टेलमा ‘जाँडको भण्डार!’

इटहरी- इटहरी उपहानगरपालिका-१९ स्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालययमा जाँड बनाउने गरेको पाइएको छ। विद्यालयमै जाँडको भण्डार रहेको पाइएपछि विद्यार्थी आन्दोलित बनेका छन्। विद्यार्थीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराम गिरी र होस्टलका वार्डेन सोमप्रसाद पुरीलाई निकाला गर्नुपर्ने मागसहित आइतबार प्रदर्शन गरेका हुन्। होस्टलमा विद्यालयका शिक्षकहरूलाई निकाला गरेर भित्रबाट ताला लगाइएको छ। अध्यक्ष गिरी र वार्डेन पुरीमाथि विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोप पनि लागेको छ।

कक्षा १२ मा अध्ययनरत पुरन विश्वकर्माले होली खेल्ने क्रममा विद्यार्थीमाथि दुर्व्यवहार भएको बताए। ‘होलीको दिन होस्टल वार्डेन सोमप्रसाद पुरी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराम गिरीले खेदाउनुभयो,’ विश्वकर्माले भने, ‘होली नमनाउने भए किन विद्यालय छुट्टी भयो? यहाँ होली खेल्ने को हो? खेल्छस् भने मसँग आइज भनेर थर्काउँदै दुर्व्यवहार भयो।’

होस्टेल वार्डेन पुरीले ‘बाहिरको मान्छे ल्याएर कुटपिट गर्ने’ धम्कीसमेत दिएको आरोप विश्वकर्माको छ। ‘होस्टल वार्डेनले मैले चाहेँ भने बाहिरको मान्छे लगाएर कुटाउन सक्छु भनेर धम्की दिनुभयो,’ उनले भने, ‘अध्यक्षले भने तेरो बाउको स्कुल हो भनेर धम्की दिँदै निष्कासन गर्ने धम्की दिएपछि मानसिक समस्या भयो।’

विश्वकर्माले होस्टलभित्रै जाँड बनाउने गरेको बताए। ‘यहाँ जाँड बनाइन्छ। यहाँका नराम्रो क्रियाकलापबारे बोल्दा दबाबमा राखिन्छ,’ उनले भने, ‘विद्यार्थीलाई धम्की दिइयो, मानसिक समस्या भयो।’

कक्षा ७ मा अध्ययनरत विद्यार्थी गणपति चौधरीले आफूलाई विद्यालय व्यवस्थापन समितिले दबाब दिएको बताए। सहिद परिवारको सन्तान भए पनि सहिद स्कुलमै विभेद भएको गुनासो उनको छ। दिदी लक्ष्मीकुमारी चौधरीलाई शुल्क नतिरीकन पढ्न नपाइने भन्दै पढाइबाट वञ्चित गराइएको आरोप उनको भनाइ छ। ‘सहिद स्कुलमा सहिदकै बच्चा पढ्न पाइँदैँन,’ उनले भने, ‘पढ्नका लागि पैसा लाग्छ भनियो। मलाई पनि जतिसुकै पावर लगा यहाँ राख्दिनँ भन्दै दबाब दिइएको छ।’

होलीका विषयमा विवाद भए पनि यहाँभित्र थुप्रै समस्या रहेको विद्यालयका एक शिक्षकले बताए। ती शिक्षकका अनुसार विद्यालय व्यवस्थापन समितिले भने विद्यार्थीलाई दबाब दिइरहेकाले समस्या उत्पन्न भएको हो।

विद्यालयमै जाँड बनाइने, सफाइका लागि कर्मचारी राखे पनि विद्यार्थीलाई धम्की दिँदै सफाइमा खटाइने, शौचालय सफा गर्न लगाउने, शुल्क नतिरेमा कोचिङ कक्षामा सहभागी नगराइने, भ्रमण शुल्कका लागि बजेट आए पनि विद्यार्थीमा शुल्क लिइनेलगायतका समस्या रहेको गुनासो विद्यार्थीले गरेका छन्।

कक्षा ११ मा अध्ययनरत विशु घिमिरे, कक्षा १२ मा अध्ययनरत गरिमा पोखरेल, कक्षा ७ मा अध्ययनरत विपन विश्वकर्मा, कक्षा १२ मा अध्ययनरत धनसिंह कार्की, कक्षा १० मा अध्ययनरत रोहितजंग राजवंशीलगायतले विद्यालयमा जाँड बनाउँदा दुर्गन्ध फैलिएको, बोलेमा घर फर्काइदिने धम्की दिएको, कोचिङको माग गर्दा पैसा मागेको र भ्रमणका लागि शुल्क आए पनि विद्यार्थीसँग लिइएको आरोप लगाएका छन्।

‘स्कुलमा भएका नराम्रा कुराबारे केही भन्न पाइँदैन,’ धनसिंहले भने, ‘धेरै नबोल, झोला बोकेर घर कुद्नुपर्ला भन्ने धम्की आउँछ।’ कक्षा १० मा अध्ययनरत रोहितजंगका अनुसार अघिल्ला वर्षमा कोचिङ कक्षाको शुल्क तिर्नु नपरे पनि यस वर्ष तिर्नुपरेको छ। ‘अघिल्लो वर्षमा कोचिङको शुल्क लिएको थिएन। निःशुल्क पढाइ भनिन्छ तर निःशुल्क पढाइ भएकै छैन,’ उनले भने।

होस्टल वार्डेन पुरीले भने आफूले विद्यार्थी नधम्क्याएको जिकिर गरे। ‘होली खेल्ने क्रममा हुलदंगा बढी भएपछि होली नखेल भनेको हो,’ उनले भने, ‘मैले कसैलाई धम्क्याएको छैन।’ होस्टलमा कार्यरत कर्मचारी विमला गिरीले उब्रिएको खानेकुरा भण्डारण गरी मर्चा हालेर सुँगुरलाई दिएको उनको दाबी छ।

‘विद्यार्थीले खाएर उब्रिएको भात जम्मा पारेर मर्चा हालिएको हो,’ वार्डेन पुरीले भने, ‘मर्चा हालेको खानेकुरा दिएमा सुँगुर छिट्टै बढ्ने मान्यता छ। यो कसैले खानका बनाइएको होइन।’ होस्टल क्षेत्रभित्र सुँगुर पालन गरिएको र मोर्चा प्रयोग गरी त्यसलाई खान दिएको उनको भनाइ छ।

विद्यालयकी प्रधानाध्यापक रीता फुयाँलका अनुसार होस्टलमा दुई सय ५६ जना विद्यार्थी आवासीय छन्। सुरक्षा र संवेदनशीलतासँग जोडिएकाले सामूहिक होली खेल्न नदिँदा विद्यार्थीको गुनासो रहेकाले त्यसलाई सम्बोधन गर्ने प्रयास भइरहेको उनले बताइन्। ‘ जाँडको जुन कुरा छ, त्यो वेस्टेज भएका खाद्यान्नको उच्चतम प्रयोग गर्ने उद्देश्य हो,’ फुयाँलले भनिन्, ‘फालिएका सामग्री प्रयोग गर्न सुँगुर पालेका हौँ। मादक पदार्थ सेवन गर्नेलाई होस्टलमा छिर्नै दिइँदैन। विद्यालयभित्रै कहाँ बनाउनु?’

उनले वैशाख महिनाभर विद्यार्थी बिदामा हुने बेला सुँगुरलाई खानेकुरा दिनका लागि उक्त सामाग्री भण्डारण गरिएको बताइन्। शुल्कका विषयमा भने अभिभावक सहयोग लिएको उनले बताइन्। ‘विद्यार्थी सिस्टममा बस्नुपर्छ भन्ने हाम्रो भनाइ हो,’ उनले भनिन्, ‘दुई सय ५६ जना विद्यार्थी होस्टलमा बस्नु चानचुने कुरा होइन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast