डिर्भोसपछि एलिनालाई रचना र समीक्षाको ढाडस, ‘दिदी हामी साथ छौँ’

हिमाल प्रेस ३० माघ २०८१ ७:३३ | Wednesday, February 12, 2025
डिर्भोसपछि एलिनालाई रचना र समीक्षाको ढाडस, ‘दिदी हामी साथ छौँ’ तस्बिरमा क्रमश: रचना रिमाल, एलिना चौहान र समीक्षा अधिकारी।

काठमाडौँ- गत वैशाखमा विवाह गरेकी गायिका एलिना चौहानको वैवाहिक सम्बन्ध अब कानुनी रूपमै टुटेको छ। विष्णु सापकोटासँग सम्बन्ध अघि नबढाउने निधो गरेकी एलिनाले यसअघि सम्बन्धविच्छेदको मुद्दा हालेकी थिइन्। घरेलु हिंसाको आरोपसहित काठमाडौँ जिल्ला अदालतमा एलिनाले दर्ता गरेको मुद्दा यही माघ २९ मा किनारा लागेको छ।

मुद्दा किनारा लागेसँगै एलिनाले पूर्वपति विष्णुलाई भावुक हुँदै सामाजिक सञ्जालमा स्टाटस लेखेकी छन्। एलिनाले लेखेकी छन्, ‘ रहरले होइन। जुन बाध्यता तिमी, मलाई र भगवानलाई मात्र थाहा छ,’ उनले भनेकी छन्, ‘फेरा, चुरा, सिन्दूर, लगनगाँठो, विवाह दर्ता र शारीरिक मिलन मात्रै विवाह होइन रहेछ। भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ। जुन अब रहेन। अनि हाम्रो सम्बन्धमा अल्पायु मै पूर्णविराम लागेको छ।’

‘प्रिय विष्णु’ भन्दै आफ्नो फेसबुक स्ट्याटस सुरु गरेकी उनले वैवाहिक जीवनका अविस्मरणीय पल सम्झिएकी छन्। ‘प्रिय विष्णु, अग्निलाई साक्षी राखेर ७ फेरा लगाउँदा गलेका खुट्टाहरू अझै उस्तै छन्। तिम्रो हातले रंगिएको मेरो सिउँदो अनि सिन्दूरका डोबहरू अझै उस्तै छन्। तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्। हामीलाई दुईबाट एक बनाएको सेतो लगनगाँठो अझै उस्तै छ।  वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै छ,’ उनले भनिन्। उनको स्टाटसपछि समकालीन गायिकाहरू रचना रिमाल र समीक्षा अधिकारीले सान्त्वना दिएका छन्।

रचनाले लेखेकी छन्, ‘अन्ततः आज तपाईंले एकदम ठूलो आँट र मनले यो निर्णय लिनुभएको छ। दिदी, अब तपाईंलाई मुखले मात्रै होइन मनबाट नै हाँसेको हेर्न पाउँछु भन्ने ठूलो आशा छ। अरू खुशी आउँदै, जाँदै गर्छन्, तर मनको खुशी आफैंले स्थापित गर्ने हो । म तपाईंको शुभचिन्तक हिजो पनि थिएँ, आज पनि छु र भोलि पनि रहनेछु। आई लभ यु मेरी दिदी।’

यता, समीक्षाले पनि डिभोर्सको निर्णय लिएर एलिनाले आफूलाई सक्षम र साहसी नारी सावित गरेको बताएकी छन्। ‘हिजो मलाई अन्यायका विरुद्ध डटेर सामना गर्न उत्प्रेरणा दिनुहुन्थ्यो, मलाई त्यतिबेलै तपाईं साँच्चै साहसी लाग्नुहुन्थ्यो। आज हिंसा र यातनाविरुद्ध जीवनको सारथिबाटै अलग हुने निर्णय गरेर फेरि आफूलाई हिम्मतवाली, सक्षम र साहसिक सावित गरिदिनुभएको छ। सलाम छ। बहिनीका रूपमा म सधैँ तपाईंको साथमा रहिरहनेछु।’

प्रकाशित: ३० माघ २०८१ ७:३३ | Wednesday, February 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast