इजरायल–हमासबीच आइतबारदेखि युद्धविराम लागू हुँदै, बन्धक मुक्त गर्ने समझदारी

हिमाल प्रेस ३ माघ २०८१ १५:२९
8
SHARES
इजरायल–हमासबीच आइतबारदेखि युद्धविराम लागू हुँदै, बन्धक मुक्त गर्ने समझदारी फाइल तस्बिर

काठमाडौँ– इजरायल र हमासबीच युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता भएको छ। कतार र संयुक्त राज्य अमेरिकाले गाजामा युद्धविरामबारे घोषणा गर्दै यसले गाजामा जारी युद्धको स्थायी अन्त्यका लागि मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरेका छन्।

कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीले बुधबार एक पत्रकार सम्मेलनमा गाजा पट्टीका दुई लडाकूबीच सम्झौता भएको र उनीहरुबीचको युद्धविराम आइतबारदेखि लागू हुने बताएका छन्।

उनले भने, ‘हामी आशा गर्दछौँ कि यो युद्धको अन्तिम चरण हुनेछ। सबै पक्षहरू यस सम्झौताका सबै सर्तहरू कार्यान्वयन गर्न प्रतिबद्ध हुनेछन् भन्नेमा हामी पूर्णतया विश्वस्त छौँ।’

मध्यस्थताकर्ताहरूले सम्झौता भएको बताएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले सम्झौताका ‘अन्तिम विषयमा’ मा काम भइरहेको बताएको छ।

नेतन्याहूले बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरी सम्झौतामा सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका छन्।

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले सन् २०२३ को अक्टोबर ७ मा हमासको नेतृत्वमा भएको आक्रमणका क्रममा बन्धक बनाइएकाहरूलाई फिर्ता ल्याउनका लागि यो सम्झौता ‘सही कदम’ भएको बताएका छन्।

इजरायलको इतिहासमै सबैभन्दा घातक आक्रमणमा परी एक हजार २१० जनाको मृत्यु भएको थियो।

हमास आक्रमणको बदलामा इजरायलले गाजामा चलाएको कारबाहीमा गाजाको अधिकांश भाग ध्वस्त बनेको छ भने कारबाहीका क्रममा ४६ हजार ७०७ व्यक्तिको मृत्यु भएको संयुक्त राष्ट्रसंघले पुष्टि गरेको छ। मृतकमध्ये अधिकांश सर्वसाधारण रहेका छन्।

गाजाको नागरिक सुरक्षा निकायले सम्झौताको घोषणापछि इजरायली आक्रमणमा कम्तिमा २० जनाको मृत्यु भएको जनाएको छ।

यसैबीच बाइडेनले यो दिन आएकोमा आफू निकै सन्तुष्ट रहेको बताएका छन्। उनले दोस्रो चरणको सम्झौताले ‘युद्धको स्थायी अन्त्य’ गर्ने बताउँदै सम्झौता हुनेमा आफू विश्वस्त रहेको बताए।

बन्धकहरूको रिहाईको माग गर्दै तेल अभिभमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरूले सम्झौताको समाचार सुनेपछि आपसमा अँगालो हाल्दै खुशी व्यक्त गरेका थिए भने गाजामा पनि हजारौँले सम्झौतापछि खुशियाली मनाएका थिए।

हमासले युद्धविरामलाई ‘आफ्ना महान् प्यालेस्टाइनी जनताको दृढता र गाजा पट्टीमा बहादुरीपूर्ण प्रतिरोधको परिणाम’ भएको बताएको छ।

मध्यस्थताकर्ता कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाले सम्झौतालाई मजबुत बनाउने प्रयासलाई तीव्र बनाएपछि पछिल्ला दिनहरूमा युद्ध अन्त्य गर्न दबाब बढेको थियो।

कतारका शेख मोहम्मदले कायरोस्थित एक निकायमार्फत तीनै देशले युद्धविराम कार्यान्वयनको अनुगमन गर्ने बताएका छन्।

उनले भने, ‘प्रारम्भिक ४२ दिनको युद्धविरामको क्रममा महिला, बालबालिका र वृद्ध साथै बिरामी र घाइतेसहित ३३ जना बन्धकलाई रिहा गरिनेछ। साथै, पहिलो चरणमा इजरायली सेना गाजाको घना बस्ती भएका क्षेत्रहरूबाट पछि हट्नेछन् र आदानप्रदानका साथै ‘विस्थापित मानिसहरूलाई उनीहरूको निवासमा फर्काइनेछ।’

दोस्रो र तेस्रो चरणमा इजरायली बन्धकहरूको बदलामा रिहा गरिने प्यालेस्टिनी कैदीहरूको संख्यालाई प्रारम्भिक युद्धविरामको ४२ दिनमा ‘अन्तिम रूप’ दिइने उनले बताए।-रासस

प्रकाशित: ३ माघ २०८१ १५:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast