एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियमको करिव ६० प्रतिशत निर्माण पूरा

हिमाल प्रेस २५ माघ २०८१ १८:०८
6
SHARES
एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियमको करिव ६० प्रतिशत   निर्माण पूरा

लुम्बिनी– रुपन्देहीको तिलोत्तमामा निर्माणधिन एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियमको ६० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ।

२०८० साल जेठ २९ गते शिलान्यास गरी फागुनमै खेल्न योग्य मैदान तयार बनाइएकोमा पूर्ण पूर्वाधार बनाउन थालिएको हो।

नेपाल खेलकुद पत्रकार मञ्च, रुपन्देही शाखाको आयोजनामा शुक्रबार भएको पत्रकार भेटघाटमा ओभल क्रिकेट स्टेडियमका प्रबन्ध निर्देशक विनोद कुवँरले २० महिनाको अवधिमा ६० प्रतिशत बढी काम भएको बताए।

उनले निर्धारित पाँच वर्ष अघि नै मैदान पूर्ण रुपमा तैयार हुने दाबी गरे। उनले अहिले स्टेडियममा फ्लड लाइट जडान गर्ने महत्वपूर्ण काम शुरू गरिएको जानकारी दिए।

‘अबको एक महिनाभित्र फ्लड लाईटपूर्ण रुपमा जडान भै डे नाईट म्याच खेलाउन सकिने छ,’ उनले भने। करीब ७ करोड रुपैयाँ लागत अनुमान गरिएको फ्लड लाइट जडान गर्न क्रमिक रूपमा काम भइरहेको कुँवरले बताए।

मैदानका साथै भौतिक संरचना निर्माणको काम पनि भइरहेको उनले बताए। चार–चार तलाको २ वटा भवन (भीआईपी बक्स, प्लेयर बक्स, चेञ्जिंग रुम र मिडिया बक्स) निमार्ण भइरहेको छ। उनका अनुसार अहिले तेस्रो तलाको काम भैरहेको छ।

जग्गा बाहेक ४५ करोड रुपैयाँ लागत अनुमान गरिएको मैदानमा आधाआधी लगानी भइसकेको उनले बताए। निमार्णकै क्रममा डिजिटल बोर्ड राख्ने, भीआईपी बिल्डिङको संरचनामा थप सुविधा बढाउने जस्ता योजनाका कारण लगानी थप हुनसक्ने जनाइएको छ। । यो मैदान पूरा हुँदा नेपाल सरकारबाट थप अर्को मैदानमा समेत फ्लड लाइट जडान हुने उनले दाबी गरे।

मैदानका निर्देशक कुवँरले यो मैदानमा गत वर्षको फागुन यता एक सय भन्दा बढी खेल भइसकेको बताए। नेपालको १९ वर्ष मुनिको विश्वकप खेलेको महिला टोली र नेपाल प्रिमियर लिग टिम लुम्बिनी लायन्सले यो मैदानमा अभ्यास गरेको थियो।

भारतबाट पनि केही क्लब स्तरीय टिम आएर यहाँ आएर खेलेका छन्। नेट अभ्यासका लागि पनि छुट्टै पिच तयार भइरहेको, जुन अन्तिम चरणमा छ।

अष्ट्रेलियामा रहेका कुवँरकै लगानीमा स्टेडियम निर्माण गरिएको हो।

प्रकाशित: २५ माघ २०८१ १८:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast