
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षाका क्षेत्रमा देखिएका नयाँनयाँ आयामहरूलाई मनन् गर्दै देखा पर्न सक्ने चुनौतीको सामना गर्नुपर्नेमा जोड दिएका छन्।
राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको २४औँ वार्षिकोत्सवका अवसरमा सिंहदबारमा आज (मंगलबार) आयोजित कार्यक्रममा परिषद्का अध्यक्ष प्रधानमन्त्री ओलीले परम्परागत सुरक्षा चुनौतीका अतिरिक्त सूचना र प्रविधिको द्रुत विकाससँगै यसको दुरूपयोगका कारण उत्पन्न साइबर अपराध, अन्तरदेशीय अपराध, जलवायु परिवर्तन, लागुऔषध दुर्व्यसन, सामाजिक सञ्जालको दुरूपयोगजस्ता कारणले राष्ट्रिय सुरक्षालाई संवेदनशील बनाउने उल्लेख गरे।
उनले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षा वातावरणमा विभिन्न नयाँ आयाम र नवीन प्रवृत्ति देखा पर्न थालेका र यसबाट राष्ट्रिय सुरक्षामा के कस्ता असर, प्रभाव र चुनौती सिर्जना हुन सक्ने भएकाले समयमै आँकलन तथा विश्लेषण गरी तदनुसार उपयुक्त रणनीति तय गर्न आवश्यक हुने बताए।
प्रधानमन्त्री ओलीले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सम्बन्धित निकाय, राजनीतिक दललगायत सबैले एकापसमा उचित समन्वय र सहकार्य गरेर अघि बढ्न आवश्यक रहेको जोड दिँदै राष्ट्रिय सुरक्षाको सन्दर्भमा ‘होल अफ द नेशन’ को अवधारणाअनुसार काम गर्न आवश्यक रहेको बताए।