सराङकोटमा महायज्ञ सुरु, उद्घाटनकै दिन ४५ लाख संकलन

हिमाल प्रेस १४ फागुन २०८१ १९:४६ | Wednesday, February 26, 2025
सराङकोटमा महायज्ञ सुरु, उद्घाटनकै दिन ४५ लाख संकलन

पोखरा- सराङकोटमा बुधबारदेखि श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव सुरु भएको छ।१४ देखि २१ फागुनसम्म जारी रहने उक्त उत्सवअन्तर्गत बुधबार पूर्वांगसहित महायज्ञ शुभारम्भ भएको हो।

त्यसपूर्व बाजागाजा, भजन, युद्ध कलासँग सम्बन्धित सरुन खेलसहित पोखरा गाईघाटबाट सेती नदी स्नान गरी पञ्चकन्यासहित कलश यात्रा गरिएको थियो। उक्त यात्रा विन्ध्यवासिनी मन्दिर, सेदी हुँदै अन्नपूर्ण केवलकारमार्फत यज्ञस्थल सराङकोट टप पुगी मूल समारोहमा परिणत भएको थियो।

पहिलो दिन अन्नपूर्ण केवलकारका अध्यक्ष कालु गुरुङबाट २५ लाख, आयोजक सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसी परिवारबाट १५ लाख, खिमबहादुर जिसीको परिवारबाट २ लाख ३३ हजार एवं अन्य दाताको गरी कुल ४५ लाख ७५ हजार सहयोग संकलन भएको प्रसारप्रसार संयोजक कृष्ण थापाले बताए।

महायज्ञका मुख्यवाचक भागवत्भाष्कर पण्डित कमलनयन गौतमले सराङकोटलाई पुण्यभूमिको संज्ञा दिँदै सराङकोट पहिचान स्थापित भूमि भएको स्पष्ट पारे। उनले सराङकोट धामको वृद्धि विकासमा लागि योसहित ६ वटा यज्ञ गरिएको स्मरण गरे।

पोखरा महानगरपालिका प्रवक्ता मोतीराज तिम्सिनाले सराङकोट महाउत्सवले पोखरा भ्रमण वर्षलाई महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे।

यही १७ फागुनमा राष्ट्रपति रामचन्द्र पौडेलसमेत महायज्ञमा आउने बताइएको छ।

पोखराको प्रमुख पर्यटकीयस्थल सराङकोटमा २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ। हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङ, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमेकालिका, स्वागतद्वार निर्माण भएका छन्। ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ।

महाउत्सवका अवसरमा सामूहिक ब्रतबन्ध, लाख बत्ती बाल्ने, ग्रहशान्ति, रुद्री, चौरासी पूजा तथा संगीतमय भजनकीर्तन गरिनेछ। सराङकोटमा अझै १५ करोडका संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको छ।

प्रकाशित: १४ फागुन २०८१ १९:४६ | Wednesday, February 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast