मधेशमा भौँतारिँदै ‘परजीवी’ प्रचण्ड

धैर्यकान्त दत्त १८ फागुन २०८१ २०:५५
310
SHARES
मधेशमा भौँतारिँदै ‘परजीवी’ प्रचण्ड जनतासँग माओवादी तराई–मधेश अभियानका क्रममा धनुषाको कमला नगरपालिकाले आयोजना गरेको कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड।’ तस्बिर सौजन्य : दाहालको सचिवालय

काठमाडौँ- २०७० को दोस्रो संविधानसभा निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौँ क्षेत्र नम्बर १० र सिरहा क्षेत्र नम्बर ५ बाट चुनाव लडेका थिए। ‘जनयुद्ध’ अन्त्यपछि खुला राजनीतिमा अवतरण गरेलगत्तै २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादीले अपार बहुमत पाए पनि त्यही खालको परिणामका लागि ढुक्क थिएनन् प्रचण्ड। ‘जनयुद्ध’ मा दिएका आश्वासन ६ वर्षको अवधिमा पटकपटक सत्तामा रहँदा सबै मासिन पुगेको थियो।

त्यसैले दोस्रो संविधानसभा निर्वाचनमा चुनाव जित्न माओवादीलाई त के अध्यक्ष प्रचण्डलाई पनि सकस थियो। सोही कारण उनी दुईवटा क्षेत्रबाट निर्वाचनमा सहभागी भए। निर्वाचनमा काठमाडौँ १० का मतदाताले उनलाई पत्याएनन्। नेपाली कांग्रेसका उम्मेदवार राजन केसीबाट पराजित भए। सिरहा ५ का मतदाताले जिताएर प्रचण्डलाई संविधानसभासम्मको यात्रा तय गर्न बाटो खोलिदिएका थिए। नेकपा एमालेका लीलाबहादुर श्रेष्ठलाई झिनो मतान्तरले पराजित गर्दै प्रचण्ड दोस्रोपटक संविधानसभा सदस्यमा चुनिएका थिए।

चुनाव प्रचारप्रसार अभियानका क्रममा प्रचण्डले पटकपटक दोहोर्‍याउने वाक्य थियो, ‘साँच्चै भन्नुहुन्छ भने मधेशसँग मेरो लभ परेको छ। मेरो यो मायामा कहिल्यै कमी आउने छैन।’ यही आकर्षक नारा दिएका प्रचण्डलाई त्यतिबेला मधेशले पत्यायो।  प्रचण्डले सिरहाबाट चुनाव लडेको एक दशकभन्दा बढी समय बितेको छ। यसबीचमा उनले पटकपटक सत्ताको बागडोर सम्हालिसकेका छन्।

मधेशी जनताको मुक्तिको जिम्मा लिइरहेको दाबी गर्दै आएका प्रचण्डले भने पूरै प्रदेशको त के एउटा जिल्लाको निर्वाचन क्षेत्रमा पनि उल्लेखनीय काम गर्न सकेनन्। प्रचण्डले २०७० को निर्वाचनमा निर्वाचित सिरहा क्षेत्र नम्बर ५ कै लागि देखिने गरी कुनै काम गर्न नसकेको स्थानीय बासिन्दा बताउँछन्।  यहाँसम्म कि संविधान निर्माणपछि सिरहाको त्यो निर्वाचन क्षेत्रमा उनी दोहोर्‍याएर कहिल्यै पुगेनन्। कहिले एमाले र कहिले कांग्रेसको काँध थापेर अगाडि बढ्दै आएका प्रचण्ड मुक्तिको आकर्षक नारा दिएर फेरि एकपटक मधेशका जनतालाई रनभुल्लमा पार्न खोजिरहेको आरोप लाग्न थालेको छ।

मधेशबाट चुनाव जितेर संविधानसभामा पुगेका उनीमाथि संविधान निर्माण प्रक्रियामा मधेशको ‘सेन्टिमेन्ट’ विपरीत काम गरेको आरोप लाग्यो। जातीय राज्यको वकालत गर्दै आएका प्रचण्डले मधेश र थारूलाई संघीयता दिन कञ्जुस्याइँ गरेको भनेर उनको विरोध भएको थियो। नेपालको संविधान २०७२ कार्यान्वयनमा आएपछि पहिलोपटक भएको आमनिर्वाचनमा मधेश प्रचण्डको प्राथमिकतामा परेन।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा माओवादी रोज्ने कि मधेशवादी दल भन्ने दोधारमा मधेशी जनता देखिए। निर्वाचनमा प्रचण्डले मधेशसँग ‘ब्रेकअप’ गरेर गृहजिल्ला चितवनबाट चुनाव लडे। चितवनको जनताको माया पाएर प्रतिनिधिसभामा पुगे।

पाँच वर्षपछि २०७९ सालमा भएको आमनिर्वाचनमा पनि प्रचण्डले मधेशबाट चुनाव लड्न उपयुक्त ठानेनन्। जितका लागि सुरक्षित स्थान खोज्दै प्रचण्ड गोरखा पुगे। जनयुद्धकालका सहयात्री डा.बाबुराम भट्टराईको सहयोग पाएर गोरखाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए। नेपाली कांग्रेस र एमालेको सहयोग लिएर पालैपालो सत्ताको नेतृत्व सम्हाले।

आफूसँग ‘म्याजिक नम्बर’ भएको भन्दै हिँडेका प्रचण्ड प्रतिनिधिसभाको तेस्रो दल भएरै पनि कांग्रेस र एमालेलाई पछाडि घुमाइरहे। कहिले एमाले र कहिले कांग्रेस कित्तामा पुगेर प्रधानमन्त्री बनिरहने प्रचण्डको ‘ढुलमुले रणनीति’ धेरै दिन चलेन। प्रतिनिधिसभाका दुई ठूला दल कांग्रेस र एमालेले गठबन्धन गरेर सरकार बनाएपछि उनी सत्ताबाट किनारा लागेका छन्।

सत्ताबाट सडकमा पुगेका प्रचण्डले फेरि सम्झिएका छन् मधेश। प्रचण्ड यतिबेला दलका पदाधिकारीसहित हुलाकी राजमार्ग केन्द्रित तराई-मधेश जागरण अभियानमा केन्द्रित छन्। फागुन दोस्रो साता झापाको कचनकवलबाट सुरु भएको अभियानमा प्रचण्डसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मालगायतका नेताहरूले साथ दिइरहेका छन्।

जनजागरण अभियान मोरङ, सुनसरी, सप्तरी, सिरहा हुँदै शनिबार धनुषा आइपुगेको छ। अभियानका क्रममा प्रचण्ड एकाबिहानै दलबलसहित ट्र्याकसुट र ह्याट लगाएर मर्निङवाकमा निस्कन्छन्। कतै चिया खान्छन्, कतै पान। सर्वसाधारणलाई भेट्छन्, हालचाल सोध्छन्।

प्रचण्डले सामूहिक बलात्कारपछि हत्या भएको सिरहाकी रिंकु सदालाई न्याय दिलाउने प्रतिबद्धता जनाएका छन् भने मधेश र मधेशी जनतालाई मुक्ति दिलाउने वाचा गर्न छाडेका छैनन्। जागरण अभियानकै क्रममा सप्तरी पुगेका प्रचण्डले सक्कली मधेशवादी दल माओवादीमात्रै भएकाले अब मधेशी जनताको मुक्तिको सम्पूर्ण जिम्मा माओवादीले लिने बताए।

मधेशी जनता मधेशवादको नारामा स्थापित नक्कली दलको भुलभुलैयामा परेको बताएका उनले उनीहरूबाट मधेशी जनताको मुक्ति नहुने प्रमाणित भइसकेको दाबी गरे। प्रचण्डले वास्तविक मधेशवादी दललाई माओवादीसित जोड्न आग्रह गरे। मधेशको मुक्तिबिना देशको मुक्ति सम्भव नभएको ढाढस दिँदै उनले नक्कली मधेशवादी दलसँग सावधान रहन अपिल गरे।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का महासचिव डा.सुरेन्द्र झा आफैँ परिजीवी भइसकेका प्रचण्डले मधेश मुक्तिको कुरा गरेर जनतालाई मूर्ख बनाउने काम गरिरहेको बताउँछन्। ‘मधेश कसैको गुलाम होइन जो मुक्ति दिलाउनुपर्छ। उहाँ आफैँ परिजीवी भइसक्नुभएको छ,’ झाले हिमालप्रेससँग भने, ‘१६ बुँदे समझदारी गरेर ३५ दलीय मोर्चा छोडेकै दिन उहाँ प्रचण्डबाट छविलाल भइसक्नुभएको थियो। पहिचानवादी मुद्दालाई तिलाञ्जली दिनुभयो। मधेशमुक्तिको कुरा भनेको मधेशी जनतालाई मूर्ख बनाउने प्रयासमात्र हो।’

पहाडमा एमाले र कांग्रेसले पकड बनाइरहँदा देशको आधाभन्दा बढी जनसंख्या भएको मधेशका मतदाता रिझाउने ध्याउन्नमा छन्, प्रचण्ड। वाक्कलामा निपुण प्रचण्ड आकर्षक नारा दिएर आगामी निर्वाचनका लागि मधेशमा संगठन बलियो पार्दै मतदाता रिझाउन मधेशका जिल्लाहरूमा भौँतारिरहेका छन्। माओवादी केन्द्रको यो अभियान र प्रचण्डको आकर्षक नाराबाट मधेशका नागरिक प्रभावित नहुने तर्क लोसपा महासचिव झाको छ।

पहाडमा ‘स्पेस’ पाउने सम्भावना नदेखेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मधेशका जिल्लातर्फ केन्द्रीकृत भएको उनको भनाइ छ। ‘पहाडमा एमाले र कांग्रेसले ठाउँ ओगटिसकेको छ। उहाँका लागि त्यहाँ कुनै स्पेस छैन,’ झा भन्छन्, ‘मधेशमा जनसंख्या धेरै छ, त्यसैले अब मधेशलाई टार्गेट गर्न खोजिरहनुभएको छ। जनसंख्या धेरै भएकाले भीडभाड पनि देखिन्छ। कसैले भोज खुवाएपछि मान्छे खान त गइहाल्छ नि। अहिले देखिएका भीड भोटमा परिवर्तन हुन्छ भनेर उहाँले नसोचे हुन्छ।’

प्रचण्डले राजनीतिमात्रै गरिरहेको बताउँदै झाले मधेश केन्द्रित अभियानबाट माओवादीलाई फाइदा हुने सम्भावना नरहेको दाबी गरे। ‘राजनीतिकर्मी हुनुहुन्छ, राजनीति त गर्नुपर्‍यो। परिवारवादमा लिप्त हुनुहुन्छ त्यसका लागि पनि राजनीति गरिरहनुपर्‍यो,’ झा भन्छन्, ‘परिवारवादलाई संरक्षण गर्न पनि उहाँले यस्ता अभियान चलाइरहनुपर्छ। आफ्नो मुक्तिका लागि उहाँले मधेश दौडाहा गरिरहनुभएको छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast