
काठमाडौँ- निर्देशक तुलसी घिमिरेको स्वास्थ्यमा समस्यादेखिएपछि रोकिएको फिल्म ‘पहाड’को
छायांकन पुनः सुरू भएको छ। गत माघ २२ मा शुभ मुहूर्तसहित सुरू भएको छायांकन दोस्रो दिनमै रोकिएको थियो।
स्वास्थ्य अनुकुल भएपछि फागुन ९ देखि पूर्वनिर्धारित तालिकाअनुसार गोरखामा फिल्मकाे छायांकन भइरहेको निर्देशक घिमिरेले जानकारी दिए।
स्वास्थ्यलाभपछि निर्देशक घिमिरेले नयाँ उर्जाका साथ काम भइरहेको बताए। ओजस्वी केसी निर्माता रहेको फिल्मलाई प्रमोद प्रधानले छायांकन गरिरहेका छन्। भारतमा फिल्म, वेबसिरिज र टेलीफिल्मसमेत छायांकन गरिसकेका छायाकार प्रधानले निर्देशक घिमिरेसँग अन्याय, कोसेली, चिनो र दक्षिणामा सहकार्य गरेका छन्। छायाँकार प्रधान तीस वर्षपछि नेपाली फिल्म छायांकनका लागि नेपालमा आएका हुन्।
फिल्मको छायांकन गोरखा र आसपासमा २५ दिन र भारतमा १५ दिन हुने निर्देशक घिमिरेले जानकारी दिए। फिल्ममा युवापुस्ता विदेश पलायनले खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई कथावस्तु बनाएको निर्देशक घिमिरेले बताए।
उनले भने, ‘फिल्ममा मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको छ, फिल्मले हाम्रो दायित्व र देशको आवश्यकतालाई चित्रण गर्छ। फिल्मको विषयअनुसार हामीले कलाकार चयन गरेका छौँ। नयाँदेखि पुराना पुस्तासम्मलाई समेटेर काम गर्न पाउँदा उत्साहित छु।’
भाग्यरत्न फिल्म्सको ब्यानरमा निर्माण भइरहेको फिल्ममा विपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्य लगायतका कलाकारले अभिनय गरिरहेका छन्।
निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरे यही फिल्ममार्फत अभिनेत्रीको रुपमा नेपाली रजतपटमा डेब्यु गर्दैछिन्। यस्तै, फिल्मको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन्।