
काठमाडौँ- पूूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सराहना गरेकी छन्। भण्डारीले गुट र फुट परास्त गरेर पार्टीलाई सुदृढ तुल्याउन ओलीले खेलेको भूमिकाको सराहना गरेकी हुन्।
राजधानीमा सोमबार ‘केपी शर्मा ओली : सपना, संघर्ष र संकल्प’ पुस्तक लोकार्पण समारोहमा पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी ओलीले नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन थप योगदान गर्ने विश्वास व्यक्त गरिन्।
यसैगरी भण्डारीले एमालेको आन्तरिक जीवनमा लोकतन्त्रीकरण गर्न कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन प्रधानमन्त्री ओलीले खेलेको भूमिकाको स्मरण गरिन्। राजनीतिक दलहरुले जस्तोसुकै कठिन परिस्थीतिमा पनि लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् गर्नुपर्ने उनको भनाइ छ।
भण्डारीले बहुलवाद र बहुदलीय प्रतिस्पर्धालाई उच्च प्राथमिकता दिएर राजनीतिक श्रेष्ठताबाट सरकारको नेतृत्वमा पुग्ने र सामाजिक आर्थिक रूपान्तरण गर्ने लक्ष्य लिएको एमालेलाई कुनै पनि राजनीतिक घटनापरिघटनाले विचलित तुल्याउन नसक्ने पनि बताइन्।
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले लोकतन्त्रप्राप्तिका लागि गरेको संघर्षदेखि मुलुकको समृद्धिका लागि देखाएका सपना र गरेको नेतृत्वदायी पहललाई केन्द्र राखेर पुस्तक तयार गरिएको हो। पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद, सामाजिक व्यक्तित्वहरुका लेख–रचनासमेत समावेश गरिएको छ। अल्केमी प्रकाशनले प्रकाशन गरेको पुस्तकका सम्पादक गणेश पाण्डे हुन्।