
काठमाडौँ- ओम मेगाश्री फर्मास्युटिकल्सले फागुन २७ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको १ लाख ८० हजार कित्ता आईपीओ बाँडफाँट गरिसकेको छ।
साथै, ५४ हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि र ९० हजार कित्ता सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरिसकेको छ। अब दोस्रो चरणमा सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आईपीओ निष्कासन गर्न लागिएको हो।
आईपीओको मुख्य विशेषताहरूमा कुल जारी पूँजी ६० करोड रुपैयाँ, निष्कासन हुने सेयर १८ लाख कित्ता (कुल पूँजीको ३०%), सर्वसाधारणका लागि खुल्ने कित्ता १४ लाख ७६ हजार कित्ता, आवेदन दिन सकिने न्यूनतम सेयर १० कित्ता, अधिकतम आवेदन दिन सकिने सेयर १०,००० कित्ता रहेको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त यस आईपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी माइनस’ इस्युअर रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतालाई मध्यमस्तरको देखाउँछ।
यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सबै आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखाहरू तथा ‘मेरो सेयर’ अनलाइन प्लेटफर्ममार्फत आवेदन दिन सक्नेछन्। ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओलाई लगानीकर्ताहरूबाट राम्रो प्रतिक्रिया आउने अनुमान गरिएको छ।