
परम्परागत कृषि बिना पनि खाद्य उत्पादनको सम्भावनाका विषयमा अनुसन्धान हुन थालेको छ। पछिल्लोपटक अनुसन्धानकर्ताहरूले नेचर सस्टेनेबिलिटीमार्फत यसबारे बहस थालेका हुन्। अध्ययनमा रासायनिक र जैविक प्रक्रियाले कृषि कच्चा पदार्थमा भर नपरी खाद्य पदार्थ कसरी उत्पादन हुन सक्छन् भन्ने कुरा प्रकाश पारेको छ। यस्तो भएमा विकासले विश्वव्यापी खाद्य प्रणालीमा क्रान्ति ल्याउन र यसको वातावरणीय प्रभावलाई नाटकीय रूपमा कम गर्न सक्ने दाबी अनुसन्धानकर्ताहरूको छ।
कृषिको वातावरणीय लागत : कृषि उत्पादनमा ह्रास ल्याउने तत्त्वहरूमा हरितगृह ग्यास उत्सर्जन, भूमि क्षयीकरण र पानी प्रदूषण हुन्। कृषिले विश्वव्यापी भूमि-उपयोग परिवर्तन उत्सर्जनको लगभग २० प्रतिशत योगदान गर्दछ, जसमध्ये पाम तेल र सोयाबीन उत्पादनले महत्त्वपूर्ण भाग ओगटेको छ।
इन्डोनेसिया र मलेसियामा तेल पामखेतीले वार्षिक १.२६ गिगाटन कार्बनडाइअक्साइड उत्सर्जन गर्छ। यसलाई सबैभन्दा वातावरणीय रूपमा हानिकारक कृषि गतिविधिमध्ये एक मानिन्छ। त्यसैगरी अमेरिका, ब्राजिल र अर्जेन्टिनामा सोयाबिन खेतीले ७९ मिलियन हेक्टर ओगटेको छ, जुन विश्वव्यापी रूपमा सोया र पाम तेल उत्पादनका लागि प्रयोग हुने जमिनको ६५ प्रतिशत बराबर हो। यो व्यापक भूमि उपयोगले डरलाग्दो मात्रामा वन विनाश र जैविक विविधताको क्षति भइरहेको छ।
कृषिबिनाको खाना : अध्ययनले एक विकल्प प्रस्ताव गरेको छ जसअनुसार रासायनिक संश्लेषणमार्फत तेल (चिल्लो पदार्थ) उत्पादनमा ग्रिनहाउस ग्यास उत्सर्जनलाई उल्लेखनीय रूपमा कम गर्न सक्छ। परम्परागत खेतीविपरीत बाली र क्षेत्रका आधारमा प्रतिकिलो क्यालोरी तेल उत्पादन गर्दा १.५ देखि ३.० ग्राम कार्बनडाइअक्साइड उत्सर्जन गर्दछ। प्रतिकिलो क्यालोरी कृत्रिम तेल उत्पादन गर्दा ०.८ ग्राम कार्बनडाइअक्साइड मात्र उत्सर्जन हुन्छ। एक आदर्श परिदृश्यमा जहाँ नवीकरणीय ऊर्जा मात्र प्रयोग गरिन्छ, कृत्रिम खाद्य उत्पादनबाट उत्सर्जन लगभग शून्यमा पुग्न सक्छ।
ग्रिनहाउस ग्यास कटौतीबाहेक यो परिवर्तनले लाखौँ हेक्टर जमिन खाली गर्न सक्छ। लेखकहरूले अनुमान गरेका छन् कि कृत्रिम तेल (चिल्लो पदार्थ) उत्पादनले प्रतिहेक्टर प्रति वर्ष १ अर्ब किलोक्यालोरीभन्दा बढी उत्पादन गर्न सक्छ, जबकि कृषि कार्यबाट उत्पादित तेल (चिल्लो पदार्थ) प्रतिहेक्टर प्रतिवर्ष १५-२० मिलियन किलोक्यालोरी मात्र उत्पादन हुन्छ जसले गर्दा वन पुनरुत्थान, पानी संरक्षण र जैविक विविधता पुनर्स्थापनाका लागि यसको समग्र सकारात्मक प्रभाव विशाल हुनेछन्।
कृत्रिम खाना पछाडिको विज्ञान : यो अवधारणा भविष्यमुखी लाग्न सक्छ तर कृषि बिना खाना उत्पादन गर्ने विचार नयाँ होइन। दोस्रो विश्वयुद्धको समयमा जर्मन वैज्ञानिकहरूले खाद्य अभाव सम्बोधन गर्न कोइलामा आधारित मार्जरिन सफलतापूर्वक संश्लेषण गरे। आज जैविक प्रविधि र रसायनविज्ञानमा भएका प्रगतिले सिन्ग्यास, इथिलिन र वायुमण्डलीय कार्बनडाइअक्साइड जस्ता कार्बन कच्चा पदार्थहरूबाट तेल (चिल्लो पदार्थ), प्रोटिन र कार्बोहाइड्रेट जस्ता आवश्यक पोषक तत्त्वहरू सिर्जना गर्न सम्भव बनाइरहेका छन्।
आर्थिक र सामाजिक प्रभाव : कृत्रिम खानाले स्पष्ट वातावरणीय लाभ प्रदान गरे पनि यसको प्रयोगले आर्थिक र सामाजिक अवरोधको सामना गर्दछ भने अर्को चुनौती लागत हो। हाल सोयाबिन र पाम तेलजस्ता कृषि बोसोहरू अपेक्षाकृत सस्तो छन्, जसले तिनीहरूसँग प्रतिस्पर्धा गर्न गाह्रो बनाउँछ। यद्यपि अध्ययनले ठूलो मात्राको थर्मोकेमिकल प्रक्रियाले कृत्रिम तेल हालको बजार दरभन्दा ०-२० प्रतिशत बढी मूल्यमा उत्पादन गर्न सक्ने सुझाव दिएको छ। अर्को चुनौती उपभोक्ता स्वीकृति हो। कृत्रिम तेल (चिल्लो पदार्थ) परम्परागत तेलभन्दा बढी शुद्धताका साथ उत्पादन गर्न सकिन्छ।
किसान र विश्वव्यापी कृषिमा प्रभाव : कृत्रिम खाद्य उत्पादनको सबैभन्दा महत्त्वपूर्ण प्रभावमध्ये विश्वव्यापी रोजगारीमा यसको सम्भावित प्रभाव हो। कृषिले हाल विश्वव्यापी रूपमा लगभग १ अर्ब मानिसलाई रोजगारी दिएको छ। जुन विश्वव्यापी श्रमशक्तिको २७ प्रतिशत हो। परम्परागत खेतीको परिवर्तनले ग्रामीण अर्थतन्त्रलाई बाधा पुर्याउन सक्छ। विशेष गरी विकासोन्मुख राष्ट्रहरूमा जहाँ खेती प्रमुख जीविकोपार्जनको माध्यम हो।
इतिहासले कृषिबाट टाढा आर्थिक संक्रमणहरूले समयसँगै समृद्धि बढाउने प्रवृत्ति देखाउँछ। कृत्रिम खाद्य उत्पादन बढ्दै जाँदा सरकार र उद्योगहरूले विस्थापित कृषि कामदारक लागि न्यायपूर्ण संक्रमण सुनिश्चित गर्ने नीतिहरू विकास गर्नुपर्छ। यसमा जागिर पुन: तालिम कार्यक्रम, वैकल्पिक उद्योगमा लगानी र प्रभावित समुदायका लागि वित्तीय सहयोग समावेश हुन सक्छ।
कृत्रिम खाद्य उत्पादनमा संक्रमण रातारात हुने छैन तर सम्भावित लाभहरू बेवास्ता गर्नु पनि उचित देखिँदैन। ग्रिनहाउस ग्यास उत्सर्जन घटाएर, प्राकृतिक पारिस्थितिक प्रणाली संरक्षण गरेर र खाद्य सुरक्षा बढाएर यो उदीयमान प्रविधिले दिगो खाद्य प्रणालीमा ठूलो फड्को मार्न सक्छ। जलवायु परिवर्तन तीव्र हुँदै जाँदा र विश्वव्यापी खाद्य माग बढ्दै जाँदा कृषि बिनाको खाना उचित आविष्कार हुन सक्छ।