 प्रतिनिधिमूलक तस्बिर
                             प्रतिनिधिमूलक तस्बिर 
                                            चितवन- दुग्ध उत्पादक किसानले सरकारले तोकेको मूल्य नपाएको गुनासो गरेका छन्। भारतीय सीमा क्षेत्रबाट सस्तो मूल्यमा दुग्धजन्य पदार्थ आयात भएपछि यहाँ उत्पादित दूधले उचित बजार मूल्य पाउन नसकेको किसानहरूको आरोप छ।
किसानहरूका अनुसार निजी डेरी उद्योगहरूले सरकारले तोकेको भन्दा कम मूल्यमा दूध लिने गरेका छन्। विकल्प नभएकाले सस्तोमा दूध बिक्री गर्न बाध्य भएको उनीहरू बताउँछन्। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालका अनुसार सरकारले चार फ्याट र आठ एसएनएफ भएको दूधको मूल्य प्रतिलिटर ६५ तोकेको छ। तर, डेरीहरूले उक्त मूल्यमा प्रतिलिटर रु ३ कम गरेर मात्रै खरिद गर्दै आएका छन्।
भारतीय आयातले समस्या थपियो
अध्यक्ष बगालका अनुसार दूधको आयात नरोकिँदा निजी डेरी उद्योगहरूले दूध नलैजाने धम्की दिने गरेका छन्। ‘बजारमा आयातित दूध र दुग्धजन्य पदार्थको मात्रा बढेपछि उद्योगहरूले हाम्रो दूध लिन अनाकर्षक बनाएका छन्,’उनले भने।
चितवनका ११५ दुग्ध उत्पादक सहकारी संस्थामार्फत देशभरका ४० भन्दा बढी ठूला दुग्ध उद्योगहरूले दूध खरिद गर्ने गरे पनि किसानहरू राज्यले तोकेको मूल्य पाउनबाट वञ्चित भइरहेका छन्।
बक्यौता रकम नपाउँदा किसान चिन्तित
चितवनमा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुन्छ जसमध्ये एक लाख ५० हजार लिटर दूध जिल्ला बाहिरका उद्योगहरूले खरिद गर्छन्। तर, विगत ६ महिनादेखि किसानहरू भुक्तानी नपाएर समस्यामा परेका छन्।
‘हामीले आफूले तोकेको मूल्यमा दूध नपाए भोलिदेखि दूध लिँदैनौं भन्ने चेतावनी दिइन्छ,’ अध्यक्ष बगालले भने। किसानहरूले अहिलेसम्म करिब ८० करोडभन्दा बढी भुक्तानी पाउन सकेका छैनन्। भदौ महिनादेखि दुग्ध विकास संस्थान र निजी डेरी उद्योगहरूबाट किसानले पैसा नपाएको उनले जानकारी दिए।
उनका अनुसार दुग्ध विकास संस्थानबाट मात्रै करिब ३५ करोड भुक्तानी हुन बाँकी छ। राज्यले समस्या समाधानमा चासो नदेखाउँदा चितवनका ४० हजारभन्दा बढी दुग्ध उत्पादक किसान चिन्तित बनेका छन्।
किसानहरूले सरकारले दूधको उचित मूल्य दिलाउने व्यवस्था मिलाउनुपर्ने माग गरेका छन्। उनीहरू भारतीय आयातमा कडाइ गर्न र बक्यौता रकम तत्काल उपलब्ध गराउन सरकारलाई आग्रह गरिरहेका छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 