काठमाडौँ- अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनबाट शनिबार (आज) पदाधिकारी चयन हुँदैछ। क्रान्तिकारीले लामो समयपछि निर्वाचनमार्फत नेतृत्व छान्न लागेको हो।
गत असोजमा सम्मेलन भए पनि आन्तरिक किचलोले नेतृत्व चयन हुन सकेन। आज निर्वाचनमार्फत ३३ पदाधिकारी चयन हुँदैछन्। एक अध्यक्ष पदमा ४ जनाको प्रतिस्पर्धा चल्दैछ भने अन्य पदमा पनि तीव्र प्रतिस्पर्धा चल्ने अनुमान छ।
अध्यक्षमा ६ जनाको उम्मेदवारी परेकोमा २ जनाले फिर्ता गर्दै अब ४ जनाको प्रतिस्पर्धा हुने भएको छ। क्रान्तिकारीको निर्वाचनमा लडेका अध्यक्षका उम्मेदवारी माओवादी पदाधिकारी निकट छन्। यसैले विद्यार्थीको चुनावलाई माओवादी पदाधिकारीबीचको प्रतिस्पर्धाका रूपमा लिइएको छ।
अध्यक्षमा उम्मेदवारी दिएका योगेन्द्रबहादुर बुढा र विश्वमणि थापाले फिर्ता लिएका हुन्। क्रान्तिकारीका नेताहरू ‘अन्तिम घडी’मा उम्मेदवारी फिर्ता लिनुले बाँकी ४ जनामा थप प्रतिस्पर्धा हुने बताउँछन्। बुढा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा निकटस्थ हुन् भने थापा उपाध्यक्ष पम्फा भुसाल नजिक मानिन्छन्। क्रान्तिकारीका नेताहरू उम्मेदवारले मैदान छाडेको भन्दा पनि नेतानेताबीचको ‘मिलिभगत’ रहेको सुनाउँछन्।
उनीहरूले अध्यक्षकै अर्का उम्मेदवार विजयप्रकाश शर्मा सापकोटालाई समर्थन गर्ने सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। सापकोटा पार्टी उपमहासचिव शक्ति बस्नेत निकटस्थ हुन्। उनलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पनि ‘ग्रिन सिग्नल’ रहेको बताइन्छ। यही कारण बुढा र थापाले सापकोटालाई समर्थन गरेको क्रान्तिकारीका नेताहरू सुनाउँछन्।
हाल मैदानमा रहेका यादव वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पक्ष निकट हुन् भने राई जनार्दन शर्मा, पौडेल वर्षमान पुन निकटस्थ मानिन्छन्।