‘नेपाललाई शैक्षिक हबका रूपमा विकास गर्न सकिन्छ’

हिमाल प्रेस १६ माघ २०८१ २१:३२ | Wednesday, January 29, 2025
‘नेपाललाई शैक्षिक हबका रूपमा विकास गर्न सकिन्छ’

काठमाडौँ- विज्ञहरूले नेपाललाई शैक्षिक हबका रूपमा विकास गर्न सकिने बताएका छन्।

माघ १५ गते मंगलबार काठमाडौँ मोडेल कलेज (केएमसी) बागबजारमा आयोजना गरिएको फेयर एक्सप्रेस मिडिया प्रालिको आठौँ वार्षिकोत्सव समारोहमा सरोकारवालाले नेपाललाई शिक्षाको हबका रूपमा विकास गर्न सकिने बताएका हुन्।

कार्यक्रममा केएमसीका क्याम्पस प्रमुख सुरेन्द्र सुवेदीले नेपाललाई शैक्षिक केन्द्रका रुपमा विकास गर्न सकिने आधार सहितको प्रस्तुतीकरण पेस गरेका थिए।

नेपाल शैक्षिक परामर्श संघ ईक्यानका अध्यक्ष शेषराज भट्टराईले नेपाल सरकारले शिक्षा नीति प्रक्रियालाई विशेष ध्यान दिई शैक्षिक नीति परिमार्जन गर्न सके नेपाललाई शैक्षिक हब बनाउन सकिने बताए। उनले नेपालबाट गएको विद्यार्थी संख्या हेरेर आत्तिनु भन्दा नेपालमा भएको विद्यार्थीलाई रोजगारकाे अवसर प्रदान गर्न सकियाे भने बाहिरिएका विद्यार्थीलाई नेपाल भित्र्याउन सकिने बताए।

आईप्यान अध्यक्ष लक्ष्मण केसीले विदेशी विद्यार्थीलाई अध्ययनका लागि नेपालमा ल्याउन अहिले उपयुक्त वातावरण सिर्जना भएको बताए। उनले देशमा धेरै पहिलेदेखि नै नेपाललाई ‘शैक्षिक हब’ बनाउने विषय अगाडि बढेकाे तर गुणस्तरीय शिक्षा प्रदान गर्ने कुराको ग्यारेन्टी गर्न नसकेकाे बताए।

शिक्षाविद् विद्यानाथ काेइरालाले विद्यार्थी विदेश जान्छ भनेर पीर गर्नेले नेपाल ल्याउने नीति पनि बनाउनुपर्ने बताए। ‘नेपालको विद्यार्थी विदेश जान समस्या हैन सम्भावना हो, उनीहरूले विदेशी उच्च शिक्षा र सीप नेपालमा भित्राउँछन्,’ उनले भने, ‘सबै सराेकारवालालाई विद्यार्थी विदेश गयो भन्ने चिन्ता छ तर कसरी रोक्न सकिन्छ भन्ने समाधानको उपायलाई चाहिँ पाखा लगाउँछन्।’

नेपाल शैक्षिक परामर्श महासंघका अध्यक्ष राजेन्द्र बरालले नेपाल शैक्षिक परामर्श संघहरूलाई अपराधीको नजरले हेर्न बन्द गर्नुपर्ने बताए।

हिसानका अध्यक्ष रमेश सिलवालले विश्वविद्यालयलाई विद्यार्थीको आकर्षणको केन्द्र बनाए मात्र नेपाललाई एजुकेसन हब बनाउन सकिने बताए। ‘विद्यालय शिक्षा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम छ, तर उच्च शिक्षामा विदेश जाने विद्यार्थीको आकर्षण बढ्दो छ,’ उनले भने।

प्रकाशित: १६ माघ २०८१ २१:३२ | Wednesday, January 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast