काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपालमा आगामी सन् २०२५ देखि २०३५ लाई पर्यटन दशकका रूपमा मनाउने गरी तयारी भइरहेको बताएका छन्।
राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले २०२५ देखि २०३५ सम्म पर्यटन दशकका रूपमा मनाउनका लागि कार्ययोजनाको कार्य भइरहेको बताए।
‘हामीले पर्यटन दशक मनाउने भनेर मात्रै हुँदैन, त्यसका लागि मुख्य त आर्थिक तयारी गर्नुपर्ने छ, पर्यटन दशकका लागि राज्यले कति लगानी गर्न सक्छ, विदेशी सहयोग कति हुन्छ, अहिले त्यसबारेमा छलफल भइरहेको छ,’ उनले भने। संस्कृति, पर्यटन र हवाई क्षेत्रका समस्यालाई प्राथमिकताको आधारमा समाधान गर्दै आएको उनको भनाइ छ।
मन्त्री पाण्डेले भएका विमानस्थलको व्यवस्थापन, संरक्षण वा मर्मत गर्ने र विमानस्थलको माग भएका स्थानको आवश्यकताका आधारमा अध्ययन गर्ने काम भइरहेको बताए।