काठमाडौँ- शिक्षक पेन्सनपट्टा बनाउन तीन लाख रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ परेका राष्ट्रिय किताबखाना (शिक्षक) काठमाडौँमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। प्रसाई नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनका नेता हुन्।
अख्तियारले गत पुस १४ गते प्रसाईलाई तीन लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो। अनुसन्धानको सिलसिलामा प्रसाईसँग कार्यालय सहयोगी भवानी अधिकारी र बिचौलिया सुदर्शन न्यौपानेको पनि मिलेमतो पुष्टि भएको अख्तियारले जनाएको छ।
अवकाश प्राप्त शिक्षकको नियमानुसार बन्नुपर्ने पेन्सनपट्टा (निवृत्तभरण अधिकारपत्र) बनाइदिनको लागि विभिन्न बहाना बनाई घुस माग गरी लिएको पुष्टि भएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा ३ लाख रुपैयाँ बिगो कायम गरी आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारले विज्ञप्तिमार्फत जनाएको छ।