
नयाँ दिल्लीमा फरवरी १ दखि ९ सम्म विश्व पुस्तक प्रदर्शनीको आयोजना हुने कुरा थाहा पाइयो। त्यहाँ लेखक कुनो (अथर्स कर्नर) भनेर एउटा ठाँउ छुट्याउने र लेखकहरुलाई आ-आफ्ने पुस्तकको परिचय गर्न अवसर दिने रहेछ। मेरो पुस्तक हिन्दी तथा अंग्रेजीमा प्रकाशन गरेको वालनट पब्लिकेसनले आउन अनुरोध गरेकाले म त्यसतर्फ जाने भएँ। यसैबीच मेरा सहोदर दाजु श्याममोहन श्रेष्ठ पनि पुस्तक लेखक भएको हुँदा उहाँ पनि जानलाग्नु भएको रहेछ। हामी उतै भेट्ने घुम्ने रम्ने भनियो, गफियौँ।
७ फरवरीका दिन हामीहरु नेपाल एअरलाइन्स (एनए) को उडानबाट दिल्लीतर्फ प्रस्थान गर्यौँ। बिमान चाहिँ उही ए ३३० रहेछ। विमान किन्दाको लफडा हालसम्म नसकिए पनि विमान चैँ आरामदारी नै थियो। यूएसबी सम्म उपयोग गर्न सकिने सुविधा रहेछ।
भोलिपल्ट समयमै प्रगति मैदानमा पुग्यौँ जहाँ प्रदर्शनी भइरहेको थियो। हलतर्फ जाँदा एउटा बोर्डमा आँखा पर्यो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको फोटो समेटिएको ल्फायरमा ‘जब जनता पढेंगेँ तो देश आगे जाएगेँ’ भनि लेखिएको थियो। कुरा त ठीक हो नि। जनता शिक्षित भएपछि न समाज सुरक्षित हुन्छ, अनि देशले प्रगति हासिल गर्न सक्छ। वास्तवमा शिक्षा नै त्यो मजबुत जग हो, जसको आधारमा एउटा शिक्षित, सुन्दर तथा प्रगतिशील जीवनको कल्पना गर्न सकिन्छ।
मेरो बोल्ने पालो आएपछि वालनटका श्रद्धाजीले मेरो परिचय दिनुभयो। साथै उहाँले मेरो पुस्तक ‘कुटनीतिमा तीन दशक’ १० वर्ष पहिला नेपालमा छापिएको र हाल हामीहरुले त्यसको हिन्दी तथा अंग्रेजी संस्करण छाप्न पाएकोमा खुशी व्यक्त गर्नुभयो। मैले सामान्य शिष्टाचारका केहि शब्दहरू राखेपछि प्रधानमन्त्री मोदीको उही उक्तिलाई उद्धृत गरी बोल्न शुरु गरे। आफ्नो पुस्तकको परिचय गर्ने क्रममा बनाएर लगेको टिपोटका कुराहरु राखेँ।
नेपाली राजदूतावासबाट प्रथम सचिव बिजय तण्डुकारजी आउनु भएको थियो। १५–२० मिनेट जति बोले छु। उपस्थित भएका व्यक्तिहरु मेरो कुरा सुनेर रमाइ रहेको झैँ लाग्यो। एक जना भारतीय महिलाले आफ्नो छोराको यूपीएसपी परीक्षालाई काम लाग्ने पुस्तक रहेछ भनेर तुरुन्तै किन्नुभयो। श्री गणेशाय नमः भै हाल्यो।
अर्को दिन अर्थात ९ फरवरीमा पनि मेलामा नै यताउता हेर्दैै गर्यौँ। करिब १२ देखि १५ लाख मानिसहरु आएको अनुमान गरियो। यो त वर्षेनी आयोजना गरिने ठूलो पुस्तक मेला पो रहेछ। १० फरवरीका दिन हामी तिनै जना जयपुर तिर लाग्यौँ। करिब ५ घण्टाको सफरपछि जयपुरको चिटिक्क परेको होटल माउन्टेन ब्लूमा आई पुग्यौँ। कोठाभित्रको सजावटमा जयपुरको शान थोरै भए पनि झल्किन्थ्यो। त्यसपछि जयपुरको प्रख्यात अम्बर किल्ला हेर्न गयौँ।

करिब चार सय वर्षअगाडि बनाएको किल्ला मजबुत नै देखियो। नजिकको डाँडातिर सुरक्षा पर्खाल पनि बनाइएको रहेछ। इतिहास बोकेको यस किल्लाको मध्य भागतिर ढुंगा विछ्याइएको ठूलो चोक रहेछ। यहीँ जोधा अकबर भन्ने हिन्दी फिल्मको एउटा गाना सुटिंग गरिएको भनि गाइडले बताए। त्यहाँ एउटा प्रसिद्ध कालीको मन्दिर पनि रहेछ। त्यो समयको राजा मानसिंहले बंगलादेशबाट ल्याएको कुरा लेखिएको रहेछ।
एक दिनको भ्रमण आतेजाते गर्दै प्रशस्त समय लाग्ने। खास समय नै नपुग्ने। अन्य कतिपय प्रसिद्ध स्थानहरु हेर्नै नभ्याइने भयो। जयपुरमा विश्वको ४ नम्बरको महँगो होटल राजप्यालेस छ भन्ने कुरा थाहा थियो। आज भन्दा २ सय ९८ वर्ष अगाडि सन् १७२७ मा बनाइएको यस राज प्यालेस होटलमा एक रात बस्न अमेरिकी डलर ४३,००० (अन्दाजी नेपाली रुपैयाँ ६० लाख) लाग्दो रहेछ। हुन त दुबईमा रहेको रोयल मैन्सन होटल एटलान्टिस नै विश्वको सबभन्दा महँगो होटल भनेर लेखिएको छ। जहाँ एक रात बस्नका लागि १ लाख डलर अर्थात् १ करोड ३९ लाख रुपैयाँ लाग्दछ।
साधारण मानिसका लागि अकल्पनीय तथा अविश्वसनीय लागे तापनि करोडपति अरबपति व्यापारी वा अन्य धनाढ्य व्यक्तिहरुका लागि यो पनि साधारण नै लाग्दो हो। एकपल्ट यसो बाहिरबाट भए पनि हेरौँ भन्ने मनसाय थियो। तर समयको कमिले गर्दा त्यसतर्फ जाने मेसो नै भएन।
भोलिपल्ट ११ फरवरीका दिन जयपुरबाट आगराका लागि प्रस्थान गर्यौँ। झण्डै २०० किलोमिटरभन्दा बढी टाढा रहेछ। बाटोमा जयपुरको प्रसिद्ध हावामहल पनि देख्यौँ । तलाउको बीच बनाइएको रानी महल पनि हेर्यौँ। दिल्ली फर्कने क्रममा बीच बाटोमा फतेहपुर सिक्री भन्ने स्थानमा प्रख्यात मुस्लिम फकिर सलिम चिस्तीको समाधिस्थल रहेछ। हामीले भैगो दिल्ली जाउँ भन्दा भन्दै पनि चालकले होइन सर, हेरेर जानुस् भनर गाडी उतैतिर मोडे। ल त भनेर हामीहरु त्यता तर्फ लाग्यौँ। गाइडहरु पनि सिफारीसबाट चल्दो रहेछन्।
एक जना कालो चश्मा लगाएका अलिक होचा भएकोले हिरो भन्न अलि नसुहाउने गाइड आइपुगे र हामीलाई समाधिस्थलतिर लगे। बीचबीचमा यस स्थानको महत्वका बारेमा वर्णन त गरे। फरबरीको महिना भए तापनि दिनमा त घाम चर्कि सकेको थियो, टाउको चर्कने गरी।
आजभन्दा ४ सय ८३ वर्षअगाडि सन् १५४२ मा जन्मनु भएका मुस्लिम बादशाह अकबर दिल्लीमा बसी राजकाज गर्दथे। गाइडको भनाइमा उनका तीन जना रानीहरु थिए। एक जना इस्तानबुलबाट आएका मुस्लिम, एक हिन्दु नारी राजकुमारी जोधा तथा एक जना क्रिश्चियन। तर कुनै पनि रानीबाट बच्चा नजन्मेका कारण अकबरलाई ठूलो चिन्ता परी राखेको। यस स्थानमा एक जना प्रख्यात मुस्लिम फकिर सलिम चिस्ती एउटा कुटीमा बस्दा रहेछन्। फकिरको आशिर्वादले चमत्कार हुने कुरा सो बेला दूरदराजसम्म फैलिएको थियो।
कसैले अकबरलाई फकिरबाट आशिर्वाद प्राप्त भएमा बच्चा जन्मन सक्ने कुरा सुनाए। दिल्लीवाट २०० किलोमिटर दूरीमा रहेको यस फतेहपुर सिक्रिसम्म आउनु पर्ने। सम्राट अकबर कसरी आए होला, सरलाई केहि ज्ञानकारी छ कि भनि मलाई अचानक गाइडले सोधे। त्यो बेला न त हवाई जहाज थियो, न हेलिका्प्टर, गाडी नै पनि थिएन होला। त्यहि हाती, घोडाबाहेक सवारीका साधन अरु कुनै थिएन। मैले हिँडेर आएको होला भनि प्याच्च जवाफ फर्काएँ। गोली ठीक ठाउँमा लागेको रहेछ। उनले टाउको हल्लायो। हो लावालश्करसहित सम्राट अकबर त्यति टाढावाट हिँडेर आएर फकिरको सामुन्ने रोइकराई गरेपछि उनको आशिर्वादले रानी जोधाबाट बच्चाहरु जन्मेको भनि सुनाए। फकिरको आशिर्वादले मात्र बच्चाहरु जन्मेको त नहोला। तर सुन्दा वाह क्या गजब कुरा। तर कुरा सत्यै रहेछ।

समाधिस्थल जानु अगाडि हामीलाई भनियो चादर चढाउनु पर्छ रे। साहुजीले १ देखि ११ हजारसम्ममा चादरहरु देखाए। मैले अहिले क्यास सकियो। पैसा छैन। उनले फेरि भने १ हजार को चढाउनुस् । मैले दुई–तीन सयसम्मको छ कि भनेर सोधेँ। १ हजारको भनेको चादर हातमा दियो। त्यहि चढाएँ। हामीहरु यतिकै अगाडि बढ्यौँ। साहुजी पछिपछि आएर पैसा माग्दै थियो। मैले ३०० लिएर जानुहोस् भने। खुरुक्क लिएर गएँ। जयपुरमा पनि चिया १ कप पिएर जानु होला भन्दै दाइलाई १६०० को सामान किन्न लगाएको थियो। भला सामान चैँ राम्रै छ भन्नुहुन्थ्यो।
त्यसपछि हामीहरु आगरा आइपुग्यौँ। तुरुन्त ताजमहज हेर्न गयौँ। वाह क्या सुन्दर महल। यो मानिसले विश्वमा बनाएको अद्भुत संरचनाहरुमध्ये एउटा हो। मुस्लिम बादशाह शाहजहाँले आफ्नो रानी मुमताजको स्मृतिमा बनाइएको ताजमहल बनाउन २० हजार कामदारहरुले अनवरत रुपमा काम गर्दा पनि १६ वर्ष लागेको रहेछ। सन् १६३२ मा बनाउन सुरुभै १६४८ मा सकिएको। यस्को मुख्य आर्किटेक्ट ईरानबाट आएका अहमद लोधी थियो। ताजमहल बनाउन त्यो बेलामा पनि करिब ४ करोड २५ लाख रुपैयाँ लागेको भन्ने सुनियो।
मानव निर्मित विश्वको अद्भुत सम्पदामध्ये एकमा पर्ने यो ताजमहल यमुना नदीको किनारामा बनाइएको। यसको उपनामको रुपमा क्राउन अफ प्यालेसेस भनिने रहेछ। यसमा प्रयोग गरिएको सिगमर्मर राति चम्किने रहेछ। यसपालि ताजमहल हेर्ने धोको पूरा भयो। हामीहरु खुशी भयौँ। गाइड पनि माहिर थिए। विभिन्न पोजहरुमा बसाई फोटोहरु लिए। त्यहाँबाट फर्कियौँ तर दिल्ली आई पुग्दा झकमक्क साँझ परि सकेको थियो।
यसैबीच मुम्बईमा रहेका एक जना मित्रबाट उता आउन खबर आयो। दिल्लीबाट फर्कने योजना यतिकै थाती राखी दिल्लीबाट मुम्बई तथा मुम्बईबाट काठमाडौँ फर्कन टिकट काट्यौँ। दिल्लीबाट १ घण्टाको हवाई उडानपछि मुम्बई पुग्यौँ। सन् २ं०१० मा शिष्टाचार महापाल हुँदा प्रधानमन्त्रीको भ्रमण चलाउन मुम्बई आएको थिएँ। तर खास मुम्बई सहरको दर्शन गर्ने समय नै थिएन। यसपालि भने निजी भ्रमण भएकोले समय पनि पुग्ने भएपछि हामीहरु खुशी नै थियौँ।
अर्को दिन अर्थात १३ फरवरीमा एउटा गाडी हायर गर्यौँ। ८ घण्टा वा ८० किलोमिटर जुन पहिला हुन्छ भन्ने सिस्टम रहेछ। त्यतिको लागी भारु २५०० तथा अन्य करहरू हामीले नै तिर्नुपर्ने । नयाँ सहरमा यतिको व्यवस्था पनि उपयोगी नै लाग्यो।
चालक रफिकले मित्रको कार्यालयमा समयमै पुर्याइदियो। उनी धनाढ्य व्यापारी थिए, हामी आएको देखेर उनी खुशी भए। कुरा सुरु गर्नु अगाडि जय शम्भो भन्दै कराउने उहाँको बानी थियो। भगवान पशुपतिनाथमाथि अगाध आस्था राख्दथे। भलाकुसारी भयो। भोली पल्ट शिर्डी जान उनले एउटा गाडी पठाइदिए। आरामसाथ शिर्डीमा साइवाबाको दर्शन गर्यौँ। जहिले पनि असाध्य भीड हुने। तर पनि व्यवस्था राम्रो थियो। मुम्बईबाट शिर्डीसम्म २३८ किलोमिटर रहेछ।
सन् २०२४ मा पनि हामीहरु औरँगाबादबाट सिर्डी आएका थियौँ। त्यसकारण यो हाम्रो दोश्रो भ्रमण भयो। मुम्बई फर्कँदा राति भइसकेको थियो। राति मुम्बईको झिलीमिली देख्यौँ। वर्षको ८ सयभन्दा बढी फिल्महरु बनाउने भारतको प्रमुख आर्थिक केन्द्र मुम्बई। तर ट्र्राफिक जाम तथा स्लम पनि कतैकतै देखियो। अनि जति गरे पनि हामी एसियाली जनिहाल्ने भनियो। १४ फरवरीका दिन हामीहरु जुहु बीच नजिक रहेको इस्कोन मन्दिरमा बस्ने भयौँ। ईस्कोन मन्दिरमा रहेको भगवानका मूर्तिहरू देख्दा अबाक भयौँ। कस्तो सुन्दर मूर्तिहरु, कस्ले बनाएका होलान, कालीगढीको अत्युतम नमुना थिए ती मूर्तिहरु। मन्दिर अवलोकन गर्दा एक असिम आनन्दको अनुभूति हुँदो रहेछ। मन्दिर परिसरभित्र नै श्रद्धालुहरूका लागि खानाको राम्रो वन्दोवस्त रहेछ।
भोलिपल्ट १५ फरवरीका दिन चालक अविनासले मुम्बई सहर घुमाउन लग्यो। अभिताभ वच्चन, सलमान खान, रेखा, गोविन्दादेखि लिएर अन्य फिल्मी कलाकारहरुको घरहरू पनि देख्यौँ। बहुचर्चित धनाढ्य व्यापारी मुकेश अम्बानीको २७ तले घर अन्टिल्या पनि देखियो। एउटा फोटो खिचे किनकि टिकटकमा यस्को वर्णन आइरहन्छ। साँझतिर इण्डियागेट तथा ताज होटलका अगाडि गयौँ। इण्डियागेटतिर हेर्दै थियौँ। सामुन्ने भव्य ताज होटल उभिएको थियो। टाटा कम्पनिका संस्थापक जमसेदजी नुसरवालजी टाटाले यो होटल बनाएको र १६ डिसेम्वर् १९०३ मा उद्घाटन गरिएको यो होटल उत्कृष्ट देखिन्थ्यो।
यसको आर्किटेक्ट सिताराम खण्डेराव वैद्य रहेछन्। तर २६ नोभेम्वर २००८ का दिन यो होटल आतंककारीको निशानामा पनि अनाहकमा कैयौँ निहत्था व्यक्तिहरुको ज्यान गएको थियो। एक जना फोटोग्राफर आएर सर, एउटा फोटो लिउँ भनि सोध्यो। हुन्छ नि के जवाफ दिएको थिएँ, उसले यताउता गरी, यसोउसो गरी विभिन्न पोजहरुमा बस्न लगाई २४ वटा फोटोहरु लिए। सर, ल यो चश्मा लगाउनुस् भनेर घाँटीमा झुण्ड्याई राखेको कालो चश्मा पनि दिए। उनले अनेक पोजमा राखे। नाइँ भन्नै नसकिने गरी एक पछि अर्को आदेश दिन्थे। अन्तमा सर जम्मा २४ वटा फोटोहरु भयो १२०० भारु दिनुस् भने।

मैले यत्रो फोटोहरू किन लिएको भनि सोध्दा, मन नपरेको डिलिट गरे भई हाल्छ नि भनि आफ्नो चतुर्याइको बचाउ गरे। ९ वटा फोटोहरु डिलिट गरे पनि १५ वटा लिए। उनले भारु ७५० लियो। फोटोहरू पनि घाँटीमा झुण्ड्याइ राखेँको मिनी प्रिन्टरबाट नै छापेर तुरुन्तै दियो। वाह चलाक मानिसको क्या व्यापार गर्ने तरिका। न स्टुडियो, न प्रिन्टर, न पसलको भाडा।
भोलिपल्ट १६ फरवरीका दिन मित्रसँग ईस्कोन मन्दिर परिसरमा मा नै भेट भयो। उनले ल अस्ति भर्खर प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्नुभएका कारगरस्थित ईस्कोन मन्दिर पनि हेरेर जानु होला, साह्रै सुन्दर छ भने। चालकलाई सोही अनुसारको निर्देशन पनि दिए। हुन्छ, हस् भनि उतैतिर गयौँ। नभन्दै अति नै सुन्दर मन्दिर तथा विराजमान भगवानहरुको अति सुन्दर मुर्तिहरुको दर्शन गर्यौँ। दिउँसो १२ बजेतिरको समय हुँदो हो। घाम चर्किसकेको थियो। फर्कँदा कस्तो गर्मीभन्दा चालकले यहाँ त ५२ डिग्री सेल्सीयससम्म पुग्छ सर भने।
यसपछि हामी छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय हवाईअड्डामा समयमै पुग्यौँ। चेकइनका सबै काम सकेर बुर्कुसी मार्दै यताउता हेर्दै गयौँ। एअरपोर्टको भव्यता देखेर चकित भयौँ। क्या डिजाइन! यस्तो पो एयरपोर्ट! उडानसम्म समय अझ बाँकी रहेकाले वेटिङ लाउन्जमा बस्यौँ। पानी किन्ने मनसायले यताउता खोज्दा एउटा मेसिनमा आँखा पर्यो। के होला भनी यसो हेरेको त वाईफाई फ्रीमा दिने मेसिन पो रहेछ। इम्बार्केसन कार्ड राखेपछि ३ घण्टा फ्रीमा यात्रुहरुलाई वाईफाई सुविधा दिने रहेछ। वाह क्या व्यवस्था! एउटा राम्रो अन्तर्राष्ट्रिय एयरपोर्ट बन्न त यात्रुलाई आवश्यक पर्ने र पर्नसक्ने सबै सुविधाको ख्याल राखिनु कति जरुरी छ। दुई घण्टा उडेपछि हवाईजहाज काडमाडौँमा उत्रियो। अनि हाम्रो १० दिनको भारत भ्रमण पनि राम्ररी सकियो। सकुशल घर फर्कियौँ।
(श्रेष्ठ पूर्वराजदूत हुन्।)
प्रकाशित: २ चैत २०८१ १६:५६
प्रतिक्रिया