जनमत-नाउपा एकीकरण अन्तिम चरणमा, रन्जिता भने बेखबर

धैर्यकान्त दत्त १६ फागुन २०८१ २१:१५
64
SHARES
जनमत-नाउपा एकीकरण अन्तिम चरणमा, रन्जिता भने बेखबर

काठमाडौँ- मधेशका पुराना राजनीतिक दलहरू टुटफुटमा बल्झिएका बेला पछिल्लो आमचुनावबाट उदाएका दुई शक्तिहरू एकताको अन्तिम तयारीमा पुगेका छन्। सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको रन्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच एकता घोषणा हुन लागेको हो।

पुराना राजनीतिक दलका साथै मधेश केन्द्रित दलहरूको हालिमुहाली रहेका बेला २०७९ सालको आमनिर्वाचनमा पूर्वी मधेशमा जनमत र पश्चिमी मधेशमा नाउपा नयाँ शक्तिका रूपमा उदाएका थिए। दुवै दलका नेताहरूले एकता गरेर पूर्वदेखि पश्चिमसम्म वैकल्पिक शक्तिका रूपमा उभ्याउन लागेको बताएका छन्।

नेताहरूका अनुसार जनमत पार्टी र नाउपाबीच एकीकरणको तयारी अन्तिम चरणमा पुगेको छ। एकीकरणका लागि जनमत पार्टीका अध्यक्ष राउत र नाउपाका संरक्षक चौधरीबीच पटकपटक बैठक र छलफल भइसकेका छन्। सबै छलफल सकारात्मक भएकाले चाँडै एकता घोषणा हुने उनीहरूले बताएका छन्।

दुवै दलबीच छलफलका लागि बैठक चलिरहेकै बेला २७ माघमा नाउपाका संरक्षक चौधरीले एकता प्रक्रिया अघि बढिरहेको खुलासा गरेका थिए। नेपाल समाजवादी (नयाँ शक्ति) को महाधिवेशन उद्घाटन समारोहमा उनले भनेका थिए, ‘जनमत पार्टी र हाम्रो पार्टीबीचको सकारात्मक सन्देश चाँडै पाउनु हुनेछ।’ चौधरीले नेसपा (नयाँ शक्ति) को महाधिवेशन मञ्चबाट एकताको सन्देश दिइरहँदा जनमतका अध्यक्ष राउत पनि त्यहीँ उपस्थित थिए।

एकताको ‘मोडालिटी’, एकीकरणपछि बन्ने नयाँ पार्टीको नाम, चुनाव चिह्नलगायतका विषयमा जनमतका अध्यक्ष राउत र नाउपाका संरक्षक चौधरीबीच शृंखलाबद्ध छलफल भएका छन्। जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान एकताका लागि दुवै पार्टीबीचका कुराकानी सकारात्मक दिशामा अगाडि बढिरहेको बताउँछन्।

‘नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीजी यसबीचमा महाकुम्भका लागि भारतमा हुनुहुन्थ्यो। हाम्रो पार्टीका अध्यक्ष राउत पनि एक कार्यक्रममा भाग लिन दुबई जानुभएको छ,’ खानले हिमालप्रेससँग भने, ‘रेशमजी आइसक्नुभएको छ, हाम्रो अध्यक्षज्यू पनि आज आउने कुरा छ। अब दुवै नेता बसेर एकतालाई अन्तिम रूप दिनु हुनेछ।’

जनमतका उपाध्यक्ष खानका अनुसार २० फागुनपछि एकीकरण प्रक्रियाका विषयमा छलफलले तीव्रता लिनेछ। उपाध्यक्ष खानले दुवै पार्टीको एकीकरणका लागि ‘मोडालिटी’ ले पनि अन्तिम रूप लिइसकेको बताए। एकीकरणपछि जनमतका अध्यक्ष राउतले नेतृत्व गर्ने र नाउपाका संरक्षक चौधरी नयाँ पार्टीका प्रमुख नेता रहने गरी ‘मोडालिटी’ तय भएको खानले जानकारी दिए।

‘धेरै हदसम्म कुरा भइसकेको छ। एकताको मोडालिटी पनि तय भइसकेको छ। राउतजी अध्यक्ष र चौधरीजी प्रमुख नेता रहने गरी लगभग टुंगो लागिसकेको छ,’ खानले भने, ‘दुवै दलमाथि जनताको ठूलो भरोसा देखिएको छ। त्यसकारण पनि पदका लागि कुनै समस्या आउँदैन।’

एकीकरणपछि पार्टीको नाम जनमत रहने उल्लेख गर्दै उपाध्यक्ष खानले चुनाव चिह्न भने ‘ढकिया’ रहने सम्भावना रहेको बताए। ‘ढकिया’ नाउपाको चुनाव चिह्न हो। केन्द्रीय र जिल्ला कमिटी बनाउने विषयमा शीर्ष नेतृत्वले चाँडै टुंगो लगाउने खानले बताए। उनले भने, ‘दुवै नेताहरू बसेर चाँडै केन्द्रीय कमिटीको टुंगो लगाउनु हुनेछ। प्रतिनिधित्वको हिसाबले जिल्ला कमिटीबारे टुंगो लगाइन्छ। यो सबै प्रक्रिया पूरा गर्न ६ महिना लाग्नसक्छ।’

‘पृथकतावादी’ विचारधारा त्यागेर राजनीतिमा उत्रिएको राउत नेतृत्वको जनमत पार्टीले पहिलोपटक २०७९ मंसिरमा चुनावमा भाग लिएको थियो। पहिलो निर्वाचनमै यो पार्टीले पुराना मधेश केन्द्रित दलहरूलाई चुनौती दिएर मधेश प्रदेशसभामा बलियो उपस्थिति दर्ज गरेको थियो। त्यस्तै पहिलो चुनावबाटै जनमतले प्रतिनिधिसभासम्मको यात्रा तय गर्‍यो।

नाउपाले पनि पहिलो चुनावमै प्रतिनिधिसभा र प्रदेशसभामा आफ्नो उपस्थिति जनाइसकेको छ। दुवै दलले आफूलाई पुराना राजनीतिक शक्तिहरूको विकल्पमा प्रस्तुत गर्दै आएका छन्। एकीकरणपछि जन्मिने नयाँ शक्तिलाई दुवै दलले पूर्वदेखि पश्चिमसम्म आफ्नो पकड दह्रिलो पार्न खोजेका छन्।

जनमतका उपाध्यक्ष खानले एकीकरणपछि बन्ने नयाँ पार्टी पूर्वदेखि पश्चिमसम्म बलियो राजनीतिक शक्तिका रूपमा उभिने दाबी गरे। उनले भने, ‘हामी विकल्पका रूपमा जन्मिएका पार्टी हौँ। पश्चिममा उहाँहरूको र पूर्वमा हाम्रो राम्रो पकड छ। एकीकरणपछि बन्ने नयाँ पार्टीले मधेशका पूर्वदेखि पश्चिममा राम्रो प्रभाव पार्ने हाम्रो विश्वास छ।’

जनमत र नाउपा एकीकरणको अन्तिम तयारी गरिरहँदा सामान विचार तथा एजेन्डा बोकेर राजनीतिक गतिविधि गरिरहेका मधेश केन्द्रित अन्य राजनीतिक दलहरूलाई यो प्रक्रियामा सामेल गराइएको छैन। मधेश केन्द्रित अन्य दलहरूसँग गठबन्धन हुन सक्ने भए पनि तत्कालका एकीकरणको सम्भावना नरहेको नेताहरू बताउँछन्।

जनमत पार्टीका उपाध्यक्ष खान विचारधारा र एजेन्डा सामान भए पनि मधेशका अन्य दलहरूसँग एकीकरणको सम्भावना नरहेको बताउँछन्। ‘मधेशका अन्य दलहरूसँग एजेन्डा मिल्दोजुल्दो रहे पनि तत्काल एकीकरणको सम्भावना छैन,’ उनले भने, ‘उहाँहरूको सोचमा परिवर्तन आएको छैन। उहाँहरूको पुरानो इगो पनि ज्यूँकात्यूँ छन्। त्यसैले एकीकरणको सम्भावना छैन। गठबन्धनसम्म हुन सक्छ।’ यद्यपि एकीकरणका लागि भने बाटो खुला रहने उनले बताए।

जनमत पार्टीका प्रवक्ता शरदसिंह यादव पनि मधेशका पुराना राजनीतिक दलहरूको विकल्पमा जनताले आफूहरूमाथि विश्वास गरेको बताउँछन्। ‘हामी विकल्पका रूपमा उदाएका शक्ति हौँ। जनता हामीसँग आशावादी छन्,’ उनले भने, ‘लोसपा र जसपाहरूले राम्रो गरिदिएको भए हामी जन्मिने थिएनौँ।’

यादवले जनमत र नाउपाबीच एकीकरणका लागि भएका छलफल सकारात्मक ढंगबाट अगाडि बढिरहेको बताए। उनले विगतमा पुराना राजनीतिक दलहरूले दोहोर्‍याएको गल्ती आफूहरूले नगर्ने जिकिर गरे। ‘दुवै शक्तिमाथि जनताको ठूलो भरोसा छ। राउतजी र रेशमजी आन्दोलनबाट जन्मिएका नेता हुनुहुन्छ,’ उनले भने, ‘दुवै जनाको छुट्टै भाइब्स छ। पुरानो शक्तिजस्तो पदका लागि उहाँहरूबीच कुनै समस्या छैन। एकतापछि पुराना राजनीतिक दलहरूले गरेको गल्ती पनि दोहोर्‍याइँदैन।’

एकताबारे केही थाहा छैन : रन्जिता

दुवै दलका नेताहरू एकताको अन्तिम तयारी गरिरहँदा नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ भने यो सबै प्रक्रियाबाट बेखबर छिन्। यहाँसम्म कि जनमत र नाउपाबीच एकताका लागि भएका बैठकबारे आफूलाई कुनै जानकारी नभएको उनी बताउँछिन्।

‘एकताको कुरा भइरहेको छ र? खोई मलाई त केही थाहा भएन,’ श्रेष्ठले हिमालप्रेससँग भनिन्, ‘कुनै बैठक भएको छैन। बैठक बसेको मलाई थाहा छैन।’ एकीकरणबारे अन्य नेताहरूबीच कुराकानी भए पनि आफूलाई कुनै जानकारी नभएको उनले बताइन्।

‘मलाई जानकारी छैन। बैठक बस्नेलाई थाहा होला,’ श्रेष्ठले भनिन्, ‘बैठकमा पनि सहभागी छैन। रेशमजीहरू बस्नु भएको होला।’ जनमत पार्टीका उपाध्यक्ष खान पनि दुवै पार्टीबीच एकीकरणका लागि कुराकानी सकारात्मक रूपमा अगाडि बढिरहे पनि नाउपामा थोरै समस्या देखिएको बताउँछन्।

‘एकीकरणका विषयमा भएका सबै छलफल सकारात्मक छन्, दुवै शीर्ष नेता सहमत हुनुहुन्छ,’ उनले भने, ‘नाउपामा अलिकति समस्या देखिएको छ। रन्जिताजीले मलाई थाहा छैन भनेर भन्नुभएको छ। तर रेशमजीले म सबै मिलाउँछु भन्नुभएको छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast