काठमाडौँ- इंग्लिस टिम म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको ‘प्लेअफ’ मा पुगेको छ। बेल्जियमको क्लबबर्गलाई बुधवार ३-१ को पुनरागमन जित निकाल्दै सिटीले ‘प्लेअफ’ मा स्थान पक्का गरेको हो। प्लेअफ पुग्न सिटीले यो खेल जित्नै पर्ने दबाब थियो। च्याम्पियन्स लिगको नयाँ संरचना अनुसार अंक तालिकाको शीर्ष ८ मा रहने टोलीले सिधै नकआउटचरणमा पुग्नेछन्।
बाँकी ८ टोलीका लागि अंक तालिकाको नवौं देखि २४ स्थानमा रहेका टोलीबीच ‘प्लेअफ’ हुनेछ। त्यसको विजेता अन्तिम १६ मा प्रवेश गर्नेछ।
सिटी अन्तिम खेलअघि अंक तालिकाको २५ औं स्थानमा थियो। प्ले अफको सम्भावनालाई जीवित राख्न सिटीलाई जित आवश्यक थियो।
सिटी पहिलो हाफमा १-० ले पछि परेको थियो। दोस्रो हाफमा सिटी नतिजा उल्टाउन सफल भएको थियो। पहिलो हाफको अन्तिम मिनेटमा राफेल न्वाडिकीको गोलमा क्लब बर्गले खेलमा अग्रता बनाएको थियो।
दोस्रो हाफको सुरुवातमा बराबरी गोल गर्दैै सिटी खेलमा फर्केको थियो। ५३ औं मिनेटमा माटेओ कोभासिसले बाराबरी गोल गरेका थिए । ६२ औं मिनेटमा साभिन्होको क्रसलाई जोगाउने ओर्डोनेजको प्रयासमा आत्मघाती गोल भएपछि सिटीले अग्रता लिएको थियो। साभिन्होले ७७ औं मिनेटमा गोल गरेपछि सिटी विजयी भएको थियो।
८ खेलमा ३ जित सहित ११ अंक बनाएर २२ औं स्थानमा रहँदै सिटी प्ले अफमा पुगेको हो। समान ११ अंक जोडेको क्लब बर्ग २४ औं स्थानमा रहेर प्ले अफमा पुगेको छ।