काठमाडौँ – संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्वतारोहणीका लागि कल्याणकारी कोष बनाउने बताएका छन्।
आईतबार गोरखाको चुमनुब्री गाउँपालिकाद्वारा आयोजित सबैभन्दा छोटो समयमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरि विश्व किर्तिमान् कायम गर्न सफल फुन्जो जाङ्मो लामासहितका आरोहीको सम्मान कार्यक्रममा मन्त्री पाण्डेले यस्तो बताएका हुन्।
मन्त्री पाण्डेले भने, ‘पर्वतारोहणीका लागि कल्याणकारी कोष बनाउँदै छौँ। पर्यटन विभागले पर्वतारोहणका क्रममा रहनु भएकाहरूलाई लक्षित गरेर कल्याणकारी कोष बनाउनेबारे छलफल अघि बढाएको छ। कोही पनि पर्वतारोहण गर्दा कठिनाईमा पर्दा सरकार साथमा छ भन्ने आभास दिलाउने छौँ।’
उनले मुलुक संस्कृति र प्रकृतिले विविधतायुक्त रहेको उल्लेख गर्दै पर्यटकहरूका लागि समेत उपयुक्त गन्तव्य रहेको बताए।
मन्त्री पाण्डेले नेपालमा पर्यटकहरू भित्र्याउनका लागि नेपालको आकाश सुरक्षित र चलायमान छ भन्ने वातावरण बनाउन सकेको अवस्थामा र कठिनाइमा पर्दा सहज रूपमा उद्वार गर्न सकिएको अवस्थामा पर्यटकहरू सहजै रूपमा आउने समेत दाबी गरे।
उनले पर्यटकहरूलाई अथितिदेवो भवको सत्कार दिएको अवस्थामा एक पटक आएको पर्यटक पटकपटक आउने उल्लेख गरे।