
काठमाडौँ- लामो समयदेखि विवादमा रहेको गायक प्रमोद खरेल र विन्ध्यवासिनी म्युजिक प्रालिबीचको ‘प्रतिलिपि अधिकार’को मुद्दा किनारा लागेको छ। विन्ध्यवासिनी म्युजिक प्रालिले गायक खरेलको एउटा गीतविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो। तर सोही मुद्दा खरेलले जितेका छन्।
खरेलको एल्बम ‘प्रणय’को विक्री वितरण तथा प्रकाशनका लागि विन्धवासिनी म्युजिकलाई ५ बर्षका लागि अधिकार दिएको बताएका छन्। जसबापत, आफूले १ लाख १० हजार लिएको, भिडियो निर्माणमा कम्पनीले १ लाख दिने र २ लाख बराबरको प्रमोशन कम्पनीले गर्ने सहमति भएको प्रमोदले उल्लेख गरेका छन्।
४ लाख १० हजार आफूले पाउने रोयल्टी र आम्दानीबाट असुल गरेर कम्पनी सुरक्षित भएपछि मात्र आफू आम्दानीको हिस्सेदार बन्ने सहमति पनि प्रमोदले गरेका थिए। कम्पनीसँग गरेको ५ बर्षको सम्झौता सकिएपछि आफूले एल्बम फिर्ता मागेको तर कम्पनीका संचालक रेग्मीले एल्बम फिर्ता नदिएको आरोप प्रमोदको थियो। यही विषयलाई लिएर खरेल अदालत पुगेका थिए।
प्रतिलिपि अधिकार उल्लंघन गरेको भन्दै खरेलले कम्पनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा हालेका थिए। अदालतले प्रतिलिपि अधिकार उल्लंघनको कसुरमा दोषी ठहर गर्दै १० हजार रुपैयाँ जरिवाना र सर्जकलाई एल्बम फिर्ता गर्न आदेश दिएको थियो।
सजाय कम भएको भन्दै सरकारी वकिलले उच्च अदालत पाटनमा पुनः मुद्दा दायर गरेको थियो। संचालक रेग्मीले पनि सजाय खारेज गर्न माग गर्दै उच्च अदालत पाटनमा मुद्दा हालेका थिए। सोही मुद्दा भने प्रमोदले जितेका छन्।