
इटहरी- सप्तरीको फत्तेपुर बजार क्षेत्रमा बाघ पसेको छ। बस्तीमा बाघ पसेर आक्रमण गर्दा तीनजना घाइते भएका छन्। मधेश प्रदेशको सप्तरी जिल्लाको सप्तकोशी नगरपालिकास्थित फत्तेपुर बजार क्षेत्रमा सोमबार बिहान ७ बजेतिर बाघको आक्रमणमा परी तीनजना घाइते भएका हुन्।
आक्रमणमा परी स्थानीय ४३ वर्षीय कृष्ण विष्ट, ५५ वर्षीय गणेश खत्री र रिजना गोसाइ घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका निरीक्षक उदयकुमार राई राईले जानकारी दिए। उनका अनुसार बिहान ७ बजेतिर बाघ बस्तीमा पसेको प्रहरीलाई सूचना आएको थियो। त्यसलगत्तै फत्तेपुरको प्रहरी टोली र कोशीटप्पु वन्यजन्तु आरक्षको टोली बस्तीमा परिचालित भएको थियो।
कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट बाघ बस्तीमा पसेको आरक्ष कार्यालयका वीरेन्द्र गौतमले जानकारी दिए। आरक्षबाट नेपाली सेनासहित प्राविधिक टोली र वन कार्यालयका कर्मचारीले स्थलगत अवस्था बुझिरहेको उनले बताए। घटनास्थलमा सयौँको भीड लागेको छ। कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयबाट टोली घटनास्थलमा पुगेर विस्तृत बुझिरहेको गौतमले बताए। बाघलाई वन जंगल क्षेत्रभित्र फर्काउने प्रयास भइरहेको छ। ‘बाघले आक्रमण गरेपछि अहिले हामी घटनास्थलमै छौँ। यहाँ सयौँको भीड छ,’ गौतमले भने, ‘घटनाको सूक्ष्म अनुसन्धान भइरहेको छ।’
जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्सपेक्टर उदयकुमार राईका अनुसार सप्तकोशी नगरपालिकाको रक्तमाला टोल र खोरिया टोल नजिकै बाघले आक्रमण गरेपछि त्यस क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ।
आज विश्व वन्यजन्तु दिवस। वन्यजन्तु र मानवको बासस्थान पृथ्वीको अतिदोहन रोक्न तथा यसको जैविक विविधता, पर्यावरणीय एवं पारिस्थितिकीय प्रणालीको संरक्षणमा जोड दिँदै ‘वन्यजन्तु संरक्षणमा वित्त : मानव र पृथ्वीमा लगानी’ सन्देशका साथ संसारभर यो दिवस मनाइँदैछ।