रास्वापाले सातै प्रदेशमा ‘सर्वाङ्गीण संवाद’ गर्ने

हिमाल प्रेस १४ माघ २०८१ १७:४० | Monday, January 27, 2025
रास्वापाले सातै प्रदेशमा ‘सर्वाङ्गीण संवाद’ गर्ने रास्वपा केन्द्रीय कार्यालय

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सातै प्रदेशमा ‘सर्वाङ्गीण संवाद’ गर्ने भएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले आगामी फागुन महिनामा सबै प्रदेशमा ‘सर्वाङ्गीण संवाद’ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।

उपयुक्तता अनुसार केन्द्रीय नेता र सांसदहरूलाई संवाद कार्यक्रममा समावेश गर्ने निर्णयसमेत भएको कार्यवाहक प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्।

संवाद कार्यक्रमका लागि सुदूरपश्चिम प्रदेशमा दीपक बोहरा र प्रतिभा रावल, कर्णाली प्रदेशमा लिमा अधिकारी, लुम्बनी प्रदेशमा विपिनकुमार आचार्य, गण्डकी प्रदेशमा शिशिर खनाल, बागमती प्रदेशमा सन्तोष परियार र बसुमाया तामाङ, मधेश प्रदेशमा विराजभक्त श्रेष्ठ र मनिष झा र कोशी प्रदेशमा सुमना श्रेष्ठ र रमेश प्रसाईं सहभागी हुने भएका छन्।

बैठकले प्रदेश समितिलाई प्रदेश तहमा तीन सदस्यीय कार्यदल बनाई सम्बन्धित प्रदेशभित्रका स्वतन्त्र जनप्रतिनिधिहरूलाई रास्वपामा आवद्ध गराउन सुझावसहितको प्रतिवेदन पार्टी महामन्त्रीलाई बुझाउन निर्देशन दिने निर्णय गरेको छ।

त्यस्तै केन्द्रीय सदस्य कामिनी चौधरीलाई केन्द्रीय संगठन विभागको सदस्यमा मनोनयन गर्ने निर्णय बैठकले गरेको कार्यवाहक प्रवक्ता रावलले जानकारी दिइन्।

बैठकले प्रदेश समितिमा रिक्त पदाधिकारी तथा सदस्य पदपूर्तिका लागि कार्यविधि बमोजिम गर्न गराउन केन्द्रीय संगठन विभागलाई सहजकीकरण गर्न निर्देशन दिएको छ।

दुई तिहाई बहुमत भएको वर्तमान सरकारको अक्षमता र निरीहता प्रदर्शित भएको हुँदा सम्पूर्ण व्यवस्थामाथि नै प्रश्नचिह्न उठेकाले प्रमुख साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष बैठकले निकालेको छ।

सरकारले हालसालै ल्याएको अध्यादेशका अन्तर्वस्तुगत सारमाथि रास्वपाका सांसदहरूले गुण दोषका साधारमा बहस गर्ने निर्णय बैठकले गरेको रावलले बताइन्।

प्रकाशित: १४ माघ २०८१ १७:४० | Monday, January 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast