
पोखरा– पोखरालाई ‘पर्यटनको राजधानी’ घोषणा गरिएको ठीक ११ महिनापछि शनिबार ‘पोखरा भ्रमण वर्ष–२०२५’ भव्यरुपमा उद्घाटन हुँदै थियो।
पोखराका ३३ वटै वडाहरुसहित सहरका विभिन्न ठाउँबाट निस्किएको झाँकी, ¥याली दिउँसो १ बजेसम्म पोखरा–९, नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजित समारोह पुगिसकेको थियो।
आ–आफ्नो जातीय पोशाकमा सजिएकाहरुसहित सहभागी सबै जना पोखरालाई भ्रमण वर्ष घोषणको औपचारिक उद्घाटनका लागि व्यग्र प्रतीक्षामा थिए।
अतिथिको आशन ग्रहणपछि सञ्चारकर्मी दीपेन्द्र श्रेष्ठले स्वागत नृत्यका लागि कलाकारलाई मञ्चमा डाके। लगत्तै राष्ट्रिय गानको धूनमा सबैजना उठे। २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी योजनासहित भ्रमण वर्ष घोषणाको प्रतीक्षाको घडी समाप्त हुँदै थियो।
प्रमुख अतिथि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई भ्रमण वर्षको लोगो अनावरण गर्न डाकियो। अर्थमन्त्रीले इलेक्ट्रिक स्वीच अन गरे। मेयर आचार्यले सहजीकरण गरे।
माहोल रमाइलो बन्यो। ‘कोल फायर’ ले उद्घाटन कार्यक्रम हर्षोल्लास बनायो। विभिन्न कार्यक्रम, इभेन्ट, पार्टीहरूमा प्रयोग गरिने उक्त कोन फायरको स–सानो झिल्का चारैतिर बल्यो।
त्यसपछि, बेलुन उडाउने तयारी भयो। जसमा पोखरा भ्रमण वर्ष–२०२५ को ब्यानर पनि आतंकित थियो।
सहयोगीले दर्जनौँ बेलुनका दुईवटा गुच्छा अघि सारे। एउटा गुच्छा अर्थमन्त्री पौडेलले लिए अर्को मेयरले। ती गुुच्छा जब के समातेका थिए एक्कासि विस्फोट भयो। ठूलो आवाज दिँदै आगोको ज्वाला फैलियो।
अतिथिहरु तितरबितर भए। मेयर आचार्य र अर्थमन्त्री पौडेललाई आगोको ज्वालाले मुख, हातलगायत जलेको देखेपछि सबैजना आत्तिए। लगत्तै गाडीमा हालेर अस्पताल पु¥याइयो। मेयर आचार्यलाई फिस्टेल अस्पताल र अर्थमन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज लगिएको थियो।
हाइड्रोजन ग्यास भरिएको बेलुन कोन फायरको झिल्का नजिक पर्दा बिस्फोटले उक्त अप्रिय घटना हुन पुगेको हो। रमाइलो माहोलबीच निराशा छायो।
यद्यपि, सञ्चालकले कार्यक्रम जारी नै राखे। निर्धारित वक्ताहरु छोट्याएर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले घाइतेको शीघ्रस्वास्थ्य लाभको कामना गरी उद्घाटन समारोहको औपचारिक बिट मारे।
घाइतेको प्राथमिक उपचारपछि हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँ लगिएको छ। कीर्तिपुर अस्पतालको सघन उपचार कक्षमा उनीहरुको उपचार भइरहेको छ।
अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार प्रारम्भिक मूल्यांकनमा ५ देखि ६ प्रतिशतसम्म जलेको छ। अस्पताल निर्देशक डा. किरण किशोर नकर्मीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रारम्भिक मूल्यांकन अनुसार ५ देखि ६ प्रतिशत जलेको तर अनुहारमा जलन भएकाले श्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेकाले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिन्छ।’
उपचारमा प्राडा. वी.डी. झा, डा. प्रवीण गिरी, प्राडा. शंकरमान राई, डा. विशाल कार्की, डा. मनीष यादव, डा. प्रयुस अर्याललगायतको चिकित्सक टोली खटिएको छ। मेयर आचार्यको अनुहारको बायाँ गालाको भाग तथा कपाल जलेको छ भने अर्थमन्त्री पौडेलको हात जलेको छ।
पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिना कोन फायर बेलुनमा छोइएपछि पड्किदा अप्रिय घटना भएको हुँदा आगामी दिनमा सचेतना अपनाइने बताउँछन्।
हाइड्रोजन ग्यास ज्वलनशील हुने र अक्सिजनसँग मिलेर छिटो रासायनिक प्रतिक्रिया दिने हुँदा निकै सावधानी पु¥याउनुपर्ने विज्ञहरु बताउँछन्। आगोको फिलिङ्गोसमेत हाइड्रोजन ग्यासले प्रतिक्रिया दिने हुँदा उच्च सतर्कता अपनाउनुपर्ने उनीहरुको सुझाव छ।
नागरिक समाज पोखराका पूर्वअध्यक्ष रामबहादुर पौडेल अब आइन्दा पटाका आतिशबाजी कुनै पनि समारोहमा प्राथमिकतामा नराख्न आग्रह गरेका छन्।
लेकसाइड क्षेत्रमा सडक महोत्सवमा नियमित रुपमा हुने गरेका आतिशबाजी रोक्न माग गर्दै उनले पटकपटक अदालत धाएका थिए।
पोखरालाई गत वर्ष ४ चैतमा पर्यटनको राजधानी घोषणा गरिएको थियो। भ्रमण वर्षमा यहाँ २० लाख पर्यटक भित्राउने पोखरा महानगरपालिकाको लक्ष्य छ।
भ्रमण वर्षको अवधिभर क्रियाशील रहने गरी महानगर प्रमुख आचार्यको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ। जसमा १९ सदस्यीय समिति गठन गरिएको छ।
यस्तै, पर्यटन व्यवसायी गोपीबहादुर भट्टराईको संयोजकत्वमा कार्यसम्पादन समिति र विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी ४३ वटा समितिहरू गठन गरिएका छन्।
भ्रमण वर्षको अवधिभर पोखरा महानगरपालिकातर्फबाट विभिन्न किसिमका पर्यटन प्रवद्र्धनात्मक कार्यक्रमहरू गरिनेछन्।