
काठमाडौँ- नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले सरकारको सहयोगबिना स्टार्टअप र उद्यमशीलताले गति लिन नसक्ने बताएका छन्। स्टार्टअपलाई सरकारको नीति, शिक्षा र तालिम, बैंकिङ सहयोग आवश्यक हुने उनको भनाइ छ।
नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको आयोजनामा बुधबार सुरु भएको नेपाल स्टार्टअप र साना तथा मझौला सम्मेलनमा ‘नवप्रवर्तन र उद्यमशीलताद्वारा आर्थिक रुपान्तरण’ विषयक छलफलमा बुधबार सम्बोधन गर्दै नेपालले उद्यमशीलता विषय प्रारम्भिक शिक्षाबाटै हुनुपर्ने बताए। उनले भने, ‘स्टार्टअप र उद्यमशीलताका लागि सरकारले सहुलियत कर्जा बढाउनुपर्छ।’
साथै उनले सहुलियतपूर्ण कर्जा केन्द्रीय बैंकबाट जान नसकेको बताउँदै नेपालले कर्जा प्रवाह बढाउनुपर्नेमा जोड दिए। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले विभिन्न कानुन संशोधन हुने गरी अध्यादेश ल्याएपछि निजी क्षेत्र उत्साहित भएको बताए। निजी क्षेत्रले धेरै वर्षदेखि उठाउँदै आएको मागलाई सरकारले सम्बोधन गरेको बताउँदै उनले अध्यादेश पास भएपछि अर्थतन्त्र चलायन हुने दाबी गरे।
‘अध्यादेशमा केही अपुग कुराहरु पनि छन् । त्यस विषयमा अध्यादेश टेबल भइसकेपछि छलफल गरौँला’, श्रेष्ठले भने, ‘हामी हाम्रा सुझाव पनि पेस गर्नेछौँ। त्यसमा माननीयहरुमा अहम भूमिका हुनेमा हामी आशावादी छौंँ।’ ।
नबिल बैंकका सिनियर डीसिओ मनोज ज्ञवालीले विश्वभर चलिरहेको स्टार्टअप ९० देखि ९५ प्रतिशत असफल हुने बताए। स्टार्टअप सुरु सुरुमै असफल हुने उनको भनाइ छ। बैंकले बिजनेश असफलको रिक्स लिन नसक्ने कारणले स्टार्टअपलाई बैंकहरुले लगानी नगर्ने बताए। गोल्डस्टार सुजकी कार्यकारी निर्देशक विदुषी राणाले उत्पादनमूलक क्षेत्रमा नेपालले लगानी बढाउन जरुरी रहेको बताइन्। नेपाली युवालाई सीप, तालिम प्रदान गरेर, नेपाली राखेर रोजगारी दिन सकिने उनको भनाइ छ।
नास आईटीका उपाध्यक्ष गौरव पाण्डे युवालाई विदेश जान रोक्नुभन्दा पनि बिदेसिएका युवालाई नेपाल फर्काएर व्यवसाय गर्न लागि प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।