माफ गर भान्जा! तिमीलाई जन्मभूमिमा रोक्न सकेनौँ

भूपेन्द्रविक्रम थापा २९ फागुन २०८१ १७:१३
754
SHARES
माफ गर भान्जा! तिमीलाई जन्मभूमिमा रोक्न सकेनौँ

परिवारको पहिलो सन्तान अर्थात् हाम्रो दोस्रो पुस्ताको पहिलो सदस्य। तिमीहरू जुम्ल्याहा दाजुभाइको नाम अजय र विजय मैले नै राखिदिएँ। यसमा तिम्रा आमाबुबाले विमति जनाउनु भएन। सायद नाम राम्रो लाग्यो होला। नाम वास्तवैमा अर्थपूर्ण पनि छ। हामीलाई तिमीहरू बोलेको सुन्ने र खेलेको हेर्ने धेरै रहर थियो।

तिमीहरूसँग मज्जाले खेलियो। हजुरबा स्वर्गवास हुँदा तिम्रो कान्छो मामा दुई वर्षको थियो। तर तिमीहरूसँग जत्तिकै ऊसँग खेल्न पाइएन किनभने म लामो समयसम्म काठमाडौँमा रहेँ। म मोटरसाइकलमा हिँड्दा तिमी खुब पछ्याउँथ्यौ। खेलौना दिएर अल्मल्याएर हिँड्थेँ। ठूलो हुँदै गयौ।

राम्रो शिक्षा दिनका लागि तिम्रा बुबाआमाले काठमाडौँ लगे। केही समय छात्रावास पनि बस्यौ तर तिम्री आमालाई तिमीहरूलाई सँगै राख्ने रहर भयो। आफूले जानेको संस्कार र घरव्यवहार सिकाउने सोचसहित साथै राखेर १२ कक्षासम्म पढाए। अहिले तिमी उच्च शिक्षाको बहानामा मनको चाहना पूरा गर्न अस्ट्रेलियातिर लागेका छौ।

हामीले विद्यालय पढ्दाखेरी नै अलिअलि माटोसँग खेल्यौँ। पहाड चढ्यौँ। भारी बोक्यौँ। पशुपन्छीसँग रमायौँ। सामान्य जीवन निर्वाहका लागि चाहिने जीवनोपयोगी सीप सिक्यौँ। परम्परागत कृषिका सबैजसो काम सिकियो, गरियो पनि। केही भएन भने गाउँमा खेतीपाती गरेरै भए पनि स्वावलम्बी जीवन जिउन सकिन्छ जस्तो लाग्छ।

यस्तैयस्तै सिकाइका अवसरले हामीलाई माटोप्रति प्रेम जगाएको हो कि? नदी र खोलानालाको भाषा अलिअलि बुझ्ने पो भयौँ कि? यही माटोमा उत्पादन हुने अन्न र तरकारीको स्वादमा अल्मलियौँ कि? खोइ किन हो, हामीले जन्मभूमिको सिमाना काट्ने ताकत देखाएनौँ। हामीलाई घरैमा आमाबुबाले सिकाउनुभयो। समयले सिकायो। बाध्यताले सिकायो। रहरले सिकायो।

तिमीहरूले त्यो अवसर गुमायौ किनभने तिमीहरूले पैसा तिरेर गुणस्तरीय शिक्षा लियौ। हामीले गाउँघरकै विद्यालयमा निःशुल्क शिक्षा पढेका थियौँ। हामीले गाउँमा पढ्यौँ। गाउँको माया लाग्यो तर तिमीहरूले काठमाडौँमा पढ्यौ। तिमीहरूको न गाउँसँग माया बस्यो, न काठमाडौँले तिमीहरूको मन जित्न सक्यो। तिमीहरूले न आफू रमाउने ठाउँ देख्यौ न समस्या पर्दा गुहार्ने सरकार भेट्यौ। त्यसैले होला बिदेसिने निर्णय गरेछौ।

अचेल विद्यालयमा पखेटा नपलाउँदैका बालबालिका भर्ना गरिन्छ। प्राकृतिक रूपमा पखेटा त पलाउँछ तर बालबालिकाले त्यो पखेटा पलाएको र विकास भएको थाहा पाउँदैनन्। पखेटाले काम नगरेपछि पन्छीलाई खुला आकाशको के अर्थ? तिमीहरूलाई त्यस्तै भयो। गरिखान मिल्ने देश छ तर गरिखाने सीप छैन। माया गर्ने आमाबुबा छन् तर आडभरोसा दिने सरकार छैन। हाम्रो देशको शिक्षाले यस्तै अलपत्रे जनशक्ति उत्पादन गरेको छ।

हो भान्जा म पनि यस्तै एक शिक्षक हुँ। तिमी जस्तै जनशक्ति उत्पादनमा योगदान गरिरहेको छु। हामी शिक्षकको पनि बाध्यता छ। अलि फरक गरौँ न भन्यो भने अभिभावक मान्दैनन्। सरकारले अंकुश लगाउँछ। स्रोत सीमितताले बाध्य पार्छ। आधुनिकताले हाम्रो आफ्नै माटो सुहाउँदो सीप सिक्न रोक्छ।

विश्वव्यापीकरणका नाममा स्थानीय ज्ञान र सीप प्रयोग असम्भवजस्तै भएको छ। मातृभाषा वा नेपाली भाषा बोल्दा अशिक्षित भइन्छ। टुटेफुटेको अंग्रेजी कनीकुथी बोल्यो भने प्रगति गर्दै छ है भन्छन्। फरररर अंग्रेजी बोल्यो भने शिक्षित भन्छन्।

हाम्रो समाज यस्तो भएको छ। अंग्रेजी भाषा परीक्षा पास गरेर विदेश गएको भनेपछि विद्यमान परिभाषाका आधारमा सायद तिमी पनि शिक्षित भयौ होला। तर मलाई लाग्छ जीवनसँग जोडिएर समय, परिस्थिति, परिवेश, परिघटना आदिले नसिकाएसम्म मानिस शिक्षित हुँदैन। सिकेको कुरालाई व्यवहारसँग जोडेर जीवन सहज बनाउन सकियो भने शिक्षित भइन्छ कि जस्तो लाग्छ बाबु। मेरो बुझाइमा अब तिमीले धेरै कुरा सिक्ने छौ अनि शिक्षित हुनेछौ तर जन्मदिने आमाबुबालाई नबिर्सनू है!

तिमीलाई बिदाइ गर्न जाँदा पटक्कै खुसी लागेन। तिम्रो मुहारको मुस्कान बढाउने रहर पक्कै थियो। त्यसैले भित्रभित्रै रोएर मुस्कुराएँ। तिमीले पनि देख्यौ होला सबैको आँखा रसाएका थिए। विवाह भएको पहिलो दिन काखमा बसेर खेलेको सम्झेर तिम्री ठूली माइजू तिमी विदेश जाने कुरा मैले सुनाउनेबित्तिकै रोएकी थिइन्। तर म सबैले देख्ने गरी रुन सकिनँ। बाहिर आएर एक्लै भक्कानिएँ। अपरिचितहरूले देखे। मलाई कसैले पनि किन रोएको भनेर सोधेनन् किनभने परिवारको सदस्य बिदाइ गर्दा यसरी हरेक दिन धेरै मान्छे रुन्छन्। यो आमनेपालीको बाध्यता हो।

हुन त यो स्वदेश र विदेशको कथा हामीले नै बनाएका हौँ। प्राकृतिक रूपमा हेर्ने हो भने न विदेश न स्वदेश। यो त शक्ति र स्रोतमा खेल्ने मान्छेहरूको राजनीति रहेछ। जन्मँदा मान्छेसँग यस्तो राजनीतिक, धार्मिक, सांस्कृतिक, आर्थिक, सामाजिक अवरोध कहाँ थियो र? यो शासकहरूले राज्यका नाममा उनीहरूको रहर पूरा गर्न हामीमाथि लादेको शासन न हो।

राजनीतिले युवालाई देशमै बस्न वातावरण बनाउनुपर्ने हो। देश युवामैत्री हुन सकेन। तिमीहरूको रहरलाई राज्यले चिन्न सकेन। तिमीहरूसँग भएको क्षमता चिन्ने ल्याकत न विद्यालयले राख्यो न सरकारले कुनै चासो राख्यो। तिमीभन्दा पाँच दशक बुढा नेताहरूको शासनमा बाँधिएका छौ तिमीहरू। हामीलाई माफ गर भान्जा! हामीले तिमीलाई जन्मभूमिमा रोक्न सकेनौँ।

तीन वर्षका लागि उच्च शिक्षाको बहानामा बिदेसिएको तिमी फर्कँदा यी भ्रष्ट र अपराधी नेताहरूको पन्जाबाट देश मुक्त भयो र चौरासी सालमा हुने चुनावबाट युवाले नेतृत्वमा पुग्ने अवसर पाए भने अर्को एक दशकमा देश फर्कन लायक बन्ला कि? अन्यथा पुनः बिदेसिनुको विकल्प छैन। देशले लय पक्रन सकेन भने भाइबहिनीलाई पनि तिमीहरूकै पछि लगाउनुपर्ने हुन सक्छ। त्यसबेलासम्म तिमीले त्यताको माटोको भाषा बुझिसकेका हुनेछौ। हाम्रो र देशको मायाले जितेन भने सायद तिमी त्यतै बस्ने रहरको थैली बुन्न थाल्छौ होला।

राजनीतिले सुनिश्चित गर्न नसकेको अर्को समस्या भनेको महँगो जीवनशैली हो। शिक्षा र स्वास्थ्य यति महँगो भयो कि मानिसहरू बाध्य भएर असीमित आयमा लोभिएका छन्। कति पैसा भयो भने छोराछोरी पढाउन सकिन्छ? कति पैसा भयो भने सामान्य जीवन निर्वाह गर्न पुग्छ? कति पैसा भयो भने बिरामी पर्दा उपचार गर्न सकिन्छ? हामीलाई समस्या पर्दा सरकारले के सुविधा दिन्छ अनि हामी आफैँले के गर्नुपर्छ? यी कुनै पनि प्रश्नको सहज उत्तर आमनेपालीसँग छैन। त्यसैले यो प्रश्नको सहज उत्तर खोज्न विदेश बरालिनुपरेको छ। तिमी एक प्रतिनिधि पात्र मात्र हौ। जे होस्, तिम्रो शुभेच्छा सबै पूरा होस्, शुभयात्रा भान्जा!!

प्रकाशित: २९ फागुन २०८१ १७:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast