कीर्तिमानी दीपेन्द्रसिंह ऐरीलाई सम्मान

हिमाल प्रेस १३ फागुन २०८१ ९:१३
कीर्तिमानी दीपेन्द्रसिंह ऐरीलाई सम्मान

दोधारा चाँदनी- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर खेलाडी दीपेन्द्रसिंह ऐरीलाई गृहनगरमा सम्मानित भएका छन्। उनलाई उद्योग वाणिज्य संघ कञ्चनपुरले सम्मान गरेको हो।

सोमबारदेखि महेन्द्रनगरमा सुरु भएको १६औँ सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन समारोहमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दोसल्ला र सम्मानपत्रसहित ५१ हजार रुपैयाँ पुरस्कार प्रदान गरे।

त्यसअघि ऐरीलाई रथमा महेन्द्रनगर बजार परिक्रममा गराइएको थियो। उनलाई सम्मान गर्दै मन्त्री भण्डारीले खेलका माध्यमबाट मुलुकको परिचान अन्त र्राष्ट्रियस्तरमा पुर्‍याउने र विश्वकीर्तिमान राख्नेगरी खेल्न शुभकामना दिए। ‘अझै विश्व कीर्तिमान राख्न सफल हुनुहोला शुभकामना छ,’ ऐरीलाई सम्मान गर्दै मन्त्री भण्डारीले भने।

नेपालका ‘ब्याटिङ अलराउन्डर’ ऐरीले विश्वक्रिकेटमा दुर्लभ कीर्तिमान बनाएका थिए। ऐरीले सन् २०२३ सेप्टेम्बर २७ मा चीनको हाङ्गजाउमा एसियन गेमअन्तर्गत मंगोलियाविरुद्ध टी२० आई खेलमा सर्वाधिक छिटो नौ बलमा अर्धशतक प्रहार गरेर कीर्तिमान राखेका हुन्।

त्यसअघि भारतीय पूर्वक्रिकेटर युवराज सिंहले सन् २००७ को टी २० विश्वकपमा इंग्ल्यान्डविरुद्ध १२ बलमा अर्धशतकको कीर्तिमान बनाएका थिए। सिंहले बनाएको उक्त कीर्तिमानलाई ऐरीले तोडिदिएका हुन्।

साथै अन्तरराष्ट्रिय क्रिकेटमा एक ओभरमा ६ छक्का हान्ने खेलाडीको सूचीमासमेत ऐरीको नाम छ। दीपेन्द्रले १३ अप्रिल २०२४ मा एसीसी प्रिमियर कपमा कतारविरुद्ध एकै ओभरमा छ छक्का हानेर अर्को ‘रेकर्ड’ बनाएका थिए। गृहनगरमा उद्योग वाणिज्य संघले गरेको सम्मानले खेलाडीलाई प्रोत्साहन मिलेको उनले बताए।

‘यसरी गृहनगरमा खेलाडीको आत्मबल बढाउने गरी गरिएको सम्मानले मनोबल उच्च बनाएको छ। साथै अन्य खेलाडीलाई पनि यसबाट प्रोत्साहन मिलेको विश्वसा छ,’ उनले भने, ‘पछिल्लो समय कञ्चनपुरमा क्रिकेट खेलप्रति आकर्षण बढ्दै गएकोले राज्यले खेलकुदका पूर्वाधार विकासमा ध्यान दिनुपर्छ।’

ऐरी ब्याटिङमा मात्रै नभई बलिङ र फिल्डिङमा पनि अब्बल मानिन्छन्। ऐरी आइसिसीको टी २० आई वरियता अलराउन्डरतर्फ शीर्ष ६ मा पर्ने पहिलो नेपाली खेलाडी हुन्। उनीबाहेक नेपाली क्रिकेटमा कुनै पनि वरीयता शीर्ष-२० पार लगाउन सकेका छैनन्। नेपाली क्रिकेटको उर्भर भूमि कञ्चनपुरको भीमदत्त नगरपालिका-८ तिलाचौर भानुचोकमा दीपेन्द्रको परिवारको बसोबास छ।

प्रकाशित: १३ फागुन २०८१ ९:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast